देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेरुका रुचाइएको मोडल

देशान्तर

मकवानपुरको हेटौंडामा जन्मेका हेरुका लामाले २०५९ देखि रंगयात्रा सुरु गरे । चलचित्रबाट यात्रा सुरु गरेका उनी अहिले मोडलिङ, निर्देशन र कोरियोग्राफीमा व्यस्त छन् । विशेषतः तामाङ सेलोमा रुचाइएको मोडल हुन्, हेरुका । ‘देशकै राम्रो कलाकार बन्छु भन्ने ध्येयले कलाकारिता सुरु गरेको हुँ ।’ उनले भने, ‘यही क्षेत्रमा झन्डै दुई दशक बिताएको छु । संघर्ष गरिनै रहेको छु । धेरथोर सफलताको स्वाद पनि लिँदैछु ।’

मुख्यतः उनी द्वन्द्व निर्देशक हुन् । नृत्य पनि उत्तिकै राम्रो गर्छन् । उनीसँग सयौँ फिल्ममा कोरस डान्सर र सहायक द्वन्द्वकारको रूपमा काम गरेको अनुभव छ । उनले थपे, ‘निरन्तर संघर्ष गरिरहे कलाकारिताबाटै बाँच्न गाह्रो छैन । म अहिलेसम्म यही क्षेत्रबाट बाँचेको छु ।’ उनले दर्जनौं तामाङ सेलोमा मोडलिङ, निर्देशन र कोरियोग्राफी गरेका छन् ।

‘चम चम’, ‘ठिक आरे चालाम्ला’, ‘छामेला मी फोबा’, ‘आप्पाकी छोरी’लगायतका गीतमा मोडलिङ गरेका छन् । तामाङ सेलोका अलावा अन्य गीतमा पनि हेरुकाको मोडलिङ हेर्न पाइन्छ । उनी अभिनीत गीत ‘बिहे नगरी भाछैन्’, ‘हल्का हल्का’, ‘साउने झरी’लगायतका गीत डिजिटल बजारमा उपलब्ध छन् । उनले करिब एक सय वटा गीतमा कोरियोग्राफी, निर्देशन र मोडलिङ गरेका छन् ।

प्रविधिको विकासले गर्दा कलाकारलाई संघर्ष कम गर्नुपर्छ । जस्ले लामो संघर्षबाट स्थापित कलाकारलाई मारपर्ने हेरुकाको बुझाइ छ । ‘भाइरलको जमाना छ । क्षमता भएका व्यक्तिले संघर्ष लामो गर्नु पर्दैन । टिकटकलगायतको प्लेटफर्मले नवप्रवेशीलाई सजिलो बनाएको छ ।’ उनले भने । ‘प्यारो मान्छे’ (लोक दोहोरी) र ‘नजर दामी छ’ (आधुनिक)को भिडियो सार्वजनिक हुन बाँकी छ । यी गीतको छायांकन सकिएको छ ।

फिल्म सावधानबाट कोरस डान्सरका रूपमा करियर सुरु गरेका हेरुकाले लोक तथा दोहोरी गीतमा पनि सुरुमा साइड डान्सरका रूपमा काम गरे । सहायक द्वन्द्व निर्देशकका रूपमा समेत काम गरेका उनले द्वन्द्व कलाकारिता र सहायक निर्देशनमै पनि करिब ८ वर्ष बिताए ।

नेपालको क्यासिनोमा डान्सरका रूपमा काम गर्दागर्दै भारत लागेका उनले भारतको गोवास्थित गोवा क्यासिनो प्राइडमा तीन वर्षसम्म कोरियोग्राफर र डान्सरका रूपमा काम गरे । मोडलिङ यात्रा भने भारतबाट फर्केपछि सुरु गरे ।

हेरुकाले भोलिका दिनमा नायक बन्ने सपना पालेका छन् । उनले भने, ‘सयौँ चलचित्रमा डान्सर र द्वन्द्वको काम गरे । अब नायक बन्ने सपना छ । कुनै चलचित्रबाट डेब्यु गर्छु होला ।’ रंग क्षेत्रमै निरन्तर लागिरहने प्रण गरेका उनी यस क्षेत्रको अलराउन्डर भन्दा पनि फरक पर्दैन ।