देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पेनिस ला लिगा : बार्सिलोनाको अपराजित यात्रा जारी

देशान्तर

बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हरायो ।

लिगमा बार्सिलोनाको यो दोस्रो जित हो । सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले हराएको थियो । दोस्रो खेलमा बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

बार्सिलोनाको जितमा सर्जी रोबर्टो र मेम्फिस डिपाएले गोल गरे । गेटाफेका सान्ड्रो रेमिरेजले सान्त्वना गोल गरेका थिए । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा बार्सिलोनाले दोस्रो मिनेटमै खाता खोलेको थियो ।

सर्जीले जोर्डी आल्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । १८औं मिनेटमा गेटाफेका सान्ड्रोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए । उनले कार्लेस अलेनाको पासमा गोल गरेका थिए । ३०औं मिनटमा मेम्फिसले फ्रेन्की डे जोङको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा बार्सिलोनाले राम्रा अवसर खेर फालेको थियो । गेटाफेले भने बार्सिलोनाको डिफेन्स लाइन चिर्न सकेन । ६७ प्रतिशत बल पोसेसनमा राखेको बार्सिलोनाले सात वटा पोस्ट प्रहारको अवसर बनायो । यता ३३ प्रतिशत बल पोसेसन राखेको गेटाफेले आठ वटा पोस्ट प्रहार गरेको थियो ।

बार्सिलोनाका मेम्फिस डिपाए ‘म्यान अफ दी म्याच भए’ । जितसँगै तीन खेलबाट सात अंक बनाएको बार्सिलोना गोल अन्तरका आधारमा चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया, एट्लेटिको म्याड्रिड र मालोर्काको पनि समान सात अंक छ । बार्सिलोनासँग पराजित गेटाफे अंकबिहिन बन्दै १९औं स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा एट्लेटिको आत्मघाती गोल सहयोगले हारबाट जोगिएको थियो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुरुवाती अग्रता भिल्लारियलले लियो । भिल्लारियलका लागि मनुयल ट्रिग्वेरोसले ५२औं मिनेटमा खाता खोले । उनले एरेमी पिनोको पासमा गोल गरेका थिए । ५६औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७४औं मिनेटमा एमाउट डान्जुमाले गोल गर्दै भिल्लारियललाई पुनः अग्रता दिलाए । उनले पनि एरेमी पिनोकै पासमा गोल गरेका थिए ।

रोचक खेलको इन्जुरी समयमा एट्लेटिकोले आत्मघाती गोल उपहार पायो । आइशा मान्डीको प्रहार आफ्नै पोस्टमा छिरेपछि जित नजिक पुगेको भिल्लारियल अंक बाँड्न बाध्य भयो । लिगमा भिल्लारियलको यो लगातार तेस्रो बराबरी हो । भिल्लारियलका मनुयल ट्रिग्वेरोस ‘म्यान अफ दी म्याच भए’ ।

बराबरीसँगै सात अंक बनाएको एट्लेटिको म्याड्रिड पाँचौं स्थानमा छ । तीन अंक बनाएको भिल्लारियल ११औं स्थानमा छ । अन्य खेलमा ओसासुनाले क्याडिजलाई ३–२ तथा रायो भालेकानोले ग्रानाडालाई ४–० गोलले हराएको छ ।