देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीश जवराका परिवारको सम्पत्ति छानविन गर्न अनुसन्धान अधिकृत तोकिए

देशान्तर

सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न अनुसन्धान अधिकृत तोेकेको छ । विभागका उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको हो ।

जबराले अकुत सम्पत्ति आर्जन गरेको र कसुरजन्य गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन गर्न माग राख्दै आइतबार विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।

डा. गोविन्द केसीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाएका नागरिक अगुवाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्बद्ध कसुर मानेका गैरकानुनी गतिविधिमा जबरा संलग्न भएको आरोप लगाएका छन् ।

विभागले अहिले प्रधानन्यायाधीशका परिवारका सदस्य र सम्बद्ध व्यक्तिहरूमाथि अनुसन्धान र छानबिन गर्नेछ । पदमा छउन्जेल प्रधानन्यायाधीशमाथि भने विभागले छानबिन गर्न मिल्दैन ।

अनुसन्धान टोलीले प्रारम्भिक चरणमा सूचना संकलन गर्नेछ । यसबाट प्राप्त सूचनाका आधारमा परिवारका सदस्य, नातेदार तथा सम्बद्ध व्यक्तिहरूमाथि बयान हुनेछ ।

अनुसन्धानका लागि आवश्यक परे विभागले सम्पत्ति परिचालन तथा व्यवस्थापन हुने बैंक तथा वित्तीय संस्था, घरजग्गा, सुनचाँदीलगायतका क्षेत्र हेर्ने निकायहरूबाट सहयोग लिनेछ  ।

जबराले आफूसहित श्रीमती, भाइ, परिवारका अन्य सदस्य तथा नातेदारमार्फत बिचौलियाको काम गराएको, उनीहरूको नाममा सम्पत्ति लुकाएको र गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेकाले उनीमाथि छानबिन हुनुपर्ने नागरिक अगुवाहरूले माग गर्दै आएका छन् ।