देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वित्तीय बजारमा समस्या पार्ने कानुन सच्याउन आफु तयार रहेको अर्थमन्त्री शर्माको भनाई

देशान्तर

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिएका छन्।

महिनौँदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानुनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने विश्वास दिलाए।

नेपाल उद्योग वणिज्य महासंघद्वारा आज राजधानीमा आयोजित ‘नवउत्थान सम्मेलन’लाई सम्बोधन गर्दै उनले भने, वित्तीय बजारमा कतै सरकारको नीतिले अफ्ठेरो पारेको छ भने सिधै भन्नुहोस्, राष्ट्र बैंकमा प्रतिनिधि पनि हुनुहुन्छ, यहीँ समाधान गर्ने गरी हामी निर्णय गर्न तयार छौँ।

पोष्ट–कोभिडको बदलिँदो परिस्थितिमा तीव्र र दीगो आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर महासंघले आज उक्त बहस चलाएको हो। सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनका लागि सरकारमा समेत बुझाइने महासंघघले जनाएको छ।

अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठूलो प्रभाव पर्नसक्ने अवस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले स्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पुर्‍याउनुपर्ने बताए। उनले आफ्नो आवश्यकता, क्षमता र सम्भव प्रतिष्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिए।