देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तहमा गठबन्धन भए विद्रोह हुन्छ 

देशान्तर

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने कुरामा धेरै नेता, कार्यकर्ताहरू रहेकाले केन्द्रले लादेर गठबन्धन गरेमा पार्टीका साथीहरूले विद्रोह गर्नुहुन्छ ।  नेपाली कांग्रेस अहिले गठबन्धनमा रहेको र गठबन्धन तलमाथि हुँदा विपक्षीसँग मिलेर सरकार सञ्चालन गर्ने र त्यसले संसद्को निर्वाचन गराउने जिकिर पनि गरेका छन् । देशान्तरसँग कुरा गर्दै नेता चौधरीले एमसीसी संसद्बाट पारित हुँदा १२ बुँदे व्याख्यात्मक व्यवस्था गठबन्धनमै रहेका दलका नेताहरूको चित्त बुझाउन गरिएको पनि प्रष्ट पारे । प्रस्तुत छ, उनै चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश । 

एमसीसी पारित त भयो अब कसरी अगाडि बढ्छ ?
संसद् र बाहिर लामै रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको छ । अब पारित भइसकेपछि सम्झौताअनुसार अगाडि बढ्नु पर्छ । हामीले व्याख्यात्मक घोषणासहित पारित गरेका छौं । त्यसैअनुसार एमसीसीले पनि स्वीकार गरिसकेको अवस्थामा अब प्रक्रियाअनुसार अघि बढ्छ ।
तर अझैं पनि सर्तहरू छन्, मुआब्जाको कुरा, रूख काट्नुपर्ने कुराहरू कसरी सल्टाउने ?
रूख काट्नुपर्ने मुआब्जा दिनुपर्ने सम्झौता वन मन्त्रालयबाट भइसकेको छ । मलाई विश्वास छ । प्रक्रियाहरू अगाडि बढेर यी कुराहरू चाँडोभन्दा चाँडो सुरु हुन्छ । अब तत्काल काम सुरु हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

एमसीसीका कारण झन्डैझन्डै गठबन्धन भत्किएको थियो, अब यो टिक्यो होइन त ?
हामीले बनाएको गठबन्धन एमसीसीका लागि मात्रै गरेका थिएनौं । यो गठबन्धन संवैधानिक ट्र्याकभन्दा बाहिर गएको केपी ओलीको हातबाट सरकार फिर्ता ल्याएर संविधानअनुसार चलाउनका लागि बनेको गठबन्धन हो । नेपालमा लोकतन्त्र, संघीयता र नेपालको संविधान बचाउनका लागि गरिएको हो । हाम्रो एकमात्र उद्देश्य भनेको संविधानलाई सही ट्र्याकमा ल्याउनका लागि कानुन र लोकतन्त्र बचाउनका लागि यो गठबन्धनमा सरकार बनेको हो । यसमा प्रष्ट हुन जरुरी छ । हाम्रो यो गठबन्धन चुनावसम्म जान सक्छ ।

चुनावसम्म भनेको, उम्मेदवारी पनि गठबन्धनबाटै दिने हो ?
होइन, सरकार बनाउनका लागि गठबन्धन बनेको हो । चुनावमा सिट तालमेल गर्नका लागि गठबन्धन बनेको होइन । आवश्यक परेमा कुनै ठाउँमा गठबन्धन हुन सक्छ । तर धेरै ठाउँमा गठबन्धन हुँदैन । अहिले गठबन्धनको सरकार भए पनि चुनावमा केन्द्रीय  स्तरबाटै गठबन्धन हुँदैन र हुनु हुँदैन ।
तपाईकै पार्टीका नेताहरूले यस्तो भन्नुहुन्न त ?
हामीले नेपाली कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरूको कुरा राम्रोसँग सुनेका छौं । धेरै नेताहरूले  स्थानीय तहमा गठबन्धन गरियो भने नेपाली कांग्रेसका धेरै साथीहरू पहिला पनि विद्रोह गरेर उठेका थिए अहिले पनि विद्रोह गरेर उठ्छन् । स्थानीय तहमा आवश्यकता र औचित्यअनुसार मात्रै गठबन्धन हुन सक्छ । सबै ठाउँमा नहुन सक्छ । मधेस प्रदेशमा गठबन्धन हुँदैन भन्नेमा म पूर्ण विश्वस्त छु ।

संविधान रक्षाका लागि कुनै अर्को पक्षलाई निषेध गर्नुपर्छ त्यसका लागि गठबन्धन भन्ने पनि छन् ?
नेपालको संविधानमा प्रतिनिधिसभा ५ वर्षको कार्यकाल भनेर लेखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद् भंग गरेपछि संविधान जोगाउन र प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष पूरा गर्नुपर्छ भनेर नै गठबन्धन बनेको हो । लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । साथसाथै समावेशी समानुपतिक चरित्र स्थापित गर्दै सबैको हित गर्नका लागि गठबन्धन बनेको हो । अब हरेक ठाउँमा गठबन्धन गर्ने भन्ने कुनै कुरा भएको छैन । फेरि पनि म भन्छु औचित्य र आवश्यकताका आधारमा गठबन्धन हुन सक्छ सबै ठाउँमा हुँदैन । अहिलेको अवस्थामा चुनावमा गठबन्धन गरेर फलानो पार्टीले  यति प्रतिशत सिट लिने भन्ने कुरा सम्भव हुँदैन ।

फेरि एमसीसीमा फर्किऔं 
तपाईंहरूले संसद्बाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्नुभयो, यो विषय अमेरिका मान्न बाध्य हुन्छ ?
नेपालको संविधानअनुसार संसद् भनेको कानुन बनाउने थलो पनि हो ।  एकपक्षीय भएता पनि नेपालको कुनै पनि काननु बनाउँदा अनिवार्यरूपमा संसद्मा पेस गर्नुपर्छ ।  एमसीसी अनुमोदन हुँदा संसद्ले १२ बुँदे व्याख्यासहित पास गरेको छ । धेरै कुराहरू सम्झौतामा प्रष्ट थियो । तै पनि केही साथीहरूलाई चित्त नबुझेको हुनाले व्याख्यासहित एमसीसी पास भएको हो । यो संसद्बाट पास भइसकेकाले कानुनीरूप प्राप्त हुन्छ । कानुनीरूपबाट पारित भएको कुरालाई एमसीसीले पनि मान्यता पाउँछ ।

सम्झौता भइसकेपछि थप गरिएका बुँदा मान्न बाध्यकार नहुन पनि सक्छ ?
बुँदा त त्यही हुन् । त्यहाँ भएका कुराहरूलाई हामीले व्याख्या गरेको हो । खासगरी सत्तारूढ गठबन्धनमै रहेका केही दलहरूले यसमा विरोध जनाएकाले उनीहरूलाई चित्त बुझाउनका लागि यस्तो गरिएको हो । व्याख्या भनेको हामीले उनीहरूलाई अलि प्रष्ट पार्न खोज्या हो । यसमा आपत्ति जनाउनुपर्ने कुनै कुरा र कारण नै छैन ।

एमसीसीका कारण गठबन्धनमा रहेका दलहरूका आन्तरिक जीवनमा त विवाद सुरु भयो नि ?
नेपाली कांग्रेस एमसीसीका विषयमा एकजुट थियो र छ पनि । तर अन्य दलहरूका आन्तरिक कुराहरूमा असन्तुष्टिहरू बढेको पाइएको छ । हामीलाई विश्वास छ कि नेपालको हितका लागि विकासका लागि र गरिबी उन्मूलन गर्नका लागि अमेरिकी अनुदान (एमसीसी) एकदमै सही हो । त्यो सही तरिकाबाट सञ्चालन भयो भने ट्रान्सफरमर लाइन होस् या सडकको लागि सबै कुराहरू पुग्छन् । अहिले साथीहरू भ्रममा हुनुहुन्छ र विकासको गति समात्यो भने उहाँहरूको भ्रम पनि चिरिनेछ ।

राष्ट्रिय जनमोर्चाले त गठबन्धन छाडिसक्यो ?
यो सरकार अब बढीमा ७–८ महिना टिक्ने हो । गठबन्धनमा रहेका अरूले पनि छाडे भने ‘अर्ली इलेक्सन’ हुन सक्छ । अहिले वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसपछि नेपालको मौसमी प्रणालीका कारण अगाडि अरु चुनाव पनि हुन सक्दैन । त्यसकारण गठबन्धन टुट्यो, साथीहरूका कारण गठबन्धनले सफलता प्राप्त गर्न सकेन भने विपक्षी दलसँग मिलेर अर्को गठबन्धन बनाएर अघि बढ्न सकिन्छ । त्यो त ठूलो कुरा नै भएन ।

भनेको अझैं पनि एमालेसँग कांग्रेसको गठबन्धन बन्छ ?

सरकार चलाउनका लागि त गठबन्धन सफल भइसक्यो । एमसीसीका कारण गठबन्धन धरापमा पर्ने अवस्था थियो । त्यो अहिलेलाई टरिसक्यो । तर अझैं पनि गठबन्धनमा टुटफुट हुने वा उनीहरूले सरकार छोड्न सक्ने अवस्था आउन सक्ने भए पनि मलाई त गठबन्धन टुट्छ भन्ने त विश्वास नै छैन । तै पनि गठबन्धन टुट्यो भने त प्रतिनिधिसभाको चुनाव चाँडै हुन सक्छ । होइन भने नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर अगाडि बढ्न सक्छ ।

गठबन्धनमा भएका दलहरू मिलेर बेला न कुबेला महाअभियोगको प्रस्ताव पनि ल्याउनु भयो है ?
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आवश्यक परेर नै महाअभियोग लगाइएको हो । २१ बुँदे आरोपहरू महाअभियोगमा उल्लेख गरिएको छ ।  न्यायालयमा जुन किसिमको अनियमितताहरू भएका थिए त्यसका कारण पनि हामीले महाअभियोग लगाउनु परेको हो ।
झन्डै ६ महिनादेनि न्यायपालिका ठप्प थियो । नेपाल बार एसोसिएसनले पनि अनुरोध गरिरहेको थियो । प्रधानन्यायाधीश राणाकै गतिविधिहरूकै कारण हाम्रो गठबन्धनले महअभियोग लगाएका हौं ।

तर पहिले बारले आन्दोलन गरेर महाअभियोग लगाउभन्दा नमान्ने तर अन्तिममा आएर आफ्नो सत्ता गठबन्धन कतै कमजोर हुन्छ कि भनेर महाअभियोग लगाएको हो भनेर बुझ्दा के हुन्छ ? 

त्यसमा अलिकति कमजोरी भएकै हो । महाअभियोग जतिखेर जुन अवस्थामा, परिस्थितिमा लगाउनु पथ्र्याे तर लगाउन सकिएन । त्यसबेला गठबन्धन सरकार र नेपाली कांग्रेसको भनाइ के थियो भने, सम्माननीय प्रधानन्यायाधीशले नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्ने धेरै सुझाव आएको थियो । पूर्वप्रधानन्याधीशले पनि भनिसक्नु भएको थियो, विभिन्न बुद्धिजीवीहरूले उहाँको बारेमा बोलिसक्नु भएको थियो त्यसकारण हामीलाई पूर्ण विश्वास थियो कि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ तर समय बढ्दै गयो बाध्य भएर महाअभियोग लगाउनु परेको हो ।

अब तपाईंहरू निर्वाचनको तयारीमा हुनुहुन्छ, नेपाली कांग्रेस कहाँनेर छ ? 

पक्कै पनि नेपाली कांग्रेस स्थानीय चुनावका लागि सक्रिय छौँ । एमसीसी पास भएसँगै म सप्तरी आइसकेको छु । सप्तरीको जिल्ला अधिवेशन पनि बाँकी नै छ । हामी चुनावका लागि पनि तयारी अवस्थामा छौँ । मलाई विश्वास छ स्थानीय तहको चुनावमा कांग्रेसको राम्रो अवस्था छ ।
कारण के ? कम्युनिस्टहरू विभाजित भएका कारणले राम्रो अर्थात् कांग्रेसको संगठन बलियो ? 
होइन, कुनै ठाउँमा कम्युनिस्ट विभाजित भएका ठाउँमा तपाईंले भनेजस्तो पनि हो । तर तराई मधेसमा पार्टीभित्रकै साथीहरूका कारणले हामी हार्ने हो । हाम्रो आन्तरिक द्वन्द्व मिलाउन सकियो भने व्यवस्थापन गर्न सकियो भने तराई मधेसमा धेरै ठाउँमा राम्रो गर्छौं । ्

तर आन्तरिक व्यवस्थापन, द्वन्द्व व्यवस्थापन गर्न त अलि समय चाहिन्छ होला, तर तपाईंहरू चुनावकै मुखमा जिल्ला अधिवेशन गर्दै हुनुहुन्छ यसले त कताकता तुस बाँकी राख्छ नि होइन ? 

केन्द्रबाट बुझ्नु पर्ने हो । हामीले जनगुनासो तपाईंको देशान्तरबाट अस्ति पनि भनिसकेका छौँ, आज पनि म पत्रिकामार्फत भन्दै छु । पक्कै पनि जुन व्यवस्थापन चुनौती बनेको छ । चुनावको मुखैमा पार्टीको अधिवेशन भइरहेको छ त्यो हुनु नपर्ने हो । अलि अगाडि भएको भए राम्रो हुन्थ्यो तर नेताहरूले मान्नु भएन ठीकै छ । तर द्वन्द्व हामी मिलाउँछाैं ।

तपाईंहरू अहिले जिल्ला अधिवेशनमा केन्द्रित हुनुहुन्छ, महाधिवेशनको जस्तै गुट हो अथवा अहिले गुट चाहिँ सकिए ?  

गुट त हेर्नुस् न्यायको आधारमा हुनेहो । गुट त सञ्चालन गर्ने पार्टी सभापतिले हो । गुटको सभापति बन्ने हो कि सम्पूर्ण कार्यकर्ताको सभापति बन्ने हो, त्यसमा भर पर्ने हो ।

अहिलेसम्म के पाउनु भएको छ, महाधिवेशन पछि पार्टी गुटको नेतृत्व भइरहेको छ कि समग्र कांग्रेसको नेतृत्व भएको पाउनु भएको छ ? 
अहिलेसम्मको हामीले केन्द्रमा पनि सोचेअनुसार भएको छैन । अहिलेसम्म पनि शेखर कोइरालाको समूहलाई जुन किसिमको न्याय दिनुपर्ने हो, जुन किसिमको छलफल हुनुपर्ने हो त्यो भएको छैन । तर पनि साथीहरूले गरिहरनु भएको छ । अब जिल्लाको अधिवेशन हुँदैछ अब चुनाव भएपछि मात्रै थाहा हुन्छ ।

शेखर कोइरालाले गुट, उपगुट सकियो भन्ने तर तपाईंहरू चाहिँ शेखरकै नाम बेचेर गुट, उपगुट बनाउने भन्ने आरोप लाग्छ नि फेरि ? 

पक्कै पनि शेखर कोइरालाले गुट र उपगुटको राजनीति गर्नहुन्न । तर न्यायसंगत चाहिन्छ कि चाहिँदैन ? उदाहरणका लागि सभापति लड्ने व्यक्तिले एकजनाले मनोनीत हुने अर्को व्यक्ति नहुने । महामन्त्रीमा कति साथीहरू मनोनीत हुने कति साथीहरू नहुने यो किसिमको अवस्था आयो भने त न्यायसंगत हुनलाई त कुनै पनि पार्टीमा विद्रोह सिजर्ना हुन सक्छ नि त ।

सबैलाई केन्द्रीय समितिमा ल्यानुपर्छ भन्ने जरुरी पनि त छैन् होला नि ? 
हो । केन्द्रीय समितिमा सबैलाई ल्याउन जरुरी त छैन तर जुन मान्छेको योग्यता क्षमता छ, त्यसलाई त ल्याउनु प¥यो नि । त्यसैले गट, उपगुटको सिर्जना भएको । अझै पनि गुट, उपगुटको सिर्जना हुन सक्ने देखिन्छ । पार्टी सभापतिले सबैलाई न्याय गर्न सक्नु भएको छैन ।

अब तपाईहरूले भनेको जस्तो कांग्रेसलाई कसरी एक गर्ने ? अब कसरी अगाडि बढ्ने त ? झन्डैझन्डै ७ महिनाको आयु छ भन्नुहुन्छ यो सरकारको त्यसपछि चुनावमा केन्द्रित हुन्छ । अब यी कुराहरू अहिले समाधान गर्न सकिएन भने त कांग्रेस फेरि प्रतिपक्ष तिरै त होला नि होइन ? 
आगामी चुनावमा कांग्रेस पहिलो र पूर्ण बहुमतको पार्टी बन्छ भन्ने हामीलाई विश्वास  छ । म तपाईंको मिडियाबाट अहिले नै घोषणा गर्दछु सप्तरीको क्षेत्र नम्बर ४ मा तीनवटा नगरपालिका र एउटा गाउँपालिका छ सबै स्थानीय तहमा कांग्रेस पार्टी जित्नेमा पूर्ण विश्वास छ ।

तर कांग्रेसकै इतिहास हेर्ने हो भने आफैंले गरेको चुनावमा कांग्रेस पहिलो पार्टी भएको रेकर्ड त छैन नि । २०६२/०६३ को इतिहासपछिकै कुरा गर्ने हो भने ? 

नेपाली कांग्रेसले आफूले चुनाव गरेको बेला पूर्ण बहुमत ल्याएको छैन । तर नेपाली कांग्रेस एउटा के पार्टी हो भन्ने कुरा भनिरहन परेन । कम्युनिस्ट पार्टीहरूले तीन वर्षको अवधिमा गरेको काम कारबाहीका कारण यसपालिको जनताले कम्युनिस्टलाई पत्याउँदैनन्, त्यसकारण यसपालिको चुनावमा नेपाली कांग्रेसको पूर्ण बहुमत आउँछ भन्नेमा पूर्ण विश्वास छ ।