देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

देशान्तर

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँका केही पालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएका छन् । ती दलबाट निर्वाचित भएर पालिकाको नेतृत्व गरेका १० जना पुनः उम्मेदवार बनेका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा कांग्रेसबाट बैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बनेका छन् । विसं २०७४ को निर्वाचनमा उहाँ व्यासको प्रमुखमा निर्वाचित हुनुभएको थियो । व्यासको उपप्रमुखमा निर्वाचित मीरा जोशीले भने यसपटक टिकट पाएनन् । व्यासको उपप्रमुखमा कांग्रेसले इन्दिरा दरैलाई उम्मेदवार बनाएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट दुर्गबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । गत निर्वाचनमा उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

आँबुखैरेनीको अध्यक्षमा कांग्रेसबाट गिरबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । गत निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले भने टिकट पाएनन् । आँबुखैरेनीको उपाध्यक्षमा कांग्रेसबाट पवित्रा गौलीले उम्मेदवारी दर्ता गर्नुभएको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दाेहाेरिएका छन् । उनीहरू दुवै जना गत निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

म्याग्देको अध्यक्षमा कांग्रेसबाट माया राना र उपाध्यक्षमा बालकृष्ण घिमिरे दोहोरिनुभएको छ । उनीहरूले पनि गत निर्वाचनमा जित हासिल गर्नुभएको थियो । भिमाद नगरपालिकाको उपप्रमुखमा एमालेबाट शारदा खनाल दोहोरिएका छन् । एमालेबाट भिमादको प्रमुखमा निर्वाचित मेखबहादुर थापाले यसपटक टिकट पाएनन् । भिमादको प्रमुखमा एमालेले दधिराज सुवेदीलाई उम्मेदवार बनाएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापा दोहारिए ।

७९५ हतियार दर्ता, ७२ मात्रै फिर्ता

स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतप्राप्त हतियार फिर्ता गर्न आग्रह गरे पनि सर्वसाधारणले अटेर गरेको पाइएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन पछि फिर्ता गर्ने गरी हतियार प्रहरीमा बुझाउन आग्रह गरिए पनि सर्वसाधारणले बेवास्ता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका ७९५ हतियार रहे पनि हालसम्म ७२ मात्रै फिर्ता भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । प्रशासनले सूचना जारी गरी सर्वसाधारणलाई नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन आग्रह गरेको थियो । तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको सङ्ख्या जिल्लामा ७९५ रहेको छ । त्यसमध्ये ५६७ भरुवा बन्दुक र २२८ राइफल रहेको प्रशासनले जनाएको छ ।

हतियार सङ्ख्या धेरै रहेपनि सर्वसाधारणले फिर्ता गर्न आनाकानी गरेपछि प्रहरी प्रशासनले पुनः सूचना जारी गरेको छ । न्यून मात्रामा हतियार आएकाले सूचना नपुगेको पनि हुनसक्ने र अटेरी पनि हुनसक्ने प्रहरीको अनुमान छ । हातहतियार खरखजाना ऐन २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक  वर्षदेखि तीन वर्षसम्म कैद र रु तीन हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । “चुनावलाई सुरक्षित र भयरहित बनाउनका लागि सबै हतियार बुझाउन आग्रह गरेका छौँ”, उनले भने, “चुनावपछि हतियार पुनः फिर्ता गरिने भएकाले जतिसक्दो छिटो नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध छ ।”

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराखिने प्रजिअ अर्यालले बताउनुभयो । “चुनावी सुरक्षा योजना बनाइसकेका छौँ, भयरहित तरिकाले नागरिकले मत हाल्ने व्यवस्था मिलाउँछौँ”, उनले भने । प्रशासन कार्यालयले निर्वाचनलाई मध्यनजर गरी मतदान केन्द्रको निरीक्षणसमेत गर्दै आएको छ । अर्यालका शुक्लागण्डकी, भिमाद, व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिका मतदानस्थलको अनुगमन गरिएको छ ।

जिल्ला सुरक्षा समिति तनहुँले यहाँका पाँच मतदानस्थलाई अति संवेदनशीलमा सूचीकृत गरेको छ । जिल्लाका १० वटै पालिकामा १३६ मतदानस्थल कायम गरिएको छ । त्यसमा २९७ मतदान केन्द्र छन् । उनका अनुसार भौगोलिक अवस्था र सुक्ष्म अध्ययनबाट ती मतदानस्थललाई अति संवेदनशीलमा सूचीकृत गरिएको हो । त्यस्तै ३८ मतदानस्थललाई संवेदनशील र ९३ मतदानस्थललाई सामान्यमा सूचीकृत गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।