देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खोटाङबाट उदाएकी भर्सटायल गायिका

देशान्तर

खोटाङमा जन्मेकी हुन्, गायिका बबिना किराँती । फरक स्वादको स्वर लिएर गायनमा होमिएको धेरै वर्ष भएको छैन । उनको स्वरको क्वालिटी र गायक स्टायललाई धेरैले मन पराएका छन् । अचेल उनी दिनहुँ झैँ रेकर्डिङमै व्यस्त हुन्छिन् । उनको स्टुडियो धाउँदैमा दिन जान्छ ।
हक्की स्वभावकी बबिना एकपछि अर्को सफलताको सिँढी चढ्दैछिन् । उनलाई ‘माथि माथि हिमाली भेग’बोलको गीतले सफलता दिलायो । बजारमा पठाएको झन्डै एक वर्षपछि उक्त गीतको एउटा अंश ‘चरी भए भुरुरु जान्थे उडेर’ टिकटककर्ताको रोजाइ परेपछि युट्युबमा खोजी हुन थाल्यो । केही लाखमा अल्झिएको भ्युजलाई ह्वात्तै बढायो । अहिले उक्त गीतलाई २० लाख दर्शकले नजर लगाएका छन् । जुन गीतको सिर्जना डीआर अटुले गरेका थिए ।
गायिका बबिनाले पश्चिमेली प्याटनको गीत पनि गाएकी छिन् । उनले स्वर दिएको ‘भण्डारीको गोठ’लाई पनि दर्शकले मन पराएका छन् । आधुनिक, लोकपप, दोहोरी जनराको गीतलाई न्याय गर्न सक्ने उनले पाएको पछिल्लो गीत ‘लाहुर जाने लाहुरे’ डिजिटल बजारमा छ । जुन गीत अमेरिका बसोबास गर्दै आएका गौतम सागर राईको सिर्जना हो ।
गायिका बबिना कीर्तिमानी गायिका पनि हुन् । अघिल्लो वर्ष विश्वकै अग्लो स्थानमा रेकर्ड र छायांकन गरिएको म्युजिक भिडियोमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल गीत ‘गोक्यो री’मा पनि उनको स्वर रेकर्ड छ । जुन गीत ४,८१४ मिटर उचाइमा सोलुखुम्बुमा अवस्थित गोक्यो तालको समीपमा पुगेर लाइभ रेकर्ड तथा खिचिएको थियो । उनै गायिकासँग सहकर्मी शिखरजंग श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

पछिल्लो रिलिज गीत कुन हो ?
‘लाहुर जाने लाहरे’ हो । जुन गीतमा गौतमसागर राईको शब्द र संगीत छ । उहाँ अमेरिकामा बस्नुहुन्छ । घर त सोलुखुम्बु हो ।

सहकार्यको वातावरण कसरी जुट्यो ?
पहिले पनि ‘मायाले बोलायो’ भन्ने गीत गरेका थियौँ । त्यो गीतमा मणिराज बस्नेतको शब्द र गौतमसागर राईको संगीत रहेको थियो । त्यहीबेला फेरिफेरि पनि सहकार्य गर्नुपर्छ है भन्ने कुरा चलेको थियो । केही महिनापछि फेरि ‘लाहुर जाने लाहुरे’ गाउन पाएँ । खुसी छु । मलाई माया गरेर सम्झनु भयो । उहाँहरूलाई धन्यवाद ।

कोभिडले कस्तो प्रभाव पार्‍यो ?
पक्कै पनि कोभिडले सबै क्षेत्रलाई प्रभाव पार्‍यो नै । तर गीतसंगीत खास प्रभावित भएन । स्टेजको कार्यक्रम ठप्प भए पनि गायकगायिकालाई स्टुडियोको काम जेनतेन भई नै राख्यो । जस्ले गर्दा हामीजस्तो कलाकारलाई काठमाडौंमा बाँच्न सहयोग पुग्यो । यो बीचमा विदेशमा रहने नेपालीहरू, जसलाई गीत संगीतप्रति मोह छ । उहाँहरूको गीत, संगीत गाउने काम चलिरह्यो । उहाँको प्रोजेक्टले नेपालमा हामीलाई बचाउन सहयोग गर्‍यो । खासगरी विदेशमा मानिस रहरले काम गर्नका लागि जाँदैनन् होला । घरपरिवारसँग टाढा बस्दा मनका भावनाहरू गीत बन्दो रहेछ । रेकर्ड गराउन न भन्ने सोच आउँदो रैछ । त्यसरी रेकर्ड हुने गीत बाक्लो छ ।

यसो भन्न सकिन्छ, प्रवासी नेपालीको लगानीले गायकगायिकाको रोजीरोटी चलेको छ ?

हो नि । यो त प्रायः गायकगायिकालाई महसुस पनि भएको होला । प्रवासी नेपालीको लगानीबाट संगीत बजार गतिशील बनेको छ । नत्र भने नेपालमा रहनेको लगानीले संगीत क्षेत्र यति गतिशील बन्न सक्थेन होला कि ? हिजो भन्ने गरिन्थ्यो नि कलाकारलाई बाँच्न गाह्रो छ । अहिले निकै सहज बन्दै गएको छ । त्यसमा प्रवासी नेपाली लगानीकर्ताको ठूलो हात छ । कतिले बुझेर लगानी गर्नुभएको छ, कतिले लहैलहैमा लगानी गर्नुभएको छ । त्यो फरक विषय होला । उहाँको लगानी गर्दा नेपालमा धेरै कलाकर्मी, प्राविधिकको पेट पालिएको छ ।

पारिवारिक सहयोग, समर्थन कस्तो छ ?
पारिवारिक सहयोग छैन भने त म कहाँ यहाँ हुन्थे र । गर्नुहुन्छ । सफलताको गन्तव्य भेट्नका लागि व्यक्तिले कति संघर्ष गर्छ ? भन्ने होला तर त्यो संघर्षको लागि ब्याक सपोर्ट त परिवारकै चाहिन्छ । मैले गीत गाउँछु भन्ने थाहा पाएपछि आफन्त र गाउँलेले थप हौसला दिनुभएको छ । त्यसैले त संघर्ष गरिरहेकै छु । जीवनयात्रामा कहिलेकाहीँ विचलित पनि हुन पुगिन्छ । त्यसबेला हरेश खानुहुदैन् । हिम्मतसहित अघि बढियो भने सफलताको स्वाद चाख्न पाइन्छ भन्ने मेरो भोगाइ र बुझाइ हो ।

गीतसंगीतको अधिकांश लगानी डुब्ने परिस्थिति छ नि ? के भन्नुहुन्छ ।
यो लगानीकर्तामा भरपर्ने कुरा भो । उस्ले के सोचेर लगानी गर्दैछ । आत्मसन्तुष्टि मात्र सोचेको छ की कि वा धेरैथोर लगानी रिटर्न पनि होस् भन्ने छ कि । उस्ले संगीत क्षेत्रको वर्तमान अवस्था कति बुझेको छ । यस्मा पनि भर पर्ने भयो । अन्धाधुन्ध लगानी त डुब्ने नै भो । बुझेर, सिर्जनाको गुणस्तर, टिम हेरेर काम गर्दा रिटर्न हुने अवस्था पनि छ । कतिपय निर्माताहरू लगानी फिर्ता गरेर कमाइ पनि रहेका छन् । पूरै नराम्रो भन्ने पनि होइन । सकारात्मक पाटो पनि छ । भलै, लगानीको पूरापूर सुरक्षा छैन । अहिले अधिकांश मानिस रहर पूरा गर्नका लागि संगीतमा लगानी गरिरहेका छन् । नेपालमा हुँदा पूरा गर्न नसकेको रहर विदेश गएपछि पूरा गर्नेहरू धेरै छन् । विदेशमा नेपालमा भन्दा अलि बढी कमाइन्छ । धेरथोर बचाइन्छ पनि । त्यसैले पनि मनोरञ्जनको क्षेत्रमा लगानी गर्न तयार हुन्छन् । लगानीकर्तालाई निकै विचार गरेर काम गर्न मैलै सुझाव दिँदै आएको छु ।

तपाईंले गाएको एउटा गीतले विश्व रेकर्ड पनि कायम गरेको छ नि ?
हो । विश्वकै अग्लो स्थान ४,८१४ मिटर उचाइमा सोलुखुम्बुमा अवस्थित गोक्यो तालको समीपमा पुगेर लाइभ गीत रेकर्ड गरेर भिडियो पनि खिचेका थियौँ । सोही गीत र भिडियोले विश्वकै अग्लो स्थानमा छायांकन गरिएको भिडियोको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा कीर्तिमानी कायम गरेको थियो । गीतको बोल ‘गोक्यो री’ हो । जुन गीतमा मिलन किराँतीको शब्द, विक्रम राईको संगीत रहेको छ । मैले गाएको छु । यो मेरो जीवनको अविस्मरणीय र महत्वपूर्ण प्रोजेक्ट हो । यस्ले मलाई मात्र होइन, मेरो साथी सञ्च राईले नेतृत्व गरेको टिमले कीर्तिमानी काम सफल भएका थियो । ‘गोक्यो री’ बोलको गीतले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउँछ र यो रेकर्डले नेपालको परिचयमा एउटा इँटा थपेको छ भन्ने मलाई लाग्छ । त्यो प्रोजेक्टमा गोक्यो पुगेर फर्कंदाको रमाइलो र कष्टप्रद दुवै अनुभव छ । यो कामबाट म सन्तुष्ट छु ।