देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीमा कम्पनीमा खरिदकर्ताको उत्साह

देशान्तर

काठमाडौं। बीमा कम्पनीहरुको पुँजी वृद्धिको सूचना सार्वजनिक भए लगत्तै खुलेको सेयर बजारमा फराकिलो अंकको गिरावट देखिएको छ। बीमा कम्पनीहरुमा केही बेर खरिदकर्ताको उत्साह रहेतापनि औसतमा बिक्रेताको दबदबा बजारमा रह्यो।

बिक्रेता हाबी हुँदा कारोबार मापक नेप्से परिसूचक ४१।४३ अंकले घटेर २५७२।२३ विन्दुमा ओर्लिन पुगेको छ ।

एकतर्फ बीमा कम्पनी खरिद गर्न आतुर लगानीकर्ता र अर्को तर्फ बढ्यो कि बेच्ने रणनीति बनाएका बाठा खेलाडीको समिश्रणले कारोबार रकममा भने पर्याप्त टेवा पुर्याएको छ। आइतबारको बजारमा कारोबार रकम पनि झन्डै ५ अर्ब रुपैयाँ नजिक पुगेको छ। अन्तिम प्रहरमा बिक्री गर्ने होडबाजी बजारमा चल्दा पनि कारोबार रकममा उत्साह देखियो।

आज ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँका कुल ८९ लाख २३ हजार १४ कित्ता सेयर ६२ हजार १६४ पटक खरिद बिक्री भएका छन्।

कारोबार रकमका आधारमा आइतबार अपि पावर शिर्ष स्थानमा रह्यो। अपिको २७ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच हुँदा मूल्य ३।४१ प्रतिशत घटेको छ। सर्वाधिक कारोबार भएको अर्को कम्पनी गुराँस लाइफ इन्स्योरेन्स पनि हो। गुराँस लाइफको १७ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भयो।

एभरेष्ट इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको पनि १६ करोड अधिकको कारोबार भएको छ। प्रभु इन्स्योरेन्सको संस्थापकतर्फको सेयर र लाइफ इन्स्योरेन्स कर्पोरेसनको पनि १५ करोड अधिकको सेयर किनबेच भएको छ।

दोहोरो अंकको गिरावट आउँदा समेत आज निर्जीवन बीमा उपसमूहरु लगानीकर्ताको आकर्षण मै रह्यो । निर्जीवन बीमा उपसमूह एक प्रतिशत बढेको छ। अन्तिम प्रहरमा जीवन बीमाका सेयरमा पनि बिक्रेता हावी हुँदा उपसमूह ०।६६ प्रतिशत घट्यो।

बाँकी अधिकांश उपसमूहहरुमा भारी अंकको गिरावट देखिएको छ । सर्वाधिक ४।३६ प्रतिशत घटेको अन्य उपसमूह हो। विकास बैंक ३।१७ प्रतिशत घटेको छ । २ प्रतिशत अधिक घटेका वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रसोधन र व्यापार उपसमूह हुन्।

बजार भारी अंकले घट्दा पनि जीवन विकास लघुवित्त, इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले पनि ९।६७ प्रतिशतका दरले कमाए। ९।६५ प्रतिशतका दरले कमाउने जनरल इन्स्योरेन्सका लगानीकर्ता पनि हुन्। प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ८।११ प्रतिशत बढ्यो। ४ प्रतिशत अधिक कमाएका सानिमा लाइफ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता पनि हुन्।

मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन्। फाइनान्सको सेयर मूल्य ५।५० प्रतिशत घटेको छ। ५।२५ प्रतिशतका दरले गुमाउने नारायणी डेभलपमेन्टका लगानीकर्ता पनि हुन्।