देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा बीपी चिनाउने अभियान 

देशान्तर

नेपालीहरू विश्वका हरेक ठाउँमा पुगेका छन् । त्यहाँ उनीहरूले नेपाल र नेपालीको पहिचान बनाउने काम पनि गरिरहेका छन् । कति अध्ययन अध्यापन तथा अनुसन्धानका लागि नेपालीहरू विश्वका हरेकजसो देशमा पुगेका छन् भने कति मानिसहरू रोजगारीको सिलसिलामा पुगेका छन् । नेपालीहरू पुगेपछि त्यहाँ कुनै न कुनै माध्यमबाट आफूलाई चिनाउनका लागि विभिन्न संस्थाहरू पनि बनाएका हुन्छन् । हो यस्तो छ जापानमा पनि जापानमा पुगेर अध्ययन अध्यापनमा लागेका एक व्यक्ति हुनुहुन्छ सुदीप अधिकारी । अधिकारी अहिले जापानमा बीपी विचार समाजको संयोजक भएर काम गरिरहनु भएको छ । पेसाले प्राध्यापक भए पनि उहाँले नेपालमात्र नभई दक्षिण एसियाकै समाजवादका प्रवर्तक बीपी कोइरालाको विषयमा जानकारी गराउने उद्देश्य लिएर काम थाल्नु भएको छ । बीपी विचार  समाज जापानले अहिले बीपी कोइरालाका किताबहरू जापानिज भाषामा उल्था गरेर त्यहाँका मानिसलाई जानकारी गराउने अभियान नै सुरु गरिएको छ । जापान विश्वमा धेरै किताब पढ्ने संस्कृति भएको देशमा पनि पर्ने भएको र साथै उनीहरू आफ्नोे भाषालाई मात्रै प्राथमिकता दिने भएकाले बीपीका किताबहरूलाई जापानिज भाषामा उल्था गर्न लागिएको अधिकारीको भनाइ छ । अधिकारीसँग मुक्तिबाबु रेग्मीले गरेकाे कुराकानीको सम्पादित अंश ।

तपाईं जापानमा आफूलाई कसरी चिनाउनुहुन्छ ? 
म जापानमा अध्ययनको क्रममा आजभन्दा २२ वर्ष अगाडि जापान पुगेको थिएँ । जापान पुगेपछि मैले इन्जिनियर बेसमा  इलेक्ट्रिकल इलोक्टोनिक विषयमा एमए र पीएचडीसम्म गरे । त्यसपछि रिसर्च युनिर्भसिटीमा ५ वर्ष काम गरे र त्यसमा विभिन्न अनुसन्धानसम्बन्धी सोलार इनर्जीका विषयहरूमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर काम गरेपछि म अहिले अध्यापकको रूपमा चुबु युनिर्भसिटी रहेको छु । जो जापानको मध्यभागमा पर्छ । सँगसँगै विभिन्न संघसंस्थाहरूमा पनि गैरआवासीय नेपाली समाज एनआरएनएको राष्ट्रिय कोर्डिनेटरको रूपमा पनि मैले एक कार्यकाल काम गरें । त्यसपछि आईसीसी गैरआवासीय नेपाली अन्तर्राष्ट्रियरूपमा पनि काम गरेर त्यसपछिको कालमा चाहिँ बीपी विचार समाज जापान पहिलो पटक बन्यो । अहिले मेरो संयोजकको टिमले काम गरिरहेको छ ।

२२ बर्वाअघि जापान जानु भयो । नेपाल फर्किन मन चाहिँ किन नलागेको ? त्यति पढिसकेपछि त अब नेपालमै केही गर्नुपर्छ भनेर आएको भए हुँदैन थियो ? 

वर्षको ४ महिना जति म नेपालमै हुन्छु । मेरो पेसाले युनिर्भसीटीमा हुने बिदामा म नेपाल आउँछु । म नेपाल आउने प्रयास पनि गरिरहेको छु । अब नेपाल कसरी आउने ? आफूले पढेको विषयलाई व्यवहारमा उतार्न चाहन्छु म । त्यसको लागि नेपालमा सोलारसम्बन्धी रिसर्च अझै सुरु भइसकेको छैन । मैले यस विषयमा सरकार र मन्त्रीसँग छलफल पनि गरिरहेको छु ।

अब तपाईंले भेटघाट र छलफल त गर्नुभयो तर अगाडि ठिक्क पछाडि केही पनि काम हुँदैन भन्ने आम मानिसको बुझाइ छ नि । यस्तै त होला नि है ? 
हो ठ्याक्कै त्यही हो । तर नेपालमा के काम गर्ने र कसरी अगाडि बढ्ने भन्ने वातावरण छैन । सपोर्ट कसैको छैन एक्लैले गर्ने कुरा भएन । मजस्ता धेरै साथीहरू नेपाल आउन चाहनु हुन्छ । आफूले विदेशमा बसेर धेरै पैसा आउँछ, विदेशमै रमाइलो छ भन्ने कुरा छ तर त्यो होइन ।  हामीहरू सबै नेपाल आउन चाहन्छौँ तर नेपालमा त्यो खालको वातावरण छैन तर हामी नेपाल आउन चाहान्छौं ।

तपाईं जापानमा हुनुहुन्छ, प्राध्यापक पेसामा पनि संलग्न हुनुहुन्छ । जापानमा नेपालीहरूलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो छ ? नेपालीले पाउनुपर्ने सम्मान पाएका छन् अर्थात् के छ अवस्था ? 

जापानको परिवेशमा हेर्दाखेरी विदेशीको रूपमा सबैभन्दा धेरै चाइनिजहरू छन् । भेयतनामी, इन्डोनेसियनलगायत पाँचाैं नम्बरमा हामी नेपालीहरू छौं । नेपालीको संख्या पनि बढ्दै गएको छ । जापनिजहरूले नेपालीलाई हेर्ने दृष्टिकोण अहिलेसम्म राम्रो छ । जापानमा दुईवटा कुराले हेर्छन्, एउटा गौतम बुद्ध जन्मेको देश र अर्को हिमालय भएको देशको मान्छे भनेर चिन्छन् । हामीहरूलाई उनीहरूले राम्रै रूपले हेर्छन् तर एउटा कुरा के छ भने गरिब देशको हुन् भन्ने खालको मानसिकता चाहिँ हुन्छ उनीहरूको ।

जापानले नेपालमा भइरहने राजनीति घटनाक्रमलाई कसरी हेर्छ त ? परिवर्तित घटनाक्रमबारे जापान बोल्न त बोल्दैन तर नेपाललाई सहयोग गर्ने देशको सूचीमा तेस्रो चौथो नम्बरमै हुन्छ । तपाईंहरू के पाउनु हुन्छ ।
नेपालको राजनीतिले जापनामा खासै प्रभाव पर्दैन । नेपालका राजनीतिज्ञहरूले आफ्नो काम र नीतिबारे उनीहरूलाई प्रभावित बनाउन सकेका छैनन् । जसका कारण उनीहरू र नेपालको राजनीतिबारे उनहरूको धारण त्यति सकारात्मक हुँदैन । भाषाले पनि परेको होला ।

अहिले एनआरएनए जापानमा लफडा नै लफडा देखिन्छन् ।  एनआरएनएमा देखिएको विवाद खास के हो ? यसलाई कसरी बुझ्ने ? 
अहिले विभाजनमा छ । अहिले एनआरएन जापान मात्रै होइन कि सबैभन्दा माथिको लिडरसिप राम्रो देखिएन । सबैभन्दा विवाद चाहिँ प्रतिनिधि छनोटमा भएको हो । अहिले भवन भट्ट र राजन दाइको संयोजकत्वमा एउटा तदर्थ समिति बनेको छ । विवाद समाधान गर्न नै उहाँहरूको समिति बनेको हो ।

नेपालीहरू जहाँ पुग्छन् त्यहाँ चाँहिँ झगडा विवाद भनेको सामान्य हो भनेर बुझ्यो भने के हुन्छ ? 
यस्तो छ हजुर, हामी नेपालीहरूका इलेक्सन भन्नेबत्तिकै अलिकति एक्साइटेड हुने विभाजन हुनुपर्ने इस्युगत रूपमा छलफलभन्दा छुट्टै समूहमा रमाउने हाम्रो त्यो पुरानै परिपाटी हो जस्तो लाग्छ मलाई ।

तपाईं बीपी विचार जापानको संस्थापक संयोजक पनि हुनुहुन्छ । खासमा तपाईंहरू कसरी काम गर्दै हुनुहुन्छ ? यसबारे प्रष्ट पारिदिनुस् न ? 
जब त्यहाँ कमिटी गठन भयो उहाँहरूले मलाई विश्वास गर्नुभयो ।  संघसंस्था गठन गरेपछि बीपीको स्मृतिमा जम्मा हुने बीपीको सम्झनामा माल्यार्पण गर्ने बीपीको सम्झनामा एकदिन सम्झने भेटघाट गर्ने रमाइलो गर्ने, चियापान गर्ने अरू दिन बिर्सने यस्तै भइरहेको छ नेपालमा र जसले पनि त्यही गरिरहेको छ । तर मैले र मेरो साथीहरूले हुनुहुन्छ सल्हाहकार डा. विश्व कँडेल पनि हुनुहुन्छ, हामीले के गर्ने त भोलिका दिनमा पनि सम्झिरहने कसरी बनाउने त बीपी मात्रै नभएर हाम्रो देशलाई पनि चिनाउने यो समाजमा यो जापानमा के गर्ने के गर्न सकिन्छ भन्ने सोच्यौँ । मैले भित्रैबाट बीपीको विचारलाई पढेर म पनि प्रभावित भएर बीपी समाज स्थापना गर्‍र्यौं । उहाँको जस्तो विचारलाई आत्मसात् गर्ने यो संसारमा लिडरहरू कमै भेटिन्छन् ।

त्यस कारण बीपीको सिद्धान्तलाई हामीले जापनिज भाषामा अनुवाद गरेर जापानका हरेक पुस्तकालयमा र सहरमा पुर्‍याउने भनेर छलफल गर्‍यौं । र त्यहाँ चाहिँ साउथ एसियाको रिसर्च गर्ने प्रोफेसर पनि हुनुहुन्छ त्यहाँ उहाँहरूलाई हामीले बीपीको सिद्धान्तबारेमा अलिकति भन्यौं उहाँ पनि प्रभावित हुनुभयो । उहाँहरूलाई पहिले बीपीको बारेमा थाहा थिएन । उहाँको सिद्धान्त थाहा पाएपछि हामीलाई जापनिज भाषामा अनुवाद गर्न र आफ्नो रिसर्चका रूपमा लिन्छौ भने । जसका कारण एउटा सानो देशको लिडरले पनि ठुला देशको बीचमा चीन र भारतको बीचमा बसेर यस्तो राम्रो काम गर्ने व्यक्ति अन्तर्राष्ट्रिय स्तरको छवि भएको व्यक्तिको बारेमा रिसर्च गर्‍यौँ भने हाम्रो विद्यार्थीका लागी पनि ठुलो सफलता हुन्छ भन्ने कुरा उहाँहरूले भनेपछि हाम्रो तीन जनाको टिम छ । जसमा एक जना जापनिज पनि छन् उनले बीपीका हामीभन्दा धेरै पुस्तक पढ्नु भएको होला सायद हाम्रोभन्दा धेरै ज्ञान छ उहाँमा । हामीले यसरी काम गरिरहेका छौँ । अहिले कोभिडको कारणले अलिकति ढिलो भएको छ ।

तर यो अनुवाद गर्दा पनि नेपाली रुल्सहरू फलो गर्नुपर्छ होला । कपीराइटका कुरालगायत धेरै कुराहरू छन् नि, त्यतातर्फको पाटो चाहिँ कसरी म्यानेज गर्नुभयो  ? 
हामीले त्यो पहिले नै सोचेका थियौँ । कपीराइटबारे फेरि कानुनी कारबाही हुन्छ यसबारे सचेत थियौं । हामीले बीपी विचार समाजका केन्द्रीय सदस्य लोकेश ढकाल दाइलाई सम्पर्क गरेका थियौँ । उहाँले हामीलाई धेरै सहयोग गर्नुभयो पहिला हामीले पार्टीमा सल्लाह गर्‍यौँ, पार्टीमा त कसैलाई थाहै पनि रहेनछ ।  नेपाली कांग्रेसभित्र बीपीको विचारलाई कसरी कपीराइट लिएको कसैलाई थाहै रहेनछ । त्ससपछि खोज्दैखोज्दै जाँदाखेरी जगदम्बा प्रकाशनमा चाहिँ कपीराइट रहेछ । हामीले लोकेश दाइमार्फत अनुमति पाइसकेका छौँ । अनुमति लिएर अब हामी तयारीमा लागेका छौँ ।

तपाईंहरू कहिलेसम्म पुस्तक प्रकाशनमा ल्याउनु हुन्छ ?

हामी २०३२ को अन्तिमतिर प्रकाशन गर्छाैं, तयारीमा जुटिसकेका छौ ।

तपाईं नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ । प्रवासमा रहेर राजनीति गरेर महाधिवेशन प्रतिनिधि बनेर आउँदा र पार्टीको अवस्था हेर्दा कतै राजनीति नगरेको भए हुन्थ्यो राजनीति पार्टीको सदस्यता नलिएको भए हुन्थ्यो भन्ने लाग्छ कि ? हाइन ठिकै गरिएछ भन्ने लाग्छ ? 

म पहिलो पटक कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिँदा खेरी मलाई एक किसिमले दिक्क पनि लाग्यो । यतिसम्म लथालिंग छ पार्टी ४ हजार ४५ सय भोटरको चुनाव गराउन यतिसम्मको बेथिति छ भन्ने सोचेको थिएन् । तर पनि मलाई चाहिँ के लाग्छ भने कुनै पनि पार्टीमा आबद्ध हुनु भनेको  त्यो पार्टीको सिद्धान्त मन परेर लाग्ने हो ।  मलाई पनि कांग्रेस पार्टी बीपीको सिद्धान्त मन परेर नै कांग्रेसमा आबद्ध भएको हुँ । सिस्टम बनाउने लथालिंग भएका कुराहरूलाई सुधार गर्दै लिन भनेको त त्यो पात्रको कुरा हो ।

तर केही कुरा बिग्रियो भने त कस्तो कांग्रेस जस्तो भन्छन् नि त होइन ? 
हो त्यस्तो भन्छन् । तर त्यसलाई सुधार्नको लागि पहल गर्नुपर्छ । अरूले सुधार्देओस् भन्ने मात्रै होइन कि आफूले पनि त्यसमा मौका पाइयो भने त्यो काम गर्नुपर्छ र सुधार गर्नुपर्छ भन्ने मलाई लागेको छ । अहिले १४औं महाधिबेशनबाट एउटा संकेतको रूपमा कांग्रेस पार्टी चाहिँ भोलिका दिनमा परिवर्तित आउँछ भन्ने सुगौलीको रूपमा रिजल्टले पनि देखाएको भएर कांग्रेस अब सशक्त बन्ने आशावादी छु ।