देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलिया एनआरएनएमा नन्द गुरुङ अत्यधिक मतले विजयी

देशान्तर

डा. रेग्मीको लज्जास्पद हार

सिड्नी । अस्ट्रेलियामा भर्खर सम्पन्न एनआरएनए निर्वाचनमा नन्द गुरुङ अत्यधिक मतले सभापतिमा विजयी भएका छन् । गुरुङले आफ्ना प्रतिद्वन्द्वीको भन्दा झण्डै दोब्बर ८,५८३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी डा. ज्ञानेन्द्र रेग्मीले ४,८७९ मत प्राप्त गरेका छन् । निकै चर्चा र चासो रहेको यसपटकको निर्वाचनमा गुरुङले ३७०४ मतले डा. रेग्मीलाई पछाडि पारेका छन् । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो मत अन्तर हो ।

विजयी नन्द गुरुङ ‘साझा एनआरएन, सवल एनआरएन’को नारा सहित नेप्लीज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)को नेतृत्वमा रहेको लोकतान्त्रिक समूहबाट सभापतिको उम्मेदवार बनेका थिए भने डा. ज्ञानेन्द्र रेग्मीलाई बामपन्थीहरूको माधव समूह, ओली समूह, माओवादी र नेपाली कांग्रेसको आधिकारिक जनसम्पर्क समितिका संयोजक कृष्ण गिरीलगायतका समूहले गठबन्धन गरी सहयोग गरेको थियो । वर्तमान कार्य समितिमा गुरुङ र रेग्मी एउटै समूहबाट क्रमशः प्रवक्ता र महासचिव रहेका छन् ।

लोकतान्त्रिक समूहले नन्द गुरुङलाई सभापति र ज्ञानेन्द्र रेग्मीलाई क्षेत्रीय संयोजकमा चुनाव लडाउने निर्णय गरेपछि रेग्मी विद्रोह गरी वामपन्थीहरूसँग गठबन्धन गर्न पुगेका थिए जसमा नेपाली कांग्रेसको आधिकारिक भनिने जनसम्पर्क समूहले प्रत्यक्ष सहयोग गरेको थियो । यसैले पनि डा. रेग्मीको हारलाई निकै लज्जास्पद मानिएको छ ।

यसैगरी महासचिवमा राजुबाबु अधिकारी ७८१५ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी अच्यूत शर्मा थपलियाले ४५७३ मत ल्याएका छन् । सचिवमा सन्ध्या शाहले ८१२२ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी तीर्थराज कार्कीले ४४३३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा अनिल पोखरेल निर्विरोध निर्वाचित भए ।

सहकोषाध्यक्षमा राजकुमार नगरकोटीले ७६८३ मत प्रप्त गरे भने उनका प्रतिद्वन्द्वी कर्ण कुमार यादवले ४३५२ मतमा चित्त बुझाउनु परेको छ ।

यसैगरी राष्ट्रिय यूवा संयोजकमा बबिन मिश्र ७८६६ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी महेश प्रसाईले ४४७५ मत ल्याएका छन् ।

नारी निकूञ्ज राष्ट्रिय संयोजकमा साउथ अस्ट्रेलियाकी मन्जु खड्का ७८६४ मत ल्याई आफ्नी प्रतिद्वन्द्वी मोनी लिम्बू (४८७७) लाई २९८७ मतले पछाडि छोड्न सफल भएकी छन् ।

लोकतान्त्रिक समूहले राष्ट्रिय संयोजन समिति (एनसीसी)का सबै पदहरूमा तीन हजारभन्दा बढी मतअन्तरले ‘क्लीन स्वीप’ गर्न सफल भएको छ । आईसीसी सदस्यहरूमा क्रमशः बुद्धी डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, परेशराज घिमिरे, सूर्य आचार्य, नविन भण्डारी, राजेश बुढाथोकी र प्रेमप्रसाद कँडेल तीन हजारभन्दा बढी मतको अन्तरले विजयी भएका छन् ।
यसैगरी राजधानी क्यानबेराबाट स्टेट कोर्डिनेटरमा अशोक बस्नेतले आफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतअन्तरले पछाडि पारेका छन् । बस्नेतले ७५४ र उनका प्रतिद्वन्द्वी अभिशेषक उप्रेतीले ३४५ मत प्राप्त गरेका छन् । क्विन्सल्याण्ड राज्यमा विनोदभक्त आचार्य आफ्नो प्रतिद्वन्द्वीभन्दा तीन गुणा बढी मत ल्याउन सफल भएका छन् । आचार्यको ९३९ मत छ भने प्रतिद्वन्द्वी आशिष न्यौपानेले २४७ मतमा चित्त बुझाउनु परेको छ ।

लोकतान्त्रिक समूहबाटै नर्दन टेरोटोरीमा विष्णु चापागाई ६१४, तास्मानियामा राकेश शाक्य ६२१ मत ल्याई विजयी भएका छन् भने भिक्टोरिया र वेस्टर्न अस्ट्रेलियाको स्टेट कोर्डिनेशन काउन्सिलमा लोकतान्त्रिक समूह निर्विरोध निर्वाचित भएको छ ।
साउथ अस्ट्रेलियामा वामपन्थी गठबन्धनकी उम्मेदवार रेनुका लामा ९३३ मत ल्याई स्टेट कोर्डिनेटरमा विजयी हुन सफल भएकी छन् भने अन्य सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु भने लोकतान्त्रिक समूहबाट निर्वाचित भएका छन् ।

यसैगरी सबैभन्दा ठूलो राज्य न्यू साउथ वेल्समा भने वामपन्थी गठबन्धनका उम्मेदवार देव गुरुङ २९१८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रतिज्ञा अधिकारीलाई १९७८ मत प्राप्त भएको थियो । न्यू साउथ वेल्सको कोर्डिनेटर र डेपुटी कोर्डिनेटरमा बामपन्थी गठबन्धनले विजय हासिल गरेपनि सचिव, सहसचिव, कोषाध्यक्ष, यूवा संयोजक लगायतका सबै पदहरूमा लोकतान्त्रिक समूहले जित हासिल गरेको छ ।

कोभिड– १९ का कारण अधिकांश राज्यहरूमा लकडाउन भएकोले निर्वाचन अनलाइनमार्फत गरिएको थियो । गत शनिबार सम्पन्न निर्वाचनमा कूल १५,२९८ मतदाता रहेकोमा १४,२१३ सदस्यहरूले मतदानमा भाग लिएका थिए । जुन कूल मतदाता सदस्यहरूको ९२.९ प्रतिशत हो ।