देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखराबाटै गायनमा जमेका राजन

देशान्तर

काठमाडौं । पोखरामा पनि रेकर्डिङ स्टुडियो छ । एरेन्ज हुन्छ । भिडियो बन्छ तर अधिकांश कलाकारहरू गीत रेकर्डिङका लागि सकेसम्म काठमाडौं नै धाउँछन् ।

त्यसमध्येका एक गायक हुन्, राजन कार्की । उनको जन्म जिल्ला स्याङ्जा हो । पोखरा बसेर संगीत कर्म जारी राखेका उनी मोफसलबाटै रमाइराखेका छन् । ‘गीत रेकर्डिङ र भिडियो मेकिङको काम पोखरामा पनि हुन्छ तर अलि बढी नै आशा गरेको गीतलाई गुणस्तरीय दिउँ भन्ने लाग्छ, त्यसकारण पनि काठमाडौं नै धाउछु ।’ उनले भने ।

सुन्दरी नगरी पोखराबाट गायन र सिर्जनामा सक्रिय छन्, राजन । लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सचिवसमेत रहेका उनी लोक सिर्जनामै तल्लिन छन् । बेलाबखत आधुनिक सिर्जनामा पनि हात हाल्छन् । उनले संगीतबद्ध गरेको गीत ‘तिमीसँग नजर जुधाइ’ बोलको दोस्रो रेकर्डिङ डिजिटल बजारमा लोकप्रिय बन्दैछ ।

उनको संगीत यात्रा लोकगीतबाटै भएको हो । एसएलसीपछि अध्ययनका लागि काठमाडौं छिरेका राजन केही वर्ष मात्रै बसे । उस्लाई घरपायक पनि पर्ने सुन्दर सहर पोखराले तान्यो । २०६३–६४ सालतिर दोहोरी गीतको एल्बम ‘कस्लाई दिनु दोष’ सार्वजनिक गरेपछि पोखरा फर्केका राजनले पोखरा छोड्ने मन गरेका छैन । पोखरामै जरा गाडेर लोकसंगीतलाई पनि व्यापक बनाउने सुरमा देखिएका छन्, उनी ।

एल्बमको युगमै ‘आँसु नझार’, ‘धानको बाला’जस्ता लोकप्रिय गीत गाएका उनले डिजिटल युगमा ‘पान खायो मायाले’, ‘सुर्ती माडेर’, ‘खोलीमा माछी’लगायतका गीत लोकप्रिय बने । पछिल्लो समय आफ्नै युट्युबबाट सिर्जनाको व्यापार तल्लीन राजन सिर्जनामा पनि उत्तिकै सक्रिय छन् । भेटमा उनले भने, ‘आफ्ना सिर्जना आफैंसँग राखुँ भन्ने लाग्यो र अहिले धेरथोर जति आम्दानी भए पनि आफ्नै पोल्टामा पर्ने भएकाले युट्युब खोलेर आफ्ना सिर्जना अपलोड गर्छु । लगानी र सिर्जना अरूलाई निःशुल्क सुम्पिनुभन्दा आफैंसँग रहनु राम्रो हो ।’ भर्खरै उनले गायिका मेलिना राईसँग नयाँ गीत रेकर्ड गराएका छन् ।

उनी गायक मात्र होइन्, कुशल प्रस्तोता पनि हुन् । लामो समय पोखराका विभिन्न रेडियोमा लोकसञ्चारकर्मीको रूपमा पनि सक्रिय बने । अहिले संगीत टिचर हुन् । मेला महोत्सबमा व्यस्त जीवनलाई सम्हाल्दै उनले संगीत सिकाउँछन् पनि । उनी संगीतबाट सन्तुष्ट मिलेको बताउँछन् । उनी भन्छन्, ‘सबैकुरा संगीतबाटै मिलेको छ भने खुसी नहुने त कुरै भएन् । यही संगीतमा रमाएको छु । धेरथोर कमाएको छु । अन्य क्षेत्रमा मन डुलाएको छैन ।’ संगीतले नै नाम र दाम दिएको राजनले बताए । उनले थपे, ‘नाम र दाम बनाएको छु । आफू र परिवारको खर्च धान्नका लागि पुर्पुरो समाउन परेको छैन ।’

अहिले गीत चलाउन सक्ने हो भने आम्दानी राम्रो छ । डिजिटल बजारमा गीतकै व्यापार र व्यवसायबाट धेरै कलाकार सम्पन्न बनेको राजनको बुझाइ छ । ‘जुन क्षेत्रमा लागिन्छ, त्यो क्षेत्रमा विश्राम लिनु हुँदैन । निरन्तरता दिइराख्न सक्नुपर्छ । एउटामा असफलता पाउनेबित्तिकै पछि हट्ने हो भने त्यो व्यक्तिले सफलता के हो ? महसुस गर्नै पाउँदैन् ।’ उनले भने । उनले आफ्नो टर्निङ प्वाइन्टको रूपमा ‘पान खायो मायाले’ गीतलाई लिन्छन् । त्यो गीतको सफलतापछि नै उनी ब्याक टु ब्याक गीत गायनमा तल्लीन छन् ।

राजनको लागि पोखरा लक्की सावित पनि भएको छ । उनले पनि त्यो कुराको महसुस गरेका छन् । पोखरा गएपछि मेरो सांगीतिक पाइला लम्किए । काठमाडौंमा बसेर गरेको कोसिस आधारशिला बने । ‘मलाई पोखराले तान्यो । मोफसलमै बसेर पढाइ र गीतसंगीत पनि अघि बढाउँछु भन्ने लागेर काठमाडौंबाट पोखरा फर्केको हुँ ।’ उनले भने ।

परिवारको सपना फरक थियो । दुई दाजुभाइलाई परिवारले अफिसर र डाक्टर भइदिओस् भन्ने चाहन्थ्यो । तर भयो, उल्टो । राजन गायक बने । राजनका दाइ शिक्षक बने । ‘चाहेजस्तो नहुँदो रहेछ तर हामी सन्तुष्ट छौं । परिवार खुसी छ ।’ उनले भने । बढीजसो माया पिरतीमा आधारित गीत गाएका राजनले एउटा आमाप्रति समर्पित गीत गाएका छन् । जुन गीत गाएको कार्यक्रम स्तब्ध हुने गर्दछ । उनले ‘आँसु नझार’, ‘धानको बाला’जस्ता परदेशी नेपालीको पीडामा गीत गाएका छन् ।

गायक राजन राजनीतिमा रुचि नभएको बताउँछन् । पछिल्लो समय कलाकारको राजनीतिमा रुचि देखिन्छ, तपाईंलाई रुचि छैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म त कलाकार पार्टी हुँ । होला व्यक्तिपिच्छे फरक चाहना, गन्तव्य हुन्छ । त्यसकारणले राजनीतिमा चाह राख्ने साथीहरू विभिन्न तवरले सक्रिय हुनुहुन्छ । त्यसलाई अन्यथा पनि लिनु हुँदैन तर मलाई राजनीतिमा रुचि छैन । संगीतमै फरक गर्न सकुँ भन्ने नै लाग्छ । कलाकार राजनीतिमा लाग्दैमा गलत दृष्टिकोण बनाइहाल्नुपर्ने अवस्था नभएको राजनले बताए ।