देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ लाख डोज खोप कता हरायो ?

देशान्तर


काठमाडौं-तथ्यांकमा नआएको कोभिड १९ विरुद्धको २४ लाख डोज खोपको सरकारले खोजी सुरु गरेसँगै खोप कसले लग्यो भन्ने चर्चा चल्न थालेको छ ।

सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै हालसम्म लगाएको खोपको यकिन विवरण र भण्डारणमा रहेको खोपको विवरण पठाउन तीनवटै तहलाई निर्देशन दिएसँगै खोप पत्ता लाग्छ भन्ने आसा पनि पलाएको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय र ७५३ स्थानीय तहलाई ५ दिनभित्र विवरण बुझाउन निर्देशन दिएको छ ।

तर, नाम नबताउने एक कर्मचारीका अनुसार नेता र हाकिमका चिनेजानेको तथा आफन्तले प्रयोग गरिसकेको खोपको बिबरण यत्तिकैमा सेलाएर जाने बताए । उनले मन्त्रालयले खोप खोज्न आफ्नो कर्तव्य पूरा गरे पनि खोपको विषय यत्तिकै सेलाएर जाने देशाान्तरलाई बताएका छन् ।

यसअघि मन्त्रालयले २४ लाख डोज खोपको तथ्यांक नभेटिएको भन्दै त्यसको विवरण खोज्न समिति आइतबार पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले दुई साताभित्र प्रतिवेदन पेश गर्ने जनाइए पनि यसको औचित्य नरहेको कतिपयको बुझाइ रहेको छ ।

गत माघ ४ गते संसद्को स्वास्थ्य तथा शिक्षा समिति बैठकमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा हालसम्म खपत भएको कोभिड १९ विरुद्धको खोपमध्ये २० देखि २४ लाख डोज खोपको विवरण सरकारसँगै आइनपुगेको रिपोर्ट पेस गरेका थिए ।

खोप कार्ड नबनाएरै खोप लगाउने, सहरी क्षेत्रमा अधिकांशले तेस्रो डोज लगाएपनि त्यसको दर्ता नराख्ने, स्वास्थ्य संस्था तथा खोप केन्द्रहरूमा पहुँचका आधारमा खोप लगाउनेजस्ता घटना भएका कारण सो तथ्यांक सरकारसम्म आइनपुगेको तर्क उनले गरेका थिए ।

यति ठूलो मात्रामा खोपको विवरण सरकारसँग नभएकोबारे सोही समितिमा सांसदहरूले प्रश्न उठाएका थिए । त्यसपछि सञ्चारमाध्यम तथा विभिन सरोकारवाला निकायहरूबाट यस विषयमा सवाल गरेपछि सरकारले सो खोपको विवरण खोज्न सुरु गरेको हो ।