देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो, चिसो बढ्यो

देशान्तर

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो पनि बढेको छ ।

बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ । तराईका जिल्लामा लागेको हस्सु र कुहिरो हट्न भने समय लाग्ने छ ।

बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो छ । हिउँदे वर्षा र हिमपातले चिसो झनै बढाएको छ । चिसो भगाउन आगो ताप्ने क्रम बढेको छ । हिटर जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, तातो पानीका लागि ग्याँस गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ ।

मन्त्रालयले सूचना निकालेर हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा ग्याँस गिजर प्रयोग गर्न आग्रह गरेको हो ।
मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न पनि अनुरोध गरेको छ ।

यसैबीच, बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।
भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी नहुँदा कुवेतबाट काठमाण्डौ आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा घुमिरहेका छन् । हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले जनाएको छ ।