देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसरी पनि हटाउने नियतमा मन्त्री पम्फा

देशान्तर

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धन नै भत्कने अवस्थामा पुगे पनि माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले भने आफू अनुकूल काम गर्दै आगामी चुनावका लागि तयारी थालेको बताइएको छ ।

माओवादीबाट ऊर्जामन्त्री भएकी पम्फा भुसालले अहिले विभिन्न निकायमा आफू अनुकूलका व्यक्तिहरू ल्याउनका लागि निकै कसरत गरिरहेको स्रोतले बताएको छ ।

पम्फाको नजर अहिले विद्युत् नियमन आयोगमा केन्द्रित भएको बताइएको छ । उनले त्यहाँका पदाधिकारीहरूलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भन्दै जसरी पनि हटाउने तयारी गर्दै छानबिन समिति नै बनाएकी थिइन् । छानबिनका क्रममा विद्युत् नियमन आयोगका पदाधिकारीहरूको काम कारबाही चुस्त दुरुस्त रहेको पाइएपछि समितिले मन्त्री अनुकूलको प्रतिवेदन दिएन । जसका कारण समितिसँगै रुष्ट ऊर्जामन्त्री भुसालले जसरी पनि उनीहरूलाई हटाउने गरी प्रतिवेदन तयार पार्न दबाब दिएको विश्वस्त स्रोतले देशान्तरलाई बतायो ।

जबरजस्ती प्रतिवेदन तयार पारेपछि त्यसैका आधारमा मन्त्री भुसालले विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहसहित सदस्यहरू रामेश्वर कलवार, भागीरथी ज्ञवालीलाई हटाउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेर गएकी छन् ।

तर अहिले एमसीसी विवादका कारण मन्त्रिपरिषद्को नियमित बैठक नै बस्न सकेको छैन भने पछिल्लो समय सत्ता गठबन्धन भत्कने अवस्थामा पनि पुगेकाले यस विषयमा निर्णय हुने सम्भावना भने कम रहेको बताइएको छ ।

नियमन आयोगका पदाधिकारी भने आफूहरू खुला प्रतिस्पर्धाबाट आएको र छानबिन समितिसँग पनि आफूहरूले स्पष्टसँग सबै कागजातहरू चुस्त दुरुस्त राखेकाले हटाइहाले पनि अदालत जाने विकल्प खुला रहेको बताएका छन् ।