देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राखेप सदस्यसचिवबाट हटाइएका सिलवालको रिटमा सुनुवाइ हुँदै

देशान्तर

काठमाडौं – आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपको)सदस्यसचिवबाट गैर कानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुस्मलता माथेमाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । आजको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने ठहर गर्नेछ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका हुन् । उनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सिलवाललाई हटाउने र घिसिङलाई नियुक्त गर्ने दुवै निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशले आफूलाई काममा फर्कन नरोक्ने भन्दै सिलवाल राखेप जाने तयारीमा देखिए पनि उनलाई रोकिएको थियो ।
अल्पकालीन अन्तरिम आदेश जारी गरेर दुवै पक्षलाई छलफलका लागि बोलाए पनि लामो समयपछि सर्वोच्चमा उक्त रिटमाथि सुनुवाइ भएको हो ।

११ औं पटक पेसी चढेको उक्त रिट सात पटक हेर्न नभ्याइनेमा राखिएको थियो भने एकपटक हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । एकपटक निवेदकले नै स्थगित गराएका हुन् ।