देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप एक्लैले छ विकेट लिएपछि नेपाललाई सिरिज

देशान्तर

लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ ।

नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पारेका थिए।

उनले पाँच दशमलव एक ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिए । लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर छ विकेट लिएका थिए ।

नेपालले पपुवा न्यूगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाए ।

बलिङ नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक-एक विकेट हात पारे ।

May be an image of 1 person and standing

नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासेका थिए ।

पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए । सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरे ।

यस्तै केसीले २६ बलमा ४२ रन बनाए । यसमा उनको चार छक्का र दुई चौका सामेल थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन जाेडे ।

May be an image of 3 people, people standing and text

बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नर्मन भानुआले दुई- दुई तथा चाल्र्स अमिनीले एक विकेट लिए ।

यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।

नेपालले अब सोमबारदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ ।

ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ ।