देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीसहित ४ पक्राउ

देशान्तर

काठमाडौँ – प्रहरीले स्वाब नै नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारीसहित ४ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौँको कान्तिपुर अस्पताल र भक्तपुरको मध्यपुर थिमिस्थित नागरिक सामुदायिक टिचिङ अस्पतालका कर्मचारीसहित ४ जनालाई पक्राउ गरिएको हो।

कान्तिपुर अस्पतालको परिचयपत्र बोकेका धनुषाको छिरेश्वर नपा १ घर भई हाल गौशाला बस्दै आएका २५ वर्षीय नागेन्द्र यादव र काभ्रेको तेमाल गाउँपालिका ५ घर भई हाल भक्तपुरको सूर्यविनायक नपा ५ सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनाली तथा सर्लाहीको बलरा नपा ७ घर भई हाल मध्यपुर थिमिको कौशलटार बस्ने नागरिक अस्पतालका ल्याब प्रवन्धक २४ वर्षीय प्रशन्नकुमार झा र कर्मचारी धनुषाको विदेह नपा ४ घर भई हाल ललितपुरको ग्वार्को बस्दै आएका २५ वर्षीय रोशनकुमार छिट्टानलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले अनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई आवश्यक पर्ने पीसीआर रिपोर्ट सरकारले तोकेभन्दा अत्यधिक बढी शुल्क लिई स्वाबको नमुनासमेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

उक्त सूचनाको आधारमा मंगलबार नागरिक अस्पतालका कर्मचारी छिट्टानलाई अस्पतालबाट जारी भएको ८ थान नक्कली पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पक्राउ गरिएको उनले बताए। छिट्टानपछि नागरिक अस्पतालका ल्याब प्रवन्ध झालाई नियन्त्रणमा लिइएको थियो।

त्यस्तै सोही दिन कान्तिपुर अस्पतालको परिचयपत्र बोकेका नागेन्द्र यादवलाई समेत १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।

उनका अनुसार यादवलाई नियन्त्रणमा लिएपछि अस्पतालको ल्याब पुगी कर्मचारी माधव मैनालीलाई समेत पक्राउ गरिएको थियो। मैनालीको साथबाट थप ४ जनाको नक्कली पीसीआर रिपोर्ट बरामद भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ४ जनालाई नियन्त्रणमा लिएपछि नागरिक अस्पतालमा पीसीआर ल्याब सञ्चालन गर्ने रौतहटको राजदेवी नपा ४ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने ४० वर्षको भावेश मिश्र फरार छन्। त्यस्तै कान्तिपुर अस्पतालका ल्याब सञ्चालक काठमाडौँ महानगरपालिका ३२ पेप्सीकोला बस्ने ४० वर्षीय निर्मल गिरी फरार रहेको महाशाखाले जनाएको छ।

प्रहरीले दुइटै अस्पतालको ल्याब बन्द गरेको छ। प्रहरीले पक्राउ गरेका चार जनाको साथबाट पीसीआर रिपोर्ट जेनेरट गर्न प्रयोग भएको कम्प्युटर मनिटर एकथान, ल्यापटप एकथान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिस्टर्ड, नक्कली पीसीआर रिपोर्ट र रसिद प्यायड तथा मोबाइल ५ थान बरामद गरेको छ।

महाशाखाका अनुसार नक्कली पीसीआर रिपोर्ट नै नहेरी विशेषज्ञ चिकित्सकहरुको डिजिटल हस्ताक्षर प्रयोग गरिएको पाइएको छ। ती ल्याबले केही विचौलियाहरुलाई अस्पतालको परिचयपत्रसमेत प्रयोग गर्न दिइएको भेटिएको महाशाखाले जनाएको छ।

नक्कली पीसीआर रिपोर्ट बनाइदिएवापत एक व्यक्तिबाट दसहजार रुपैयाँसम्म शुल्क असुल्ने गरेको भेटिएको महाशाखाले जनाएको छ।