देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वासुदेवकी ‘दुलही’को सौन्दर्यमा रमाउँदा

देशान्तर

वासुदेव पाण्डेय पेसाले प्राध्यापन गर्छन्, रुचिले साहित्य सिर्जना गर्छन्, समालोचना लेख्छन् । बैतडीको पाटनमा जन्मे÷हुर्केका पाण्डे सुर्खेतमा बसेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढाउँछन् । कविता र गजल उनको लेखनकाप्रिय विधा हुन् ।

‘गजलका फाँकीहरू’ (संयुक्त), ‘आगमन’ २ वटा गजलकृति, ‘छन्द र अलंकारः सिद्धान्त र प्रयोग’लगायत कृति प्रकाशन गरिसकेका पाण्डेयले भर्खरै ‘दुलही’ छन्दकविताकृति बजारमा ल्याएका छन् । झन्डै दर्जन पुरस्कार र सम्मानका हकदार बनिसकेका पाण्डेयको पछिल्लो कृति ‘दुलही’बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ यहाँ ।

‘दुलही’ प्रकृतिपरक छन्दकविताहरूको संकलन हो । यस कृतिभित्र ६४ वटा कविता संग्रृहीत छन् । सबैजसो कविता प्रकृति र मानवबीचको तादात्म्यमा सम्बन्धित छन् ।

हुन त कवितामा देश, समाज, मानवीय चरित्र, प्राकृतिक विपद्, राजनीति आदि पनि विषय बनेर आएका छन् तर ती अन्ततः प्रकृतिकै सेरोफेरोमा रहेका छन् । अनुपम प्रकृतिका विभिन्न रूप र परिवेशलाई कलात्मक पाराले कवितामा उनेका छन् कविले ।

वेदी बन्छन् अनुपम कला पोतिएका बगैँचा
धर्ती ढाक्ने हरित तृण छन् लोभलाग्दा गलैँचा
थुम्का बन्छन् घट कलशझैँ यज्ञका विघ्नहर्ता
यो धर्ती नै शुभ–लगनको लाग्छ हर्ता र कर्ता ।
(प्रकृति दुलही, पृ. १)

हाम्रो परिवेशको पर्यावरण–प्रकृतिको कति सुन्दर र सुललित वर्णन छ कृतिका कवितामा । शास्त्रीय छन्दलाई होसियारी र सावधानीपूर्वक परिष्कृत तवरले प्रयोग गर्न सिपालु पाण्डेयका कविता पढ्दै जाँदा नेपालकै सुरम्य हिमाल, पहाड र तराईका सुन्दर स्थानमा पुगेको आभास हुन्छ ।

लागे देखिन शैल पूर्ण हँसिला आकाश झन् निर्मल
टाढा जान हतार गर्छ किन हो टुक्रा भई बादल
खोला मात्र रहेछ उग्र खहरे सिद्धिन्छ सुक्दै जल
गाइन्छन् नवगीत प्रेमरसका बज्छन् सयौँ मादल ।

एउटा छोटो पद्यमा सम्पूर्ण प्राकृतिक सौन्दर्यको वर्णन गर्न सक्ने विशिष्ट खुबी, त्यो पनि छन्दमय तरिकाले, पाण्डेयको लोभलाग्दो प्रतिभा हो ।

प्रकृतिका विविध सौन्दर्यहरू ः रूख, वन–जंगल, तरु–लतिका, पाखा–पर्वत, नदी–खोला, फूल–चरा आदिलाई छन्दमा उन्दै सलल बग्ने गरी मानवीकरण गर्दै प्रकृतिप्रतिको प्रेम र चिन्ता प्रकट गरेका छन् कविले ।

फुल्दा लाल गुराँस रक्त रङमा भो ‘बेहुली’झैँ वन
चित्ताकर्षक शैल, ताल, झरना लठ्ठाउँछन् यो मन
उस्तै छन् हिमशैल सुन्दर, सफा, अग्ला तथा मोहक
कस्तूरी मृगको सुगन्ध वनमा फैलिन्छ हावासँग ।
(प्रकृतिको लीला, पृ. ८)

कविलाई यति सुन्दर प्रकृतिमा मान्छेकै कारण बढ्दै गएको अराजकता, प्रकृति विनाशको खतरा, प्राकृतिक सौन्दर्यमा हुँदै गएको ह्रास आदिप्रति ठूलो चिन्ता छ ।

कविले प्रकृतिका अनेक रङ र भावभंगीमा काव्यमा जोड्दै कति सुन्दर र बिम्बात्मक ढंगले मानिसबीच सद्भावको, विभिन्न समुदायबीच एकताको र सुन्दर अनि शान्त देशको कामना गरेका छन् !

एक्लै भए रङ हुँदैन बढी प्रभाव
संयुक्त सप्तरङ छोड्छ विशेष छाप
देखिन्छ ‘इन्द्रधनु’मा रङको कमाल
हो ‘रत्न’ यो मुलुक होस् गरी समाल ।
(एकता, पृ. २५)

कुनै कुनै कवितामा देशको चिन्ता निकै तीब्र बनेर आएको छ । ‘राष्ट्र र राष्ट्रझन्डा’ शीर्षकको यो कविताका यी पंक्ति हेरौँ त–
गोर्खाली पहिचान धूमिल हुने दुष्कर्म बढ्दै गए
सिंगो वस्तु हुनेछ काम नदिने त्यो भित्र सड्दै गए
सारा एक भएर साहस गरे के हुन्न खै संभव
मान्छे छुन्छ उडेर चन्द्र सजिलै गन्तव्य ठान्छन् जब ।
(राष्ट्र र राष्ट्रझन्डा, पृ. २६)

सुन्दर, शान्त र सौम्य देश नेपाल, प्राकृतिक सौन्दर्यले सिँगारिएको देश नेपालमाथि परचक्रीका गिद्दे नजर सदैव परिरहेका छन् । सिमानामा छिमेकीले लुछिरहेको माटो र त्यसका कारण दशगजामा लागेको चोट क्रमशः विकराल क्यान्सर बन्दै गएकामा कविलाई चिन्ता छ ।

छानो हो हिमशैल, पर्वत तला, भन्ज्याङ हुन् बार्दली
साझा आँगन हो मधेस सबको आएर खेल्ने थली
लाग्ने रक्त नदी, शिरा र धमनी सञ्जाल बाटा सब
लागि ‘क्यान्सर’ घाइते दशगजा तंग्रिन्न होला अब ।

यस्ता अनेक विषय र भावका कविताहरू सँगालिएको ‘दुलही’का कविता विविध शास्त्रीय छन्दमा रचिएका छन् । छोटा, मध्यम र लामा छन्दको समेत प्रयोग गरिएको छ यसमा । भुजंगप्रयात्, शिखरिणी, मन्दाक्रान्ता, अनुष्टुप, शार्दूलबिक्रीडितलगायतका लोकप्रिय र प्रचलित छन्दको बाहुल्य रहेको ‘दुलही’ छन्दकविताप्रेमीको प्रिय कृति बन्न सक्छ । सम्पादन हाउसले प्रकाशन गरेको ‘दुलही’को मूल्य १५० रुपैयाँ छ ।