देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कुनै दिन १२ वटा गीत रेकर्ड गराए’

देशान्तर

जब ‘मनको देउतैले’ दोहोरी गीत गाए, तब पछि फर्कन परेन खुमन अधिकारीलाई । गीत हिट भएपछि अर्को गीतको अफर आयो । उनले दिनमा १२ वटासम्म गीत गाएका छन् । ‘चलेको बेला दिनमा सबैभन्दा बढी १२ वटा गीत गाएको रेकर्ड छ । त्यो बेला भ्याइनभ्याइ थियो ।’ उनले भने । त्यो समयमा खुमनले एउटा गीत गाएको तीन हजार लिन्थे ।

उनले दोहोरी गीत गायन यात्रा २०६३ सालदेखि सुरु गरे । ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीत सुरुको रेकर्ड गीत हो । उक्त गीत गाउँदा उनले पारिश्रमिक दुई हजार पाएका थिए । पहिलो गीत रेकर्ड गरेलगत्तै सोही स्टुडियोमा अर्को गीत रेकर्ड गर्ने अवसर पाए । कुराकानीका क्रममा खुमनले ती दिन सम्झिए, ‘ईश्वर पनि देब्रे परेछन्’ भन्ने गीत नै पहिलो रेकर्डिङ थियो । त्यो सीता पौडेलको गीत थियो । त्यो गीत रेकर्डपछि सोही दिन उही स्टुडियोमा अर्को गीत पनि रेकर्डको अवसर पाए । त्यो दिन अझै सम्झिन्छु ।’ उनको दोस्रो गीत ‘रानी वनमा मयूर नाचेको’ हो ।

                                  खुमन अधिकारी, लोकदोहोरी गायक

ईश्वर पनि देब्रे परेछन् गीतबाट लोकगायन सुरु गरेका खुमनको ईश्वर दाहिने परेछन् । उनको स्वरलाई मन पराउनेको संख्या बढ्न थाल्यो । जब राजकुमार बगरको सिर्जनामा ‘मनको देउतैले’ गीत गाए, तब खुमन स्थापित गायक बन्ने बाटोमा दौडिन थाले । ‘त्रिवेणीमा गीत रेकर्डिङ पछि सर्जक बगरले हात मिलाएर ‘बजार अब हजुरको हो’ भनेको अझै पनि ताजै लाग्छ खुमनले बताए । त्यसलगत्तै ‘जोर शंख फुकेर’, ‘एउटै डोरी पासो लगाम भो’ लगायतका गीत ब्याक टु ब्याक गाए । अधिकांश गीत हिट भए ।

स्याङ्जाको कालीगण्डकीमा जन्मेका खुमनले २०६३ साल यता १० हजारभन्दा बढि गीतमा स्वर रेकर्ड गराएका छन् । एक समय थियो, उनको मात्रै स्वरमा गीत आउथ्यो । उनले ती दिन सम्झँदै भने, ‘रेकर्डिङमा निकै भ्याइनभ्याइ हुन्थ्यो ।’ ‘मनै छैन र’, ‘त्यो मन रुन्न होला र’, ‘भकारीमा धान छ’, ‘कपाल कोर्ने काइँयो’, ‘सिलाइ दिउँला भोटो’, ‘भन्ने गर्थे बाले’, ‘रुमाल चिनो लैजाऊ बैनालाई’, ‘स्याङ्जाली–झापाली’ जस्ता सयौं गीत खुमनको स्वरमा रेकर्ड गरिएको छ । जस्ले लोक पारखीको मनमस्तिष्कमा डेरा जमाउन सफल बने । खुमन अहिले पनि थाकेका छैनन् । तीज, तिहारमा होस् वा लगनको महिनामा वा अन्य समयमा लोक कृतिसहित डिजिटल बजारमा पनि रमाइरहेका छन् ।

उनका पछिल्ला दुई लोकगीत बजारमा छन् । ‘राजकुमारी’ र ‘सानुकै अँगालो’ यी दुवै गीत माया पिरतीमा आधारित छन् । मेला महोत्सव धाइरहेका खुमनले चार वर्ष दोहोरी साँझमा पनि काम गरे । जहाँबाट उनी खारिएर व्यावसायिक गायनमा अघि बढे । उनले भने, ‘दोहोरी साँझ प्रत्यक्ष दोहोरी गायनका लागि सिकाइको विशेष थलो हो । त्यहीबाट संगीतको आधारभूत ज्ञानसमेत दिन सकिन्छ । मेरो आधार दोहोरी साँझ नै हो ।’

तीजमा उनी गायन र सृजना अलि बढी सक्रिय हुन्छन् । उनका दर्जनौ गीत दर्शक श्रोताले मन पराएका छन् । ‘आज त भेट्न आउँदिन है कालु’, ‘भँगेरी चरी’, ‘झुम्का लगाउँछु’, ‘झ्यालको पर्दा खोल’, ‘यो मान्छे चिन्छौ’, ‘अब होला केही’, ‘यत्तिकोले चल्छ’ लगायतका लोकभाका मन पराइएको छ । संख्यात्मक हिसाबले १० हजारभन्दा बढी गीत गाएका खुमन अब भने गुणस्तरीय गीत गाउन चाहन्छन् । उनी भन्छन्, ‘व्यावसायिक गायक भएकाले संख्याको हिसाबले हजारौं गीत गाए । अब गुणात्मक गीत गाउँछु । जबसम्म स्वरले साथ दिन्छ तबसम्म गीत गाइरहन्छु ।’

गाउँबाट गायक बन्ने सपना बोकेर काठमाडौँ छिरेका खुमन सुरुआती दिनमा निकै आत्तिए । उनी काठमाडौंमा टिक्न नसकेर चार पटकसम्म गाउँ फर्किए । जति पटक घर पुग्थे । त्यति पटक परिवारले काठमाडौं फर्काउथे । अन्ततः सघर्षले स्थापित लोकगायक बनायो । उनको काठमाडौंमा घर बनिसक्थ्यो । बाधक कोरोना भाइरस बन्यो । दुई वर्ष खाली हात बस्दा थप प्रगतिहरू अवरुद्ध भएको उनको भनाइ छ । ‘कोरोना नआएको भए राजधानीमा घर बनिसक्थ्यो होला ।’ उनले भने । खुमनका केही समकक्षी गायकले काठमाडौंमा स्थायी बसोबासको प्रबन्ध मिलाइसकेका छन् ।

‘कुनै बेला खुमनकै साथीहरूले स्वरलाई लिएर चल्दैन भन्थे । दुःख लाग्थ्यो । पछि यही स्वर बजारको माग बन्यो ।’ संघर्षका दिन सम्झँदै खुमनले भने, ‘बजारमा चलेपछि त्यो बेला होच्याउने सजर्कको पनि गीत गाएको छु । कुनै रिसइबी साधिनँ । किनकि, व्यावसायिकतामा त्यो राम्रो होइन जस्तो पनि लाग्यो । अर्को कोणबाट मुखले नभने पनि कुनै बेला चल्दैन भनेको स्वरको डिमान्ड हुनु नै सफलता ठाने ।’

लाइभ दोहोरीको फैलावटलाई गायक अधिकारी सकारात्मक रूपमा लिन्छन् । ‘व्यावसायिक हिसाबले पनि रेकर्ड गीत भन्दा पुरानो भाकामा गाइएको दोहोरीले भ्युज पाउनु र उत्पादनको हिसावले लगानी कम लाग्नुलाई राम्रो रूपमा लिनुपर्छ ।’ उनले थपे, ‘हिजो दोहोरीको मज्जा लिन कि दोहोरी साँझ धाउनुपथ्र्यो कि, मेला महोत्सवमा आयोजना हुने प्रतियोगगिता पर्खनुपथ्र्यो । अहिले घरमै बसेर दोहोरीको मज्जा लिन पाइएको छ । यो निकै खुसीको कुरा पनि हो ।’