देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले युक्रेनको पक्षमा लड्यो भने ‘तेस्रो विश्वयुद्ध’ हुन्छ : बाइडेन

देशान्तर

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । उनले आफ्नो सेनाले युक्रेनको पक्षमा लड्यो भने तेस्रो विश्वयुद्ध हुनेछ ।

अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने बाइडेनको चेतावनी छ । त्यसैले अमेरिकाले रुस–युक्रेन युद्धमा हस्तक्षेप नगर्ने उनको भनाइ छ । युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ । तर बाइडेन यसो गर्न नहुने बताइरहेका छन् ।

यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको बिबिसीले जनाएको छ ।

बाइडेनले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने अमेरिकी रणनीति रहेको समेत बताएका छन् ।

तर रुसले भने अमेरिकाको सहयोगमा युक्रेनमा जैविक हतियारका गतिविधिहरू भइरहेको दाबी गरेको छ । उसले युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा जानकारी गराएको छ ।

उता अमेरिकाले भने रुसको दाबी मिथ्या रहेको बताएको छ । बरु रुसले नै युक्रेनमा रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै अमेरिकाले भनेको छ, ‘रुसले आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न झुट फैलाइरहेको छ ।’