देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोप–२६ : हिमाली क्षेत्रको अर्थतन्त्र सुधारमा काम गर्न विश्व समुदाय सहमत

देशान्तर

काठमाण्डौ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर कम गर्न विश्व समुदाय सहमत भएको छ । स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को प्राविधिक सत्रमा हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा अर्थतन्त्रको सुधारमा काम गर्ने सहमति भएको हो ।

प्राविधिक सत्रमा हिन्दकुश क्षेत्रको थप अध्ययन, अनुसन्धान गर्दै अर्थव्यवस्था तथा सम्भावनाबारे कार्यक्रम सञ्चालन गर्नका लागि विश्व समुदाय सहमत भएसँगै बेलायतले आफ्नो आर्थिक सहयोगको घोषणा पनि गरेको छ । बेलायत सरकारले २५० मिलियन अमेरिकी डलर आर्थिक सहायता दिने प्रतिबद्धता व्यक्त गरेको हो ।

त्यसैगरी, अमेरिकाले हिमाली क्षेत्रका देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गएको कात्तिक १४ गतेदेखि सुरु भएको सम्मेलनमा अरु देशले पनि सहयोगको प्रतिबद्धता गर्ने क्रम जारी छ । पहिलो चरणको राजनीतिक सम्मेलनको सम्बोधनका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व समुदायले साझा विषय बनाउनुपर्ने बताएका थिए ।

सम्मेलनको दोस्रो चरणको प्राविधिक समिति बैठकमा पनि नेपालले आफ्नो अडान निरन्तर राखेपछि नेपालले उठाएको विषयलाई प्राविधिक समितिले निर्णायार्थ प्रस्तुत गरेको सम्मेलनमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले बताए ।

यो सहमतिले नेपाल लगायतका हिमाली देशले विभिन्न सङ्घ÷संस्थासँग समन्वय गरेर काम गर्न सक्ने बाटो खुलेको छ ।