देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेता घिमिरेको ‘मृत्युसँग साक्षात्कार’ विमोचित

देशान्तर

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व सभापति केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कवितासंग्रह ‘मृत्युसँग साक्षात्कार’ अस्ति शुक्रवार एक भव्य समारोहकाबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भक्तपुर कौशलटारस्थित ह्वाइट ब्याङ्केटमा विमोचन गर्नुभयो ।

समारोहमा नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, वलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, डा. चन्द्र भण्डारी, कमला पन्त, वद्री पाण्डे र अमृत अर्याल उपस्थित थिए ।

त्यसैगरी, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, विराटनगर उपमहानगरपालिका मेयर भीम पराजुली, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा लगायत साहित्यकार एवं समालोकचक डा. तुलसी भट्टराई र ज्ञानु अधिकारीको उपस्थिति थियो ।

विमोचन समारोह कुशल प्रशासक, पूर्व मुख्यसचिव एवं कवि विमल कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि वरिष्ठ नेता पौडेलले राजनीति र साहित्य दुवै विधामा सफल व्यक्तित्व पाउन मुश्किलै भएकोमा नेपाली कांग्रेसका संस्थापक नेता एवं सुपरिचित साहित्यकार वीपी कोइरालामात्र सफल भएको उपमा दिँदै महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्यमा प्रसिद्धि पाए पनि राजनीतिमा शिक्षामन्त्री हुँदा असफल भएको दृष्टान्त दिनुभयो ।

त्यसैले नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई पनि दुवै विधामा सफल हुन शुभकामनासमेत दिनुभयो । त्यसैगरी आसन्न पार्टीको १४ औं महाधिवेशन क्रियाशील विवादले निश्चित नभइरहे पनि केन्द्रीय महाधिवेशन भदौ १६–१९ सम्म गर्ने कुरामा सभापति र आफ्नो अठोट रहेको बताउनुभयो ।

कवितासंग्रहका रचयिता कांग्रेस नेता घिमिरेले विषय प्रवेश गराई शुरु भएको कार्यक्रममा उपस्थित सवै नेता र साहित्यकारहरुले कृतिमाथि समिक्षा गरेका थिए ।

कवितासंग्रहमा मृत्युसँगको साक्षात्कार, म नेता, वल्छिमा परेको माछो म, मेरो एउटा साथी छ लगायत ४० वटा प्रगतिशील, राजनीतिक र अनुभवात्मक कविताहरु समेटिएका छन् । लेखक घिमिरेका यस अगाडि नै ६ वटा कृति प्रकाशित भइसकेका छन् ।