देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस लुम्बिनीमा शाह दोस्रो वरीयतामा

देशान्तर

काठमाडौ – नेपाली कांग्रेस लुम्बिनीको अधिवेशनबाट सभापतिमा पराजित बनेका भरतकुमार शाह प्रदेश समितिको दोस्रो वरीयतामा रहेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर १८ गते भैरहवामा सम्पन्न प्रथम अधिवेशनबाट रोल्पाका अमर सिंह पुन सभापतिमा निर्वाचित हुँदा शाह पराजित बनेका थिए।

कांग्रेस लुम्बिनी प्रदेशको बिहीबार बसेको पहिलो कार्यसमिति बैठकले शाहलाई प्रदेश समितिको दोस्रो वरीयतामा राख्ने निर्णय गरेको हो।

शुक्रबार प्रदेश समितिको पहिलो बैठकका निर्णय जानकारी गराउँदै सभापति पुनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा एक जना विजयी हुँदा अर्को प्रतिस्पर्धी पराजित हुनु स्वभाविक भए पनि नेतृत्व चयन भएपछि सबैको सहकार्य र सहमतिबाट पार्टीलाई अगाडि बढाउन शाहलाई दोस्रो वरीयतामा राख्ने निर्णय गरिएको जानकारी दिए।

पुनका अनुसार निर्वाचनको बेला आ–आफ्ना समूह र गुट उपगुट भए पनि निर्वाचित भएपछि सभापतिको कुनै पनि गुटउपगुट हुनुहुँदैन, अब सबैले आन्तरिक प्रतिस्पर्धा त्यागेर पार्टीलाई सशक्त, स्वस्थ र पुनर्जागरण गर्नु जरूरी छ,’ ।

उनले प्रदेश समितिले पार्टीलाई सशक्त बनाउँदै लुम्बिनीको विकासमा सरकारसँगै रहेर काम गर्ने समेत बताए।

‘भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासको योजना अगाडि सार्नेछौं, लुम्बिनीसँगै प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनको लागि समेत ‘नेपाली कांग्रेस लुम्बिनीका ४ वर्षे विकास योजना’ अभियान सञ्चालन गर्नेछौं,’ उनको भनाइ थियो।

पुनले पछिल्लो समय युवामा राजनीतिप्रति वितृष्णा देखिएको अवस्थामा उनीहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम अगाडि सार्ने बताए।