देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशीले पनि हाले कांग्रेस महाधिवेशनमा भोट

देशान्तर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा विदेशी नागरिकले पनि भोट हालेको पाइएको छ ।

विभिन्न देशका जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि भएर आएकाहरुले भोट हालेका हुन् । उनीहरु प्रतिनिधि भएर आउँदा नै नेपालको संविधान उल्लंघन गरेका छन् ।

विदेशी नागरिकता लिइसकेका व्यक्तिहरु प्रतिनिधि भएर आएका छन् । निर्वाचन समितिले पासपोर्ट हेरेर मतदानमा सहभागी गराउने निर्णय गरेको थियो । देउवाको भित्रिरुपमा जनसम्पर्क हेर्ने जिम्मा पाएका महामन्त्रीका उम्मेदवार डा. प्रकाशसरण महतले निर्वाचन समितिलाई जुन सूची आएको छ त्यही अनुसार गर्नु भन्ने निर्देशन दिएका थिए ।

जसका कारण अमेरिका, बेलायत र अस्ट्रेलियाबाट उतैको नागरिकता लिएकाहरुले १४ औं महाधिवेशनमा भोट हाल्न सफल भएका हुन् ।

नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समितिले जनसम्पर्क समितिको सभापति र महाधिवेशन प्रतिनिधि नेपाली नागरिक मात्र आउन पाउने निर्णय सर्वसम्मतरुपमा गरेको थियो । केन्द्रीय समितको निर्णय अनुसार निर्वाचन समितिले पासपोर्ट हेर्न खोजे पनि महामन्त्रीका उम्मेदवारसमेत रहेका महतको हस्तक्षेपका कारण निर्वाचन समिति निरिह देखिएको छ ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अमेरिकी, बेलायती र अस्ट्रेलियन पासपोर्टधारीहरुले मतदानमा भाग लिएका छन् । अमेरिकाका विश्व वास्तोला र सुवाश लामा बेलायतका युवराज गुरुङ र योगेन क्षेत्री लगाएत २५ जना बढीले निर्वाचनमा मतदान गरेका छन् ।

निर्वाचन समितिको लाचारीपन देखेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका उम्मेदवार अर्जुननरसिंह केसीले पनि आपत्ति जनाएका थिए । उनले निर्वाचन समितिलाई ‘हात्तीको देखाउने दाँत’को संज्ञा दिँदै ‘चपाउने दाँत’ संस्थापन पक्ष नै रहेको टिप्पणी गरेका थिए ।