देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको चुनावी अभियान– घरघरमा कांग्रेस

देशान्तर

काठमाडौं । वैशाख ३० का लागि घोषणा गरिएको स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा नेपाली कांंग्रेसले चुनावी अभियान तीव्र पार्ने क्रममा विगतको भन्दा भिन्नै अभियान सञ्चालन गरेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांंग्रेसले फागुन २० गतेदेखि चैत २० गतेसम्मका लागि एकमहिने ‘घरघरमा जाआंैं कांंग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ ।

यो अभियानका लागि कांग्रेसले हरेक जिल्ला र पालिकाका लागि केन्द्रीय प्रतिनिधि नै तोक्न थालेको छ । केन्द्रीयदेखि जिल्लास्तरीय नेताहरूलाई प्रतिनिधि बनाएर पालिकामा खटाइएको कांग्रेसले जनाएको छ । केन्द्रीय समितिका सदस्यहरू, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, संघीय तथा प्रदेश संंसदका सदस्यहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूसहित पालिकाका पदाधिकारी तथा सदस्यहरूलाई यो अभियानमा परिचान गरिएको नेपाली कांग्रेसले जनाएको छ । अघिल्लो स्थानीय तहको चुनावमा दोस्रो बनेको कांग्रेस यसपालिको चुनावमा पहिलो बन्ने र त्यसका लागि जनताको मन र मत जित्ने उद्देश्यका साथ चुनावी अभियानमा होमिएको हो ।

कांंग्रेसले अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरूलाई पनि यही अभियानअन्तर्गत सम्पन्न गर्ने लक्ष्य बनाएको छ । चौधौं महाधिवेशन अगावै अधिवेशन हुन नसकेको १६ जिल्लामा आइतबारसम्म नेतृत्व चयन गरिसक्ने काग्रेसको योजना छ । जसअनुरूप शनिबारसम्म आधा दर्जनभन्दा बढी जिल्ला अधिवेशनको नेतृत्व चुनिइसकेका छन् । आइतबार बाँकी जिल्लाको अधिवेशन पनि सकिनेछ । केही जिल्लामा शनिबार मतदान भएको छ भने बाँकी जिल्लामा आइतबार मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल विजयी भएका छन् । संस्थापन समूहका बादशाह कुर्मीलाई पराजित गर्दै गौडेल सभापतिमा निर्वाचित भएका हुन् । पर्साको सभापतिमा जनार्दनसिंंह क्षेत्री निर्वाचित भएका छन् । कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भए । नेपाली कांंग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोखरेल विजयी भएका छन् ।

चितवनको सभापतिमा राजेश्वर खनाल चयन भएका छन् । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समेत समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन् । पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरे । नेपाली कांग्रेस नवलपुर (नवलपरासी पूर्व)मा लामो रस्साकस्सीपछि महेन्द्रध्वज जीसी सभापतिमा सर्वसम्मत चयन भएका छन् । निवर्तमान सचिव बालकृष्ण घिमिरे र संविधानसभा सदस्य जीसीबीच सर्वसम्मतिको प्रयास भएको थियो । घिमिरे उपसभापतिमा जान तयार भए पछि जीसी सभापति सर्वसम्मत भएका हुन् ।

सप्तरीको सभापतिका लागि शत्रुधनप्रसाद यादव र रामदेव साह उम्मेदवारी दिएका छन् । महोत्तरी सभापतिका लागि नागेश्वर यादव, बजरंग नेपाली र सुशील यादवको उम्मेदवारी परेको छ । सिरहामा सभापतिका लागि संस्थापन पक्षबाटै रामचन्द्र यादव र रामसुन्दर चौधरीले उम्मेदवारी दर्ता गर्ने भएपछि विवाद उत्पन्न भएको छ । रौतहटमा सुनील यादव जितेन्द्र र हृदयनारायण यादवले उम्मेदवारी दिएका छन् । बारामा तीन जनाले उम्मेदवारी दिएका छन् । शम्भुबहादुर बुढाथोकी, राजेशराय यादव र रामानन्दप्रसाद यादवको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अछाममा भरतकुमार स्वाँर, पुष्पबहादुर शाह र राजन कुँवरबीच प्रतिस्पर्धा भएको छ । सिन्धुपाल्चोकमा भने फागुन २७ र २८ गते अधिवेशन हुने भएको छ ।