देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायपालिकाको भद्रगोल सुधार मूल एजेन्डा

देशान्तर

नेपाल बार एसोसिएसनको चुनाव चैत १९ गते हुँदैछ । चुनावका लागि विभिन्न समूहहरू प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक कानुन व्यवसायीहरूको समूहबाट गोपालकृष्ण घिमिरे बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी कानुन व्यवसायी समूह बनाएर प्रतिस्पर्धामा रहेका छन् । उनै घिमिरेले बार चलाउन सबैको सहमति चाहिने बताउँदै निर्वाचनमा मात्रै समूह बनेको र यसले समग्र कानुन व्यवसायीको हित हेर्ने बताए । अब न्यायपालिकालाई शुद्ध गरेर, लैजाने र एउटा सक्षम न्यायपालिका बनाउने एजेण्डा लिएर चुनावमा आफ्नो समूह लागिपरेको जानकारी पनि दिए । घिमिरेसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईंहरूले बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी कानुन व्यवसायी समूह बनाएर चुनावमा जाँदै हुनुहुन्छ । यसरी समूह बनाएरै चुनावमा जानुपर्ने बाध्यता हो नेपाल बारमा ? 

यो पहिलेदेखि नै यस्तै प्रचलन हो । पहिले पनि यस्तै समूह बनाएर जाने गर्दथ्यौं । अब अहिले हामीले के गरेका छौं भने धेरैभन्दा धेरै वैचारिक संगठन बनाएका छौं । जस्तोकि पेसागत वैचारिक संगठनलाई मिलाएर हामी निर्वाचनमा गएका हौं । यसरी हेर्दा पहिले जस्तो छैन । सबैलाई समेटेर अगाडि बढिरहेका छौं ।
तर यस्तो समूह बनाउँदा पहिलेभन्दा यसपालि अध्यक्षकै उम्मेदवार अलि धेरै हुनु भएन र ?
होइन, अरूको के छ म भन्न सक्दिनँ । हामीले जुन समूह बनाएका छौँ । त्यसमा लोकतन्त्रबादीहरू, प्रगतिशीलहरू, जस्तो बार हुन्छ नि, बारमा जाँदाखेरी बिभिन्न वैचारिक संगठनमा आबद्ध भए पनि बार भनेको सबैको साझा स्थल हो । त्यो साझा स्थलमा जाँदा सबैले मिसिएर जानुपर्छ भन्ने हो । त्यसैले हामीले गरेको संयोजन छ नि त्यो त्यस्तै खालको संयोजन छ भन्ने हामीले बुझेका छौँ ।

तपाईंले सबैको साझा चरित्र हुनुपर्छ, सबैको सहभागिता हुनुपर्छ भन्ने तर एउटा पक्षलाई निषेध गर्नका लागि यसरी गुटबन्दी गर्ने र यसरी समूह बनाउने काम त अलि मिलेन नि ? 

होइन । यो निषेध गरिएको होइन । उहाँहरू पनि प्रतिस्पर्धा गरिरहनुभएको थियो । पहिले पनि सबै मिलेर एउटै व्यक्ति जितेर गएको छ, निषेधको कुरै छैन । बार चलाउनमा सबैको सहमति चाहिन्छ । हामी निर्वाचनमा जाँदासम्म विभिन्न समूह बनाएर जाने गर्छौं । तर नेपाल बार एसोसिएसन भनेको सबै कानुन व्यवसायीहरूको साझा स्थल र चौतारी भएको कारण जब निर्वाचनको परिणाम आउँछ तब हामी एकजुट हुन्छौँ । निर्वाचनमा समूहगत भए पनि बार चलाउँदा हामी एकजुट हुन्छौँ । उहाँको पनि सहयोग लिन्छौं । चुनावमा जाँदा केही त एउटा आधार त चाहियो, अहिले त्यही आधार लिएको मात्रै हो ।

उसो भए तपाईंहरूका एजेन्डा के हुन् ? किन तपाईंहरूलाई मत दिने ? 

हेर्नुस्, हामीलाई मत किन दिने भन्दा, हामी कानुन व्यवसायी न्यायपालिकाका अंग हौँ । न्यायपालिका अहिले जति विवादमा आएको छ, इतिहासमा कहिल्यै पनि यति विवादमा आएको थिएन । जसरी यस न्यायपालिका माथि जसरी यी प्रश्नहरू खडा भएका छन्, एउटा स्वस्थ्य र सक्षम न्यायपालिका, भ्रष्टाचारमुक्त न्यायपालिका र विकृतीविहीन न्यायपालिका हाम्रो उद्देश्य हो । त्यसमा केही प्रतिवेदनहरू आएका छन् । माननीय न्यायाधीशहरूको पनि प्रतिवेदन आएको छ । यी सबै प्रतिवेदनले न्यायपालिकामा विकृतिको कुरा औंल्याएको कारणले हाम्रो मूल एजेन्डा भनेको न्यायपालिका माथि जुन प्रश्न उठेको छ त्यस प्रश्नको निराकरण गर्नका लागि उच्चस्तरीय न्यायिकको माग गरेर सो आयोगमार्फत र कानुन व्यवसायीको यो संस्थामार्फत हामी न्यायपालिका सुधार गर्ने आन्दोलनमा छौं । अब न्यायपालिकालाई शुद्ध गरेर, लैजाने र एउटा सक्षम न्यायपालिका र न्यायप्रेमी बनाउने हाम्रो मूल उद्देश्य हो । हामी त्यही कुरालाई लिएर अगाडि बढिरहरेका छौँ ।
अब अहिलेको अवस्था आउनुमा कहीँ न कहीँ कानुन व्यवसायीहरू, नेपाल बारको पनि भूमिका छ भन्ने आरोप छ नि ?
हो आरोप लागेको हो, म मान्छु । हामीबीचमा पनि कोही त्यस्तो छ भने हामी त्यसलाई पनि क्लियर गर्न चाहन्छौ । एक, दुई जना कानुन व्यवसायीले कुनै गल्ती गरे भने समग्र कानुन व्यवसायीहरूले किन त्यसको दोष लिने ? अब यो दोष अरूलाई लाग्नु हुँदैन, हामीबीच कोही छ भने त्यसलाई पनि हटाउन चाहन्छौँ । हामीलाई लाग्ने गरेको आरोपबाट हामी मुक्त हुन चाहान्छौँ ।

अहिलेको अवस्थामा न्यायालय एकदमै महँगो भयो । पैसा नभएका व्यक्तिले न्याय नै नपाउने अवस्था छ भन्ने जनगुनासो पनि छ । त्यतातर्फ तपाईंको ध्यान जान्छ कि जाँदैन ? 

जान्छ । हामी यस्ता गुनासाका बारेमा सम्बोधन गर्न तयार छौँ । हामीले यसको दायरा पनि बढाएका छौँ । एक रुपैयाँ पनि नभएको व्यक्ति पनि मुद्दा लड्न पाउँछ । म तपाईंमार्फत के अनुरोध गर्न चाहन्छु भने, एक रुपैयाँ पनि नभएकाले पनि मुद्दा लड्न पाउँछ, त्यसको ग्यारेन्टी हामी लिन्छौँ । त्यस्तो व्यक्तिको मुद्दा नेपाल बार एसोसियसनले लड्छ त्यो मुद्दा । हाम्रा विभिन्न समितिहरू छन्, ती समितिमा हाम्रा साथीहरू आबद्ध हुनुहुन्छ । हामी यस बिषयमा गम्भीर छौँ, हामी यसको दायरा पनि बढाउने छौँ । यदि सेवाग्राही र कानुन व्यवसायीको सम्झौताबाट यदि कुनै फिस तिर्दछ भने हामी त्यसलाई रोक्न सक्दैनौँ । तर पैसा नभएका कारणले अदालतमा जान नसक्ने र मुद्दा लड्न नसक्ने र न्याय नपाउने अबस्था हुने छैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।

बारमा प्रतिनिधित्व गर्ने व्यक्तिहरू सरकार निकट अथवा, पार्टी निकट र दल निकट हुँदाखेरी बारका काम प्रभावकारी नभएको देखिन्छ । बार स्वतन्त्र हुनुपर्छ भन्ने कुरा तपाईंहरू बताउनुहुन्छ । तर त्यसो भएको देखिँदैन नि त ? 

हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौँ । त्यसमा हामीले कुनै दलको चिह्नमा भोट दिए हौँला । तर नेपाल बार एसोसियएन भनेको फरक हो । जसले यो विवेक पुर्‍याउन सक्छ नि । यदि मैले कुनै दलको चुनाव चिह्नमा भोट हाले पनि बारको कार्यक्रम र कर्तव्यबारे काम गर्छ भने दललाई भोट हाल्नु अपराध होइन । तर अहिले आशंका गरिएको छ, यसले पार्टीकै काम त गर्दैन भन्ने खालका जुन आशंका पटकपटक गर्ने गरिन्छ, त्यो बिल्कुलै होइन । कानुन व्यवसायी भनेको एउटा यस्तो विवेक पुर्‍याउने व्यक्ति हो । हामीले गर्ने पनि त्यही हो भनेका पनि त्यही नै हो । हामीलाई जस्ता आरोप लगाए पनि हाम्रा केही मूलभूत उद्देश्यहरू छन्, ती उद्देश्यलाई लिएर हामी अगाडि बढ्ने छौं ।

बारमा गइसकेपछि केही सुविधा लिएका कुरा पनि आउने गर्छन् । त्यहीबाट कोही न्यायाधीशको लाइनमा जाने गरेको पनि देखिन्छ । त्यतातिर तपाईंको कार्यसमितिमा जुन उम्मेदवार हुनुभएको छ । तपाईहंरूको प्रतिबद्धता के हो ?
हामीले यी र यस्ता कुरालाई चिरेर पनि अगाडि बढ्यौं । इतिहासमा के भएको थियो त्यसको जिम्मा मैले लिने कुरा भएन । सबै ठाउँमा यो कुरा उठेको छ, हामीले भनिआएका छौँ कि, हाम्रो २५ जनाको कार्यसमितिका सबै जना तीन वर्षको बारको कार्यकालमा हामी हाम्रो पदमा टेकेर कहीँ पनि जाँदैनौँ भन्ने कुरा हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ । कानुन व्यवसाय हामीले गर्ने हो । हाम्रो यो पेसा हो, यो पेसा अपनाउनेबाहेक हामी २५ जनाको समूह यो कुराको प्रतिबद्धता व्यक्त गर्दछौँ ।

अहिले तपाईंहरू चुनावी दौरानमा हुनुहुन्छ । अहिले बार र बेन्चको सम्बन्ध त्यति धेरै समधुर छैन । जुन खालको न्यायालयमा भद्रगोल देखिएको छ, यसप्रति तपाईंहरूको धारणा के हो ? तपाईंहरू नेतृत्वमा आउँदा के गर्नुहुन्छ ? र बाहिर रहनुभयो भने के गर्नुहुन्छ ? 

हामीले बाहिर रहने कुरा त सोचेका छैनौँ । हामी नेतृत्वमा आउँदै गर्दाखेरी के गर्ने भन्ने कुरा हो । तपाईंले भनेको कुरा वास्तबमै ठिक छ । न्यायपालिकालाई कमजोर हुन दिनु हुँदैन । तर न्यायालयमा रहनुहुने आदरणीय न्यायकर्मीहरू र यतापट्टि हामी बारमा रहनुहुने हाम्रा कानुनविद्हरू दुवै मिलेर न्यायपालिकाको छविलाई उज्यालो बनाउनुपर्नेछ । त्यसका हामी के के गर्न सक्छौँ भन्ने कुरा हामी न्यायपालिकासँग मिलेरै अगाडि बढ्न चाहन्छौँ । न्यायालयको यो अबस्था देखेर हामी पनि चिन्तित छौँ । बार र न्यायालयमा दुवै शक्ति एकजुट भयौँ भने हामी न्यायपालिकाको भद्रगोल अबस्था सुधार गर्न सक्छौँ र गर्छौँ पनि । त्यो भने एउटा निष्कलंक न्यायपालिका हो, त्यो कुरामा बारले पनि सहयोग गर्नुपर्दछ । मलाई विश्वास छ आगामी नेतृत्वले यो भावनालाई बुझ्नेछ भन्ने मलाई लाग्दछ, हामी मिलेर अगाडि बढ्न चाहन्छौँ ।

अहिले पनि तपाईंहरू आन्दोलनमा हुनुहुन्छ ? 
हाम्रो आन्दोलन भनेको त भ्रष्टाचारको शून्यता हाम्रो परिणाम हो । हामीले भ्रष्टाचार शून्यता रहेको न्यायपालिका खोजेको हो । जहिलेसम्म भ्रष्टाचार शून्य हुँदैन तबसम्म हामी अभियान त चालिराख्छौँ नि । हामी आन्दोलनमा छौँ कि छैनौँ भन्ने कुरा त यहीँबाट थाहा हुन्छ । हामी त पहरेदार हो नि स्वतन्त्र न्यायपालिकाको । त्यो पहरेदारले चुप लागेर बस्न मिल्छ र ?

तपाईंहरूले उठाउँदै आउनुभएको प्रधानन्यायाधीशलाई महाअभियोग लगाइदेऊ भनेर माग गरिरहनुभएको थियो । अब त्यो माग पूरा भएपछि त आन्दोलन सकियो होला नि ? 

होइन । यो एउटा प्रयास होला । यो त अल्पकालीन रूपमा प्रधानन्यायाधीश माथि नेपालका राजनीतिक दलले महाअभियोग लगाएका छन्, एउटा आरोप लगाएका छन्, त्यो संसद्को विषय बनेको छ । यो पनि यससँगै जोडिएर आयो हाम्रो अभियान भनेको एउटा प्रधानन्यायाधीशलाई मात्रै महाअभियोग लगाउनु होइन । हाम्रो उद्देश्य भनेको भ्रष्टाचार शून्य न्यायपालिका हो, विकृतिविहीन न्यायपालिका हो । यी सबै कुराहरू छन् यसमा एक दिनको अभियानले यो समाधान हुँदैन । त्यसैले हाम्रो खबरदारी निरन्तररूपमा हुनेछ । नेपाल बार एसोसियसन यस अभियानमा लागि रहनेछ । कति सक्छ उसले एकैदिन सबै समस्या समाधन हुँदैन तर एउटा सिस्टम परिवर्तन गर्न सकिन्छ । न्यायपालिकासँग मिलेरै हामी अगािड बढ्छौँ, सबै न्यायकर्मीहरू त्यस्तो हुनुहुन्छ भन्ने पनि होइन, तर आरोप त लाग्ने गरेको छ । त्यसका कारण भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने हाम्रो मुख्य अभियान हो ।

तपाईंले बिचौलियाविहीन भन्नु भयो । न्यायालयमा बिचौलिया भित्र्याउनका लागि कालो कोट लगाउनेहरू नै सक्रिय छन् भन्ने आरोप पनि छ नि ? 

मैले अघि पनि भने कोही कालोकोट लगाउनेहरूका कारण नै समग्र न्यायपालिकाको गरिमामा आँच आएको छ । अन्य इमान्दार न्यायकर्मी पनि छन् जो इमान्दारपूर्वक अदालतमा गएर न्यायको लागि लड्छन् उनीहरूलाई यस्ता आरोप छन्, यी आरोपले हामीलाई ज्यादै विचलित बनाएको छ । यो हुनु हुँदैन, हामी निश्चय पनि एउटा कालो कोट छ त्यसमा अरू ९९ ओटा कालोकोट सफा छन् तर एउटा कोटमा दाग लागेको छ । त्यो कालोकाटले अरू समग्र कानुन व्यवसायीलाई आरोपित बनाएको छ भने हामी त्यो कोट खोज्ने छौँ र त्यो कोटालाई बाहिर राख्ने छौँ । नेपाल कानुन ब्यवसायी परिषद् जुन छ त्यसको एक्टलाई संशोधन गर्नु आवश्यक छ । एउटा कानुन परिषद् व्यवसायीमार्फत त्यस्ता ब्यक्तिहरूलाई बाहिर गरिनेछ । हाम्रो क्षेत्रमा यदि त्यो आरोप लागेको छ भने हामी त्यो बिचौलियाबिहीन कानुनकर्मी चाहन्छौँ हामी त्यसतर्फ पनि काम गर्नेछौँ ।
अहिले तपाईं चुनावी प्रचारप्रसारका अभियान लिएर जिल्लाजिल्लामा जानु भएको छ । जिल्ला तहको समस्या के छ ? केन्द्रको भन्दा पृथक् छ अथाव कस्तो छ ? 
अब हामीलाई उहाँहरू भन्नुहुन्छ, तपाईंहरू भोट माग्न मात्रै आउनु हुन्छ तीन वर्षमा । त्यसपछि कहिल्यै पनि फर्केर आउनुहुन्न भन्ने आरोप छ उहाँहरूको । सामान्यतया जनताका नेताहरूलाई पनि लाग्ने गर्दछ त्यो आरोप यहाँ पनि देखियो । हामी कम्तीमा पनि स्थानीय बारहरूको के भूमिका छ त ? उसले के गर्न सक्छ ? यहाँ पनि न्यायपालिकाका बिभिन्न अंगहरू त छन् नि । जिल्ला तहमा पनि विभिन्न तहका अदालत छन्, यहाँको न्यायपालिका, अदालतको के समस्या छ, त्यो कुरा हामी बुझ्ने छौँ । हामीले भनेका पनि छौँ त्यसका लाग्ी ठूलो खर्चको पनि आवश्यक छैन । देशभरिका कानुन ब्यवसायी मिलेर यसलाई समाधान गर्ने हो ।

व्यक्तित्व विकासका कुराहरू विगतमा पनि तपाईंहरूले गर्नुभयो । चुनाव सकिएपछि तपाईंहरू जिल्लामा फिर्नुहुन्न भन्ने आरोप पनि लाग्ने गर्र्छ, विगतको नेतृत्वलाई हेर्ने हो भने यर्थात पनि त्यही हो होइन ?

अवश्य पनि, विगतका नेतृत्वले गरेका राम्रो कामलाई हामीले अवलम्बन गर्नु पर्दछ । जुन कुरामा कमेन्ट आउँछ, उहाँहरूले गर्न सक्नु भएन भन्ने गुनासो आउँछ त्यसलाई हामीले एउटा सिफ्टको रूपमा लिएका छौँ । त्यसलाई शिक्षाको रूपमा लिएर हटाउँदै अगाडि बढ्ने हो । कमी, कमजोरी भए होलान् पुरानो नेतृत्वले गरेका राम्रो काम हामी आत्मसात् गर्र्छौं । उहाँहरूले गर्न नसकेका काम र कमजोरीलाई देशभरिका कानुन व्यवसायीको साथ लिएर सुधार गर्न चाहन्छौं, नेपाल बार त्यसमा कदम चाल्नेछ । अबको नेपाल बार एसोसियएन सबैको बार बन्ने छ, हामी यसमा प्रतिबद्ध छौं ।
सबैको भन्नाले तपाईंहरूको गठबन्धनको बन्ने भो होइन ? तपाईंहरूको समूह हेर्दा त एमाले निकट समूह त हेर्न नि नपाउने भो होइन त ?
यो समूह भनेको त चुनावसम्म मात्रै हो । चुनावका दिनपछि त हामी सबै एउटै बन्छौं नि । बारको परम्परा पनि त्यो छैन । हामी त्यो हुन पनि दिँदैनौं । किनभने सबैका विभिन्न विचार छन् यी विचारलाई हामी व्यक्त गर्दछौँ, विचार समूहमा राख्छौं । आफ्नो विचार राख्ने त उहाँहरूको हक हो नि तर उहाँहरूले फरक मत राख्नु भो भन्दैमा बारका कार्यक्रममा सहभागी हुन नदिने भन्ने त हुँदै हुँदैन । यो सबैको साझा संस्था हो । होइन भने त राजनीति संस्था भइहाल्यो नि ।

बारको चुनाव फेरि अचम्मको हुन्छ । व्यापक समूह भए पनि मुख्य मुख्य ठाउँमा हारिहाल्छन् यसलाई चाहिँ कसरी अवलम्बन गर्नुभएको छ ? 
हामी समूह बनाएर अगाडि बढिरहेका छौँ । मलाई के विश्वास छ भने सरलताले सबै कुरामा सहज बनाउँछ । हामी सरल तरिकाबाट अगाडि बढ्छौँ । हामी देशभरि गएर आफ्नो कुरा राखिरहेका छौं । हामी सबै साथीहरू देशभरि छौँ, हामी सरल तरिकाबाट चुनावसम्मै जान्छौँ । चुनावपछि त यो एउटा साझा संस्था हो यसमा सबै स्वतन्त्र हुन्छन् । सबै एकजुट भएर न्यायपालिका सुधार गर्छौं ।

विगतको बारको निर्वाचन हेर्ने हो भने अधिकांश पदमा तपाईंहरू नै विजय हुनुहुन्छ । तर पनि मुख्यमुख्य ठाउँमा तपाईहरू चुक्नुहुन्छ । त्यहँँ व्यक्तिलाई महत्वपूर्णरूपमा लिने चलन छ । अहिलेको अवस्था के छ ?
अहिले विगतजस्तो कुनै पनि कमजोरी छैन । हामीले प्रयास पनि त्यहीअनुसार गरिरहेका छौँ । कहीँ कमी, कमजोरी थिए भने त्यसलाई पनि न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । मलाई के लाग्छ भने हामी सबै एकाकार भएको अवस्थामा हामीले पहिले नै एउटा बार नै गठन गरेका छौं । तपाईंले गठबन्धन भने जस्तै यो एउटा समूह हो । अलगअलग आस्था र विचार राख्ने कानुन व्यवसायी हुनुहुन्छ । उहाँहरूलाई समेटेर हामीले पहिले नै बारजस्तै समूह निर्माण गरेको हुनाले हामी जितको धेरै नजिक छौँ । हामीले चुनाव जितिसकेपछि हामी हजारौं कानुन व्यवसायीलाई एकाकार बनाएर अगाडि बढ्छौँ ।