देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुनमा ३० करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत

देशान्तर

काठमाडौं । धितोपत्र दोस्रो बजारमा फागुन महीनामा मात्र ३० करोड २१ लख ९६ हजार २७७ दशमलव ९० कित्ता धितोपत्र सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार आईपीओ, बोनस शेयर, विकास ऋणपत्र र ऋणपत्र गरी उल्लेखित संख्यामा धितोपत्रहरु दोस्रो बजारमा थप भएका हुन् ।

फागुन महीनामा अघिल्ला महीनाको तुलनामा दोस्रो बजारमा धितोपत्रको आपूर्ति बढी देखिएको छ । नेप्सेका अनुसार माघ महीनामा ३ करोड ६० लाख १६ हजार १२१ दशमलव ३७ कित्ता शेयर कारोबार भएको थियो ।

पुस मसान्तसम्म सम्पन्न गरेका धेरै जसो कम्पनीहरुले फागुन महीनामा बोनस शेयर सूचीकृत गरेका छन् । फागुन महीनामा तीन कम्पनीहरुको आईपीओ बापतको ९७ लाख ५६ हजार कित्ता शेयर थप भएको छ भने सबैभन्दा बढी २६ करोड १९ लाख ४० हजार २७७ दशमलव ९० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको २ करोड ९५ लाख कित्ता विकास ऋणपत्र र गरिमा विकास बैंकले जारी गरेको १० लाख कित्ता ऋणपत्र पनि फागुन महीनामै सूचीकृत भएको छ ।

फागुन महीनामा धितोपत्रको आपूर्ति बढ्दा मूल्यमा असर भएको जानकारहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदरका कारण प्रभावित बनेको फागुन महीनामा धितोपत्रको आपूर्ति बढ्दा पनि बजार प्रभावित भएको अनुमान विश्लेषकहरुको छ । यस वर्षमात्र हैन हरेक वर्ष फागुन महीनामा धितोपत्रको आपूर्ति बढ्दै आएको जानकारी पनि विश्लेषकहरुले दिएका छन् ।

फागुन महीनामा धेरै जसो बोनस शेयर सूचीकृत भएकाले पनि विक्रीको चाप बढेको ब्रोकरहरु बताउँछन् । बजारमा उतारचढाब भइरहेको अवस्थामा लगानीकर्ताहरुले बोनस शेयर सूचीकृत भइसकेपछिका केहि समय विक्री चाप बढाएको जानकारी ब्रोकरहरुले दिएका हुन् ।

धेरैजसो कम्पनीहरुले माघ र फागुन महीनामै बोनस शेयर सूचीकृत गराईसकेको अवस्थामा धितोपत्रको आपूर्ति आगामी दिनमा भने कम हुने जानकारी ब्रोकरहरुले दिएका छन् ।