देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाले हिमाली देशहरूमा ठूलो आर्थिक समस्या परेको छ : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरूमा ठूलो आर्थिक समस्या परेको बताएका छन् ।

आज बुधवार काठमाण्डौको चन्द्रागिरिमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रियस्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरूको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘कोभिड–१९ महामारीले हामी सबैलाई पिरोलेको छ । यसले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । अब नेपालसहितका हिमाली देशहरूले गुमेको अर्थतन्त्र फेरि पाउनलाई अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक पर्छ । रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक छ, अध्ययनबाट पहाडी क्षेत्रहरूमा विश्वव्यापी रूपमा तापमान बढेको पाइएको छ भने औसतभन्दा धेरै छिटो न्यानो हुँदै आएको छ । दिगो पर्वतीय विकासको एजेन्डा नेपालका लागि सधैँ प्राथमिकताको विषय छ, हामीले यसको पक्षमा बेला–बेलामा आवाज पनि उठाएका छौँ, हामीले यही पर्वतीय अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मुस्ताङमा ुमाउन्टेन एड्भोकेसी समिटु गर्न लागेका छौँ ।’

प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्नका लागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको भन्दै त्यसको पक्षमा तत्काल कदम चाल्न आवश्यक रहेको पनि स्पष्ट पारे । उनले पर्वतीय मुद्दाहरूलाई समाधान गर्न पहाडी देशहरूबीच छलफल हुन आवश्यक रहेको पनि बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ देशका दुई सय जनाको सहभागिता छ ।