देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री मनाङ्गले आफ्नो सम्पत्तिबारे भने- के छ, के छैन आफै ‘कन्फ्युज’ छु

देशान्तर

काठमाडाैं – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले आफ्नो सम्पत्ति के छ, कति छ भन्नेबारे आफै ‘कन्फ्युज’ मा रहेको बताएका छन् ।

‘म आफै कन्फ्युज छु कि मसँग के छ, के छैन भन्ने कुरा । मसँग सम्पत्ति छ, छैन भन्न मिल्दैन । तर, कहाँ छ भन्दा, फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ । अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ’, उनले भने ।

राजीव गुरुङ अर्थात् दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएको आइतबार ६० दिन पुगेको छ । भ्रष्ट्राचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको दुई महिनाभित्र उनले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हो । तर, मन्त्री मनाङेले अनिच्छा देखाएका छन् ।

तेस्रो पटक मन्त्रालय सम्हालेको ६० दिन पुगेको अवसरमा आइतबार उनले पत्रकार सम्मेलन राखेका थिए । त्यस क्रममा मन्त्री मनाङेले ६० दिनमा आफूले गरेको काम र आगामी योजना सुनाए । मन्त्री मनाङेले ‘केटा’ हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट पनि सम्पत्ति फिर्ता नआएको बताएका छन् ।

‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गरिदिएको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘आउनेवाला छ भनेर लेख्न पनि गाह्रो ! मेरो नाममा केही छैन ।’ पत्रकार पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ । त्यो सम्पत्ति अहिले बढेको पनि छ ।’ उनले सम्पत्ति शुद्धीकरण मुद्दाबाट आफूले सफाइ पाएको पनि बताएका छन् ।