देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न निर्देशन

देशान्तर

काठमाडौँ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरूलाई अगाडि बढाउन कसैको दबाब र प्रभावमा नपरि काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् ।

नयाँ बानेश्वर स्थित सहकारी विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रभावकारी ढंगले काम गर्न पनि निर्देशन दिइन् । उनले भनिन्,“सहकारीहरूले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै गइरहेको अवस्थामा समयमा नै समस्या पहिचान गर्नुस्, त्यसको समाधानका लागि मन्त्रालय तयार छ ।”

मन्त्री श्रेष्ठले नियमित रुपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्याङ्क लिनु पर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने, सहकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नु पर्नेमा जोड समेत दिइन् ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका खेल्नु पर्ने बताए ।