देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालबालिकालाई फाइजर खोप ल्याउने तयारी

देशान्तर

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन् ।

आज बुधवार नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विद्यार्थीहरूलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरूको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले विद्यार्थीहरूलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउँदा दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिबद्धता जनाए ।

मन्त्री खतिवडाले सरकार कोरोनाविरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरूलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी सङ्गठनले भूमिका खेल्नुपर्ने बताए । उनले अबको केही दिनभित्र नै तेस्रो चरणको रूपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको पनि जानकारी दिए ।

विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरू गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरूलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको मन्त्री खतिवडाले बताए । उनले विपन्न नागरिकहरूको ओपीडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताए ।

अनेरास्ववियुले भने विद्यार्थीहरूलाई खोपको अनिवार्य व्यवस्था गर्न, स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्न, स्वास्थ्यलाई निःशुल्क बनाउन, संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारलाई कार्यान्वयन गर्न लगायतका माग गरेको छ ।