देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुस र युक्रेनबीच तेस्रो चरणकाे वार्ता पनि निष्कर्षविहीन

देशान्तर

रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता भएको छ । दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको रुसी दूतावासले जनाएको छ । तर तेस्रो चरणको वार्ताले पनि अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले स्वीकार गरेका छन् ।

रुसको वार्ता टोलीका प्रमुख राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले वार्तामा राखिएको अपेक्षा पूरा हुन नसकेको बताए । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले पनि कुनै नतिजा नआएको प्रतिक्रिया दिए । दुवै पक्ष छिट्टै वार्तामा जुट्न सहमत भएका छन् । यसअघि गरिएका दुई चरणका वार्तामा पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन ।

युक्रेन छोड्न चाहने नागरिकको उद्धारका लागि मानवीय करिडोर व्यवस्थापनमा तत्काल काम थाल्न रुस सकारात्मक रहेको समाचार संस्था तासले जनाएको छ ।

रुसले किएभबाट जानेलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको छ । तर युक्रेनले यो प्रस्तावमा असहमति जनाएको छ ।

रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट झण्डै १७ लाख मानिस बाहिरिएका छन् । रुसले युक्रेनका दक्षिणी र पूर्वी सहरमा आक्रमण गरिरहेको छ ।