देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महामारीमा बजारबाट सिटामोल अलप

देशान्तर

काठमाडौं । साधारण ज्वरो आउँदा आवश्यक सिटामोल महामारीको रूप लिएको कोरोनाका लागि पनि आवश्यक मानिएको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सबैभन्दा बढी उत्पादन गर्ने यही औषधि कोरोना महामारीको तेस्रो लहरमा आइपुग्दा नेपाली बजारबाट अलप भएको छ, यसको कारण उत्पादकहरू कच्चा पदार्थको मूल्य ३ गुणा बढेकोले मूल्य बढ्नुपर्ने तर्कका साथ उत्पादन रोकिरहेका छन्, तर सरकार किन रमिते बनेको छ ? आफ्नै निकाय औषधि लिमिटेड र निजी औषधि कम्पनीहरूलाई किन निर्देशन दिन सकिरहेको छैन ? गम्भीर र रहस्यमय कुरा छ।

देशान्तरलाई जानकारी भएअनुसार अहिले पनि मुलुकमा डेढ करोडभन्दा बढी सिटामोल चक्की उत्पादन गर्न सक्ने कच्चा पदार्थ विद्यमान छ तर, किन बजारमा सिटामोलको अकाल छ ? सरकार लाचार हो कि नालायक ? प्रश्न उठेको छ ।

देशमा कोरोना महामारी बढिरहँदा सबैखाले बिरामीका लागि अत्यावश्यक औषधि सिटामोल अहिले बजारबाट गायब गरिएको छ । नेपालमै उत्पादन हुने सिटामोलको उत्पादन नियमित भइरहे पनि बजारमा भने पाउन सकिँदैन । नेपाल सरकारले समेत निःशुल्क वितरण गर्दै आएको यो औषधिको अहिले कोरोना महामारीका कारण झनै माग बढ्दो अवस्थामा रहेकाले बजारमा अभाव भएको हो । कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागिसकेको अवस्थामा ज्वरो आउँदा सिटामोलको प्रयोग गर्ने प्रचलन नै बनेको अवस्थामा बजारबाट सिटामोलका चक्की गायब भएपछि आम सर्वसाधारणहरू भने मर्कामा परेको अनुभव गर्छन् । अहिले राजधानीका ठूलाठूला फार्मेसीमा प्यारा सिटामोल सकिएको त्यहाँ कार्यरत कर्मचारीहरू नै बताउँछन् । एक जना फार्मेसी सञ्चालकले अहिले दैनिक धेरै मानिसहरू प्यारा सिटामोल चाहिएको भन्दै आफूहरूकहाँ आउने बताए ।

सरकारले सिटामोल सहज बनाउनका लागि चासो देखाएको बताए पनि सफलता भने हात पारेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोल सहज बनाउन भन्दै बुधबार गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएको बताइएको थियो । त्यसपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधिको उत्पादन र आपूर्ति तीब्र पार्न निर्देशन दिएका थिए भने उता औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासँग छलफल गरेपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले चाँडै सहज हुने बताएका थिए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उपत्यकाका ठूला अस्पतालका फार्मेसीमा अनुगमन गर्दा दुई÷चार पत्ता मात्रै रहेको पाइएको छ । बजारमा सिटामोलको अभाव रहेको मौका छोपी लुकाएर राख्ने ललितपुरको सातदोवाटोमा रहेको गोसाइँकुण्ड स्वास्थ्य सेवालाई १० हजार जरिवाना पनि गरिएको छ ।
नेपालमा औषधि उत्पादन गर्ने ६० वटा कम्पनीहरू छन् । यी कम्पनीहरूले भारतबाट कच्चा पदार्थ ल्याएर नेपालमा औषधि उत्पादन गरिरहेका छन् । तर अहिले भारतमै कच्चा पदार्थको मूल्य विगतको तुलनामा भन्दा ३ गुणा बढेको छ । मार्क फर्मुलेसन्सका निर्देशक नवराज तिवारीले अहिले पनि प्यारा सिटामोल सहज भएको बताउँदै आत्ती हाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । उनले देशान्तरसँग भने ‘हाम्रो कम्पनी मझौला स्तरको हो, हामीले यो आर्थिक वर्षको ६ महिनामा झन्डे ६८ लाख ट्याबलेट प्यारासिटामोल बजारमा पठाइसकेका छौं ।’

अन्य औषधि कम्पनीहरूले पनि उत्पादन गरिरहेकाले समस्या नहुने तर आम उपभोक्ताले अहिले ओमिक्रोन भेरियन्टका कारण ज्वरो आउने भएकाले घरमै आवश्यकताभन्दा बढी प्यारा सिटामोल किनेर राख्ने प्रचलन बढेकाले पनि समस्या आएको हुन सक्ने तिवारीले बताए । अहिले पनि पर्याप्त कच्चा पदार्थ स्टक रहेकाले एक हप्ताभित्रै प्यारा सिटामोल सहज हुने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको पनि उनको भनाइ छ । प्यारा सिटामोल तयार गरी बजारमा पठाउँदा व्यवसायीले ७३ देखि ७६ पैसा पाए पनि यसको लागत १ रुपैयाँ ७ पैसा पर्न आउने गरेको बताउँछन् । सरकारले पहिला तोकेको मूल्यअनुसार सिटामोल ट्याबलेटको १ रुपैयाँ रहेको छ ।

अहिलेको अवस्थामा सर्टेज देखिनुमा व्यापारघाटा पनि अर्को विषयमा रहेका बताइएको छ । लागतभन्दा पनि थोरै मूल्यमा बेच्नुपर्ने भएकाले केही कम्पनीहरूले बीचमा उत्पादन गर्न नै छाडेका थिए भने अहिले फेरि सबैले जनसेवाको भावनाका साथ काम गर्न सुरु गरेको बताउँदै मार्कका निर्देशक तिवारीले अब चाँडै समस्या समाधान हुने र प्यारा सिटामोलकै अभावका कारण कसैको ज्यान नजाने पनि प्रष्ट पारे ।