देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस २ देखि आयोजना हुने

देशान्तर

चितवन – उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए ।

प्रदर्शनी सम्पन्न गर्न रु दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उनको भनाइ थियो । उनले भने , “प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।” यसबाट चितवन उद्योग सङ्घलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उनको भनाइ छ । यसपटकको प्रदर्शनीबाट रु पाँच देखि सात लाखसम्म मात्र बचत हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।