देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिबन्ध हटाए मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्छौँ : इरान

देशान्तर

काठमाडौँ – आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएमात्रै इरानले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ । इरानका वरिष्ठ नेता अली सालेजेगाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण मुलुकको ऊर्जालगायतका विभिन्न क्षेत्रको विकासमा बाधा पुगेको बताएका छन् ।

इरान कार्बन उत्सर्जन गर्ने विश्वकै आठौं ठूलो मुलुक हो । तर पेरिस सम्झौतामा हस्ताक्षर नगर्ने कम मुलुकमा इरान पनि पर्छ । पेरिस सम्झौतामा १९२ मुलुकले हस्ताक्षर गरेका छन् भने १९७ मुलुकले कुनै न कुनै रूपमा सहमति जनाएका छन् ।

पछिल्ला वर्षमा इरानको ऊर्जा क्षेत्रमा विदेशी लगानीमा कमी आएको छ । त्यसैले पनि इरानमा कार्बन उत्सर्जन बढेको बताइएको छ । पछिल्लो समय इरान आफै पनि जलवायु संकटको समस्या झेलिरहेको छ । इरानमा पानी कम पर्ने र नदीको सतह घट्ने समस्या देखिन थालेको छ । पानीको समस्या निम्तिनुमा इरान आफै जिम्मेवार भएको पनि आरोप लाग्ने गरेको छ । इरानमा लाखौं कुवा खनिएको र कम्तीमा पनि ७ सय बाँध निर्माण गरिएकाले पानीको संकट निम्तिएको विज्ञहरूको आरोप छ ।

स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ सम्मलेनमा इरानका राष्ट्रपति इब्राहिम राइसी सहभागी भएनन् । इरानबाट गएको एक प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय प्रतिबन्धमा राहत दिन अपिलसमेत गरेको छ ।

इरानमा कार्बन उत्सर्जन बढी हुनुको प्रमुख कारण अत्यधिक कच्चा तेल उत्पादन हुनु हो । यसअघि इरानले आफूमाथिको प्रतिबन्ध हटाए कार्बन उत्सर्जन कम गर्ने बताएको थियो । सन् २०१५ पछि इरानले कार्बन उत्सर्जन कम गर्नेसम्बन्धी कुनै योजना सार्वजनिक गरेको छैन ।

सन् २०५० सम्म इरानमा ५० प्रतिशतले कार्बन उत्सर्जन बढ्ने आकलन गरिएको छ ।