देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झन् झन् ऋणमा डुब्दै छ श्रीलंका, बिजुली सकंटले बढाउँदै छ पीडा

देशान्तर

काठमाडौँ ।  श्रीलंकामा मंगलवारबाट सेना परिचालन गरिएको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका पेट्रोल पम्पमा सेना तैनाथ गरिएको हो । पेट्रोल र डिजेलको अभाव बढ्दै जाँदा पम्पहरुमा हजारौंको लाइन लागे पछि हिंसात्मक घटना हुनबाट रोक्न सेना परिचालन गरिएको हो ।

आर्थिक संकटका कारण चर्को मूल्यवृद्धि भएसँगै मानिसहरु इन्धनको जोहोमा अहिले लागेका छन् । यसैबिच केही मानिसले ठूलो क्यानमा पेट्रोल भरेर बेच्ने गरेको पाइएको छ । पेट्रोल सबैको पहुँचमा पुगोस् भन्दै सरकारले सेना परिचालन गर्नुपरेको बताएको छ ।

पेट्रोल र डिजेलको लागि लाइनमा बस्दा बस्दै हालसम्म चारजनाको मृत्यु भइसकेको छ । एकजनाको मृत्यु लाइनमै भएको थियो भने तीनजनाको मृत्यु लाइनमै विवाद हुँदा चक्कु आक्रमणबाट भएको थियो ।

यस्तै, ग्यासका लागि पनि मानिसहरु घण्टौं लाइनमा बसिरहेका छन् ।

श्रीलंकामा विदेशी मुद्राको भण्डारण लगभग सकिन लागेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् । जसकारण पेट्रोल र डिजेलको आयात हुन सकेको छैन । यस्तै, खाद्यान्न, तरकारी र औषधिको पनि चरम अभाव भएको छ। सामानहरुको चर्को मूल्यवृद्धि हुँदा एक परिवारको खर्च चार गुणा बढेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

विदेशी मुद्राको अभावका कारण श्रीलंकामा विद्यालय तहको वार्षिक परीक्षा समेत रद्द गरिएको थियो । कागज र मसी किन्न पैसा नहुँदा ४० लाख भन्दा बढी विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् ।

अहिले खाद्यान्न र औषधि किन्नका लागि श्रीलंकाले ऋण लिने तयारी गरिरहेको छ । भारतले श्रीलंकालाई १ अर्ब अमेरिकी डलर ऋण दिने वचन दिएको बीसीसी हिन्दीले उल्लेख गरेको छ। चीनसँग पनि भारतले ऋण माग गरेको छ । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि ऋण लिने तयारी गरिरहेको छ ।

आर्थिक संकट सामना गरिरहेको श्रीलंका अहिले बिजुली संकटसँग पनि गुज्रिरहेको छ । मार्चको सुरुवातमा श्रीलंकामा देशभर दैनिक साढे तीन घण्टा लोडसेडिङ हुने घोषणा गरिएको थियो। जसकारण जनजीवन थप प्रभावित भएको छ । उद्योगमा पनि यसको असर परेको छ ।

श्रीलंकाको केन्द्रीय बैंकका अनुसार फेब्रुअरीमा देशको विदेशी मुद्रा भण्डारण २।३६ अबर डलर पुगेको थियो। जनवरीमा श्रीलंकासँग फेब्रुअरीभन्दा २४।८ प्रतिशत बढी विदेशी मुद्रा भण्डारण थियो ।

रसिया र युक्रेनबिचको युद्धका कारण श्रीलंकाको अवस्था बिग्रिएको अनुमान समेत गरिएको छ । श्रीलंकाबाट रसियामा सबैभन्दा बढी चिया निर्यात हुन्थ्यो। श्रीलंकामा रसिया र युक्रेनबाट ठूलो संख्यामा पर्यटक पनि आउथे ।

श्रीलंकामा पर्यटन व्यवसाय धराशायी बन्दा र चिया निर्यात नहुँदा अहिलेको संकट थप बढेको हो । श्रीलंकाको १० प्रतिशत जिडिपि पर्यटन उद्योगमा निर्भर रहेको छ । कोरोना भाइरस महामारीको समयमा श्रीलंकामा पर्यटनको आवागमन ठप्प बनेको थियो। जसकारण कयौं व्यवसायहरु बन्द भएका थिए । त्यसमाथि हाल युद्धको असरसँगै विदेशी मुद्राको अभाव भए पछि क्यानडा लगायत कयौं देशले श्रीलंकामा लगानी गर्न समेत बन्द गरिसकेको छ ।

सन् २०१९ मा सरकारले नागरिकको खर्चको सीमा बढाउन करको दायरा घटाएको थियो । जसकारण सरकारलाई राजस्वमा घाटा भएको थियो । यसकारण पनि अहिलेको अवस्था सिर्जना भएको हो । यस्तै, कृषिमा ‘केमिकल फर्टिलाइजर’ को प्रयोग नगर्न दिइएको आदेशले खेती घटेको छ । जसकारण श्रीलंकामा खाद्यान्न उत्पादन घटेको छ ।

हाल श्रीलंकाली मुद्राको दर पनि घटिरहेको छ । श्रीलंकामाथि चीनको ५ अर्ब डलर ऋण रहेको छ । भारत र जापानले पनि श्रीलंकालाई धेरै ठूलो कर्जा दिएको छ । सन् २०२० सम्म श्रीलंकाले विभिन्न देशलाई ७ अर्ब ऋण फिर्ता गर्नुपर्नेछ । अहिले श्रीलंकालाई सामान आयातका लागि महंगोमा डलर खरिद गर्नुपरिरहेको छ । जसकारण श्रीलंका थप ऋणमा डुब्दै गइरहेको छ ।