देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुवै प्रहरीमा आईजीपीका लागि लिगलिगे दौड

देशान्तर

काठमाडौं । चुनावको मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्त हुने भएपछि आईजीपी बन्न दुवै प्रहरी संगठनभित्र लिगलिगे दौड सुरु भएको छ भने राजनीतिक वृत्तमा कसलाई आईजीपी बनाउने भनेर बहस र ‘लबिङ’ सुरु भएको छ । नेपाल प्रहरीका शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका शैलेन्द्र खनाल ३० वर्षे प्रावधानका कारण अनिवार्य अवकाश पाउने भएपछि चलखेल र दौडधुप सुरु भएको हो ।

सशस्त्र प्रहरीका वर्तमान आईजीपी खनालको पदावधि चैत २९ गते सकिँदै छ भने नेपाल प्रहरीका आईजीपी थापाको वैशाख १८ गते सकिन्छ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय चुनावको मुखमै सरकारले २१ दिनका लागि सशस्त्रमा आईजीपी बनाउनु पर्नेछ । त्यसरी २३ दिनमै सेवा निवृत्त हुने आईजीपी बन्ने दौडमा पुष्पराम केसी र रामशरण पौडेल रहेका छन् । यी दुवै जना वैशाख १८ गते अनिवार्य अवकाश लिएर घर फर्किएपछि फेरि नयाँ आईजीपी कसलाई बनाउने भन्ने चर्चा पनि अहिलेदेखि नै तीव्र हुँदा राजनीतिक दलका नेताहरूले पनि चासो दिन थालेका छन् । निर्वाचनको समयमा सशस्त्रका डीआईजीपीहरूबाट आईजीपी बनाउने तयारी गरिएको छ । यस्तोमा राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी मिश्रमध्ये एक जना आईजीपी बन्दा अरू डीआईजीमा रहनेछन् । यसभन्दा अघि किशोर लामा १६ दिनका लागि आईजीपी भएको इतिहास छ ।

निर्वाचनअगावै दुई पटक आईजीपी नियुक्त गर्नुपर्ने भएपछि सशस्त्रका आईजीपी खनालले नियमावली परिवर्तन गरी आफ्नो कार्यकाल लम्ब्याउन कसरत गरेका छन् । तर, रोलक्रममा रहेका एआईजी र डीआईजीहरू भने नियमावली संशोधन नगर्न र रोलक्रमअनुसार नियुक्त गर्न राजनीतिक नेतृत्वलाई दबाब दिइरहेका छन् ।

उता, नेपाल प्रहरीमा पनि आगामी वैशाख १८ गते ३० वर्षे कार्यकाल पूरा गरेर वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले अवकाश पाउने भएपछि त्यहाँ पनि नयाँ आईजीपी बन्ने दौड सुरु भइसकेको छ । थापासँगै एआईजीहरू प्रद्युम्न कार्की, हरि पाल र निरज शाही पनि कार्यकाल पूरा गरेर संगठन छाड्दा नयाँ आईजीपीको दौड सुरु भएको हो ।

मन्त्रिपरिषद्को गत फागुन ५ गते बसेको बैठकले एआईजी दरबन्दी थप गर्ने निर्णय गरेको थियो । एआईजीको दरबन्दी थप गरेपछि प्राविधिकबाहेक नेपाल प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । दरबन्दी थप गर्नुअघि आईजीपीका लागि विश्वराज पोखरेल र शहकुल थापाक्षेत्री मात्र दाबेदार रहेका थिए । तर सरकारले दरबन्दी थप गरेपछि चैत १ गतेको मन्त्रिपरिषद् बैठकले ३ जना डीआईजीहरूलाई एआईजीपीमा बढुवा गरेको थियो । दरबन्दी थप गरेपछि ५ जना आईजीपीका लागि प्रतिस्प्र्धामा रहेको भए पनि खास प्रतिस्पर्धा ४ जनाको बीचमा रहनेछ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी वसन्तकुमार पन्त, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत धीरजप्रताप सिंह र कार्य निर्देशनालयमा कार्यरत रवीन्द्रबहादुर धानुकलाई एआईजी बनाएको थियो ।

तीन जनाको बढुवा भएपछि आईजीपीको प्रतिस्पर्धामा पोखरेल, थापाक्षेत्री, सिंह र धानुकबीचमा प्रतिस्पर्धा हुने छ । पन्त भने अहिलेका आईजीपी थापा क्षेत्रीसँगै अनिवार्य अवकाशमा जानेछन् । प्रहरी नियमावली २०७१ अनुसार ज्येष्ठताका आधारमा वर्तमान आईजीपी थापो अवकाशपछि नयाँ आईजीपीका लागि पोखरेल अगाडि छन् । पोखरेललाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले एआईजीपीमा बढुवा गरेको थियो ।

एआईजीपी पोखरेलले २०४९ साल चैत २९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । पोखरेल एसपी बढुवासम्म आफ्नो ब्याचको पाँचौँ नम्बरमा थिए । त्यो बेलासम्म प्रदेश–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह ब्याचको १ नम्बरमा थिए । एसएसपी बढुवादेखि फड्को मारेका पोखरेलले तत्कालीन डीआईजी सुशील भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपछि पोखरेल एकल डीआईजीमा बढुवा भएका थिए ।

साथै, उनी ओली सरकारले बढुवा गरेको भन्दै कांग्रेसको प्रधानमन्त्री र गृहमन्त्री नै कांग्रेसको भएका कारण उनलाई आईजीपी बनाउन नहुने तर्क उठे पनि पोखरेलको विगतको राजनीतिक पृष्ठभूमि कांग्रेस नै भएको उनी निकट जानकारहरू बताउँछन् । उता थापाले पनि आफूलाई भावी आईजीपीको रूपमा प्रस्तुत गर्दै विभिन्न शक्ति केन्द्रहरू धाउन थालेको बताइएको छ । उनी पनि ओलीले सत्ता छाड्नुभन्दा एक महिना अगाडि मात्रै एआईजीमा बढुवा भएकाले कांग्रेस नेतृत्वले त्यसलाई स्वाभाविक मानेको छैन ।

आईजीपीको प्रतिस्पर्धामा पहिला नरहेका तर दरबन्दी थपिएपछि चर्चामा आएका सिंहले पनि आफ्नो तयारी गरिएको बुझिएको छ । सुदूरपश्चिमका सिंहलाई उतैका प्रधानमन्त्रीले अवसर दिनेमा आशावादी रहेको बुझिएको छ । तर, २०७४ को निर्वाचनको मुखैमा जयबहादुर चन्दलाई महानिरीक्षक बनाउँदा सर्वोच्च अदालतले उल्टाएपछि त्यसको प्रभाव चुनावमा पनि परेको थियो । त्यसले गर्दा पनि देउवा अहिले त्यो जोखिम मोल्ने मनसायमा देखिएका छैनन् ।

यस्तै, धानुक भने माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जर्नादन शर्मासँग निकट रहेकाले उनको पनि चर्चा रहे पनि अवसर पाउनेमा भने अझै ढुक्क छैनन् ।