देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुर-जयनगर रेलको सामान्यतर्फ प्रति यात्रु भाडा ७० रुपैयाँ, एसी सिटको ३०० रुपैयाँ

देशान्तर

काठमाडौं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर-जनकपुरसम्म रेल संचालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा संचालनको तयारी गरिएको हो ।

यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलवार पुनः रेल्वे अध्यादेश जारी गरेकी हुन । अध्यादेश जारी भएसँगै रेल संचालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले बताए ।

‘अध्यादेश निस्क्रिय भएपछि रेल सेवा संचालन गर्न कठिनाइ भएको थियो’, महाप्रबन्धक झाले भने, ‘अध्यादेश पुनः जारी भएपछि बाटो खुलेको छ।’ गत फागुन १ गतेदेखि जयनगर-जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एकपटक संचालन भइरहेकामा अहिले एक महिनामा १५ दिनमात्र चल्न थालेको छ ।

‘प्राविधिकरूपमा सबै तयारी भइसकेको छ। कर्मचारी नियुक्त भएर काममा खटिएका छन्’, उनले भने, ‘भाडादर पनि निर्धारण भइसकेको छ ।’ जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु ७० रुपैयाँ र वातानुकुलित एसी सिटमा ३०० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।