देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए चुनावः बाजी मार्दै कुल आचार्य, बद्रि केसी अनियमिततामा मुछिए

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को दशौं महाधिवेशन नजिकिँदै गर्दा संसारभर फैलिएका नेपालीहरुलाई चुनावी रौनकले छाएको छ । महाधिवेशनले आगामी कार्यकाल २०२१–२०२३ का लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी जोड–घटाउ शुरु भएको छ । तर संस्थापन पक्ष (अध्यक्ष कुमार पन्त) कमजोर हुँदै गइरहेको अवस्थामा महाधिवेशन सार्ने/स्थगित गर्ने षडयन्त्र र प्रपञ्चमा लागेको देशान्तरलाई जानकारी प्राप्त भएको छ । संसारभरिका लोकतन्त्रवादी एउटै खेमामा गोलबद्ध हुने संभावना बढ्दै गएपछि यसो हुन लागेको बुझिएको छ । यसअघि यसरी लोकतन्त्रवादीहरु एकजुट नहुँदा सधैं संस्थापन पक्षले फाइदा उठाउँदै आएको देखिन्छ ।

संघको नेतृत्वका लागि तीन उम्मेदवारले उम्मेदवारी पेश गर्ने देखिएको छ । संघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्य र संघका उपाध्यक्षद्वय बद्रि केसी र रविना थापा अध्यक्षको दौडमा छन् । तर अमेरिका निवासी रविना थापा पनि लोकतन्त्रवादीहरुकै सहयोगमा मैदानमा उत्रिएकोले अन्तिममा उनले महिला उपाध्यक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना बढ्दै गएको छ । उनका समर्थकहरुमा नै यसपटक विश्वभरि छरिएर बसेका लोकतन्त्रवादीको एउटामात्र उम्मेदवार हुनुपर्छ भन्ने भावना बढ्दै गएकोले उपाध्यक्षमा चित्त बुझाउने सम्भावना देखिन्छ ।

दुई वर्ष अघि सम्पन्न संघको नवौं महाधिवेशनमा झिनो मतान्तरले पछि परेका आचार्य यसपटक भने उत्साहित छन् । कमजोर प्रतिस्पर्धी र बलियो समर्थन प्राप्त हुँदा आचार्य यसपटक संघको अध्यक्षमा निर्वाचित हुने निश्चित जस्तै छ । साथै हालका उपाध्यक्ष बद्रि केसी प्रष्टरुपमा बामपन्थी पृष्ठभूमि भएका व्यक्ति हुन् । र उनले आफूलाई बामपन्थी खेमाको समर्थन रहेको बताउँदै आएका छन् । त्यसैले यसपटक झुक्किएर पनि लोकतन्त्रवादीहरु विभाजित हुने अवस्था छैन । हालाकि, केसीले आफू शुद्ध व्यवसायी र एनआरएन अभियन्ता भनी सञ्चारमाध्यमहरुमा मतदाताहरुलाई झुक्याउन खोजि रहेका छन् । शुरुमा उनको समूहबाट उम्मेदवार बन्ने घोषणा गरेका लोकतन्त्रवादी पृष्ठभूमिका पदाधिकारी उम्मेदवारहरु कुल आचार्य समूहमा खुलिसकेका छन् ।

संघको विभिन्न निकाय, तह र पदमा बसेर काम गरिसकेका आचार्य सबैभन्दा अनुभवी अभियन्ता समेत हुन् । १० असोजमा काठमाडौंमा विशेष कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका आचार्यले संघलाई विधि र पद्दतिसम्मत सञ्चालन गर्दै पारदर्शी बनाउने घोषणा गरेका छन् ।

पर्वत धाइरिङमा २०२९ सालमा जन्मेका आचार्य विगत २२ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका छन् । उनी बेलायतका स्थापित व्यवसायी र समाजसेवी हुन् । एनसीसी बेलायतको सदस्यबाट एनआरएन यात्रा सुरु गरेका आचार्यले बेलायतको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रीय संयोजक, आइसीसी उपाध्यक्ष हुँदैै सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन् ।

संस्थागत सुधार र पारदर्शिताको मुद्दा अघि सारेका आचार्यले गैरआवासीय नेपाली नागरिकता र सम्पत्तिको हक कार्यान्वयनका लागि परिणाममुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आन्तरिक विवाद र केही पदाधिकारीहरुको व्यक्तिगत स्वार्थका कारण खस्किएको संघको साख र मर्यादा बढाउन विशेष अभियान नै सन्चालन गर्ने आचार्यको योजना छ । व्यक्तिगत इच्छा हाबी हुँदा संस्थाको मर्यादामा कमी आएको देखिएको छ, संस्थाको उद्देश्य अनुसार काम गरेर गिरेको साखलाई पुनस्थापना गर्ने छु, उनले भनेका छन् ।

आचार्यले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन तथा प्रवासमा रहेका नेपालीहरुको पूँजी, ज्ञान र सीपलाई नेपालको समृद्धिमा समाहित गर्ने योजना ल्याउने पनि बताएका छन् ।

आगामी दुई वर्षमा कम्तीमा पाँच लाख सदस्य पुर्‍याउने र एक सय वटा देशमा एनसीसी स्थापना गर्ने आचार्यको योजना छ । आचार्यले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि नेपाल सरकारसहित श्रम गन्तव्य मुलुकसँग पनि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोभिड महामारीका कारण विदेशमा रोजगारी गुमाएर नेपाल फर्केकाहरुलाई स्वरोजगारमुलक व्यवसाय सन्चालन गर्न सघाउने तथा विदेश जान चाहनेहरुका लागि आवश्यक तालिम र अभिमूखीकरण लगायतका कार्यक्रम सन्चालन गर्ने पनि आचार्यको योजना छ ।

नेपालको पर्यटन प्रवद्र्धन, विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई नेपालसँग जोड्ने तथा नेपालको कला, भाषा र संस्कृतिको संसारभर प्रचार गर्न पनि उनले आवश्यक काम गर्ने स्पष्ट पारेका छन् ।

बेलायतमा लामो समयदेखि कायम रहेको गोर्खा सैनिकको मुद्दा, खाडी क्षेत्रमा रहेको श्रमको समस्या, जापान, अष्ट्रेलिया, यूरोप र अमेरिकामा रहेका विद्यार्थीको समस्या लगायतका विषयमा आफू जानकार रहेको बताउँदै ती समस्या समाधानका लागि आवश्यक पहल गर्ने पनि आचार्यले बताएका छन् ।

नेपाली मुलका विदेशी नागरिकहरुलाई नेपालसँग जोड्ने योजना पनि आचार्यले अघि सारेका छन् । पिपुल अफ नेपाली ओरिजिन(पिएनओ) अवधारणा अघि सार्दै उनीहरुलाई पिएनओ कार्ड उपलब्ध गराउने र नेपालको विकासमा सहभागी गराउन सकिने उनको अवधारणा रहेको छ । खेलकुद क्षेत्रको विकासका लागि एनआरएनए खेलकुद प्रतिष्ठान नै स्थापना गर्ने आचार्यले घोषणा गरेका छन् ।

तथ्यपरक एजेण्डा, योजना र अवधारणा अघि सारेका आचार्य आसन्न निर्वाचनको संभावित नतिजाप्रति उत्साहित छन् । अधिकांश एनसीसीहरुले संस्थागत रुपमा आफ्नो उम्मेदवारीलाई समर्थन गरेको र महाधिवेशन प्रतिनिधिहरुले शुभकामना दिएको उनले बताएका छन् ।

नेपाली कांग्रेससहित वर्तमान सत्ता गठबन्धनमा आबद्ध दलहरुले पनि आचार्यलाई समर्थन गरेका छन् । प्रतिनिधिहरुको उत्साहजनक साथ र नेपालका दलहरुको पनि शुभेच्छा आचार्यलाई छ ।

केसीमाथि अनियमितताको आरोप

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका बद्रि केसी संघ भित्रको अनियमिततामा मुछिएका छन् ।
कोभिड कालमा मलेसिया तथा खाडी क्षेत्रमा कार्यरत नेपाली कामदारहरुको राहत, उद्दार तथा पुनर्स्थापनाका लागि आइएलओले उपलब्ध गराएको सहयोग रकम अनियमितता गरेको आरोप केसीमाथि लागेको छ ।

संघको उपाध्यक्षको रुपमा केसीले नै आइएलओ परियोजनाको नेतृत्व गरेका थिए । सहयोग रकम वितरणमा अपारदर्शी प्रक्रिया अपनाएको र आफ्ना मान्छे छानेर रकम पठाएको आरोप उनीमाथि लागेको छ । युएईमा मात्रै बीस लाख रुपैयाँ घोटाला भएको छानबिन समितिले नै स्पष्ट पारिसकेको छ ।

केसीले अध्यक्षको उम्मेदवारी घोषणा गर्दा पनि यो विषयले प्रवेश पायो । पत्रकार सम्मेलनमा उनले केही अनियमितता भएको पाइएको र संलग्नमाथि कारबाही पनि गरिएको दाबी गरे । तर, उनले नै नेतृत्व गरेको परियोजना समितिले भने कहाँ कति रकम खर्च भयो र कति अनियमितता भयो भन्ने सार्वजनिक गरेको छैन ।

संघमा हाल व्याप्त सदस्यता र महाधिवेशन प्रतिनिधि चयन विवादमा पनि केसी मुछिएका छन् । सहज रुपमा निर्वाचन भएको अमेरिकामा केसी गएपछि विवाद उत्पन्न भएको थियो । केसी आफैं रहेको रुसमा सदस्यता वितरणको म्याद सकिएको एक महिनापछि सम्म पनि सदस्य थपेर थप डेलिगेट्स चयन गरिएको छ । आइसीसीमा नै केसीको चर्को आलोचना भइरहेको छ ।
स्मार्ट एनआरएनए र एमआइएस सिस्टमका नाममा केसीले महासचिव हेमराज शर्मा र सचिव गौरी जोशीसँग मिलेर अनियमितता गरेको आइसीसीकै पदाधिकारीहरुले बताएका छन् ।