देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबै क्षेत्रमा विदेशी लगानी आवश्यक छ :अर्थमन्त्री

देशान्तर

काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

आइतवार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताए । उनले लगानीसँग प्रविधि भित्र्याउँदा निजी क्षेत्रको लागि धेरै फाइदा पुग्न सक्ने दाबी गरे । अहिले विदेशी लगानी ल्याउनको लागि केही नीतिगत तथा ऐन र कानूनी रुपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताए । उनले हरेक कुरामा लागत बढ्दै गएकाले सरकार लागत कम गर्ने प्रक्रियामा लागेको बताए ।

नेपाल डुइङ बिजनेसमा ९६ औं स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ स्थानमै ल्याउनु पर्ने बताए । उनले नेपाल डुइङ बिजनेस सुधार गर्नको लागि नीजि क्षेत्र र लगानी बोर्ड लाग्नु पर्ने बताए ।

त्यस्तै अर्थमन्त्री शर्माले आयोजनाहरुले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताए । अब हामीले योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शर्माले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने बताए । उनले जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने आवश्यक भएको उल्लेख गरे ।

पूर्वाधार क्षेत्रमा जलविद्युत् क्षेत्रहरु मात्रै नभएर अन्य क्षेत्रहरु पनि आवश्यक छ भन्दै उनले अन्य पूर्वाधार क्षेत्रमा ठूला लगानी भित्र्याउँछौँ । पीपीपी मोडलको रुप अगाडि बढाउँछौंँ । त्यो आवश्यक छ । त्यसको लागि लगानी बोर्ड मार्फत डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड तयार गर्दैछौं भने ।

त्यस्तै लगानी बोर्डका सीईओ शुसील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताए । उनले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताए । उनले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धान आवश्यक भएको बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताए ।

उनले व्यापार घाटा सात महीनामै १० खर्ब रुपैयाँ नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । उनले अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योग पनि ल्याउनु पर्ने बताए । उनले नेपालमा विदेशी लगानी प्रतिवद्धता धेरै आउने तर लगानी नआउने समस्या धेरै भएको पनि बताए ।

उनले भने, ‘मुलुकमा ठूलो समस्याको रुपमा सोधनान्तर स्थिति र तरलताको अभाव समस्या रहेको छ । यो समस्यालाई कुनै न कुनै तरिकाले समाधान गर्नको लागि पहल भएको छ । मुलुकमा सोधनान्तर स्थिति साढे ६ महीनाको रहेको छ । जुन हिसाबले व्यापार घाटा बढेको छ । त्यसले भोली ठूलो संकट निम्त्याउन सक्छ ।’

त्यस्तै, महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताइन् ।

पूर्वअध्यक्ष राणाले नेपालमा जलविद्युतमा मात्रै धेरै विदेशी लगानी भएकाले अब पर्यटन तथा कृषि क्षेत्रमा विदेशी लगानी र प्रविधि दुबै ल्याउनु पर्ने बताइन् ।