देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीपी, गणेशमान र निधि पुत्रको एकता अपरिहार्य आवश्यकता

देशान्तर

राणाकालिन १०४ वर्षको एकतन्त्रीय जहाँनीया शासन प्रणालीको अन्त्य र नेपालमा प्रजातन्त्रको उदयको इतिहासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको गौरवशाली इतिहास रहेको नेपाली कांग्रेस पार्टी आज संघीय गणतन्त्रात्मक साशन प्रणाली अंगिकार गर्न आइपुग्दासम्म आफ्नो पहिचान जोगाउने गम्भीर मोडमा उभिएको छ । नेपालको राष्ट्रिय समृद्धिको अभियानमा अविभावकीय भूमिकामा खरो उत्रिने जन विश्वास रहेको जेठो र लोकतान्त्रिक पार्टीको नेतृत्व हत्याउने होडवाजीमा केही सम्भावित उम्मेद्वारहरू प्रजातान्त्रिक प्रणाली अनुसार अभ्यासरत रहेको देखिन्छ ।

व्यक्तिगत र गुटगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय र जनहितलाई केन्द्रविन्दुमा राखेर निस्वार्थ योगदान दिन समर्पणभावले समर्पित व्यक्तित्व नै वर्तमान परिप्रेक्षमा नेतृत्वमा आउनु पर्छ भन्ने नै आजको आवश्यकता हो । उमेरले सवै भन्दा जेठो भएको, धेरै जेल वसेको, क्रान्तिकारी लडाकु छवि भएको योग्यताले मात्र नेतृत्वमा पुग्ने कसी कुनै पनि हालतमा हुन सक्दैन र हुनु पनि हुँदैन ।

सच्चरित्रवान, दूर दृष्टी भएको, सवैलाई समेटेर हिड्न सक्ने जन विश्वासी, सरल, हिमाल पहाड तराई सवै क्षेत्रका नेपाली जनताको ढुकढुकीमा वस्न सक्ने, सवै राजनीतिक पार्टीहरूसँंग समन्वय गर्न सक्ने, अन्तर्राष्ट्रिय जगतले पनि विश्वास गर्न योग्य राष्ट्रियता र भु–अखण्डताको लागि कसैसँग कम्प्रोमाईज (सम्झौता) नगर्ने स्वाभिमान नैतिक व्यक्तित्व नै सफल नेता कहलिन्छन् । नेपालको स्वतन्त्र नागरिक समाजको एक स्वतन्त्र नागरिकको हैसियतले कसैसँग पनि आग्रह पुर्वाग्रह नराखी आफ्नो नीतान्त व्यक्तिगत जानकारीको आधारमा यो गौरवशाली इतिहास वोकेको नेपाली काग्रेस पार्टीको नेतृत्वमा पुग्नसक्ने योग्य व्यक्तीहरूका वारे निस्वार्थ विश्लेषण गर्ने प्रयास गरेको छु ।

२०३६ सालको वहुदल की निर्दल भन्ने जनमत संग्रहको समयमा स्कुले विद्यार्थी हँुदाको वेला र २०४६ को जनआन्दोलनको सफलतापछि काठमाण्डौको खुलामञ्चमा २०४६ चैत्र २७ गते आयोजित जनसभामा सर्वदलीय आन्दोलनका सर्वोच्च कमाण्डर सर्वमान्य नेता गणेशमानसिंहको प्रत्यक्ष भाषण सुनेको थिएँ । ‘राजनीतिक क्रान्ति त समाप्त भयो अव आर्थिक क्रान्ति शुरू गर्नु पर्छ’ ‘कतै यो प्रजातन्त्र वादरको हातमा नरिवल नवनोस…’ । आज २०७८ सम्मको गतिविधी हेर्दा गणेशमानले भने जस्तै आर्थिक क्रान्तिको शुरूआतै नभई त्यो शिशु प्रजातन्त्र वादरको हातको नरीवल नै सावित भएको महशुस भईरहेको छ । त्यही सभामा कांग्रेस पार्टीको महामन्त्री गिरिजा प्रसाद कोइरालाले यो जित हामी सवैको हो , जनताको, राजाको पनि, पञ्चको पनि जित हो भन्दा भयङ्कर हो हल्ला भइ आफ्नो भाषण त्यत्तिकैमा टुंग्याउनु पर्ने दुखदायी अवस्था सिर्जना भएको थियो । त्यो हुटिंगलाई साम्य पार्दै वाममोर्चाको तर्फवाट नेतृ सहाना प्रधानले सम्बोधन गरेपछि हल्ला शान्त भई कार्यक्रम सुचारू भएको थियो ।

अहिंसावादी, गान्धीवादी नेता महेन्द्रनारायण निधिले शालिन भाषामा नेपालको प्रगतिको लागि प्रजातन्त्रको संस्थागत विकास गर्दै आर्थिक क्रान्ति अघि वढाईने छ भन्ने अभिव्यक्ति दिनुभएको थियो । पछि २०५२÷५३ सालतिर एउटै घरमा उहाँको सपरिवार सँगै वस्ने सौभाग्य जुरेको थियो । त्यस वखत साँझ विहान चिया गफ हुदा उहाँ संधै भन्ने गर्नु हुन्थ्यो , ‘हामीले समयमै संविधान वनायौं, राजाको मान्छे, कम्युनिष्ट पार्टीका मान्छे, स्वतन्त्र मान्छे सवै मिलाएर सरकार चलायौं, चुनाव सम्पन्न गर्‍यौं , कांग्रेसपार्टीको एकमाना सरकार पनि वनाउन सफल भयौं तर केगर्नु हामीले गिरिजाजावावु लाई रोक्नै सकेनौं , सवै उहाँले डुबाईदिनुभयो ।’

सवैले मान्ने जननायक विसेश्वरप्रसाद कोइरालाको प्रत्यक्षभाषण सुन्ने मौका त कहिले पनि जुरेन मलाई । तर उहाँको दूर दृष्टीकोण, राष्ट्रिय मेलमिलापको नीति अनुसार जेलनेलको पर्वाह नगरी भारतीय प्रवासी जीवन त्यागेर संवैधानिक राजतन्त्र नेपालको लागि उपयुक्त भन्दै राजाको गर्धन माथि मेरो गर्धन हुन्छ भन्ने विचारहरू पत्र पत्रिकामा पढेको हुँ । धाँधलीरहित गरिएको भनिएको जनमत संग्रहको परीणामलाई स्वीकार गरेको वीपीको अभिव्यक्ति पनि रेडियोबाट सुनिएको हो । कम्युनिष्टसँग मिलेर संयुक्त आन्दोलन गर्नै हुदैन भन्ने बीपीको धारणा थियो ।

राजा वीरेन्द्रले आन्दोलनकारी नेताहरूलाई नारायणहीटी दरवारमा वार्तामा वोलाई सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई प्रधानमन्त्री भई देश सम्हाल्नुस भन्दा उहाँले आफ्नो स्वास्थ्यको कारण देखाई आफु सँगै वस्नु भएका कृष्णप्रसाद भट्टराईलाई सरकारको वागडोर सुम्पनुभयो ।

गणेशमान सिंह (Father of Democracy)ले विश्वासगरे वमोजिम नै सन्त नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले पाएको म्यान्डेट अनुसार एक वर्ष भित्रै नेपालको सककंविधान २०४७ जारी गराई आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराई आफु पराजित भएर पनि नेपाली कांग्रेसकै वहुमतको सरकारलाई सत्ता हस्तान्तरण गर्नु भएको सुनौलो इतिहास वनाउनु भयो ।

मलाई जानकारी भए सम्म भट्टराइ सरकारनै अहिले सम्मकै सफल सरकार भन्न सकिन्छ । जसले आफ्नो पूर्ण कार्यकाल पुरा गरेको र पाएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरेको छ । किशुनजीको नामले प्रख्यात संत नेताप्रति श्रदान्जली व्यक्त गर्दा पनि आनन्दको महसुस हुन्छ ।

२०५ प्रतिनिधिसभाको सीट मध्ये ११४ सीटमा जित हासिल गरी गिरिजाप्रसाद कोईराला (गिरिजावावु )को नेतृत्वको एकमना सरकारले आन्तरिक द्वन्दकै कारण आफ्नो ५ वर्षे कार्यकाल पुरा गर्नैसकेन । यदी त्यो ५ वर्षे संसद पुरा समय चल्न सकेको र गिरिज प्रसाद कोइराला नेतृत्वको सरकारले पुरा कार्यकाल काम गर्न सकेको भए सायद आजको जस्तो विकराल परिस्थित उत्पन्नै हुने थिएन । माओवादी द्वन्दको जन्म पनि हुने थिएन होला । देशले वेग्लै गति लिएर आजको विश्वसामु समृद्ध नेपालको एउटा गतिलो सगरमाथा र वुद्धको देशको वास्तविक पहिचान वनिसकेको हुन्थ्यो होला ।

गिरिजाबाबुको ताकत र क्षमता, देश विकासमा एकत्रित भएर प्रदर्शन हुनै सकेन । कांग्रेसपछि कम्युनिष्ट नेता मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारले आफ्नो गाउँ आफै वनाऊँ, अभियान राम्रैसँग सञ्चालन गरेको थियो । गरीव नेपाली जनतामा धेरै आशा र विश्वास पनि जगाएको थियो । तर ९ महिनामै त्यो लोकप्रिय सरकार पनि संसद विघटनको सिफारिससहित अन्त्य भयो । कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी नेता कहिले राजावादी नेता कहिले पञ्चायतवादी नेताहरूले पटक पटक सरकारको नेतृत्व गरे ।

खाली कुर्सीकै राजनीतिमा अल्झिएर समय विताए । जन चाहना र जनताको नाममा समद्ध नेपाल वनाउने खाली खोक्रो भाषण गरेर सोझा नेपाली जनताको सपनामा खेलवाड मात्रै गरे । कोही ४ पटक, कोही ५ पटक प्रधानमन्त्री भए योदेशमा । कोही सात पटक प्रधानमंत्री हुने योग छज्योतिषले भविष्यवाणी गरेको भनेर कुदिरहेका देखिन्छन् ।

माओवादी युद्धकाल पश्चात पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वको सरकारले त गरीव असहाय नेपाली जनताको सवै सपना साकार पार्ला भन्ने धेरै आशा गरेका थिए । तर उहाँ पनि नेपाली सेनाको प्रधानसेनापति प्रकरणमा पैठे जोरी खेल्न थाले पछि आफै आउट हुनभयो ।

कम्युनिष्ट गठवन्धनको लगभग दुई तिहाई वहुमत प्राप्त इतिहासमै सक्तिशाली ठानिएको वर्तमान खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार पनि आपसी द्वन्द र आन्तरिक गुट उपगुटकै खेलकुदमा लिप्त भई सवै राष्ट्रिय समस्याहरूको हल गर्नसक्ने निकाय, जनताले गठन गरेको संघीय संसदको घांटी निमोठ्नैमा आफ्नो शक्ति खर्च गरिरहेका छन् । वर्तमान कोभीड – १९ को अन्तर्राष्ट्रिय सकंटको घडीमा कोरोना भ्याक्सिन लगाएर सुरक्षित रहने एक मात्र जनचाहना एकातिर, वाडी पहिरोले सर्वश्वगुमाएका घरवार विहिन जनता अर्कोतिर तर आफ्नो कुसी जोगाउन मात्रै न्वारानदेखिको वल लगाएर हिँडिरहेको ओली ध्याउन्न अर्कै तिर । कसलाई के भन्ने खै खै ?

कांग्रेस पार्टीको १४ औं महाधिवशेन –

यी सारा लम्वेतान फेहरिस्तले के कुरा देखाउँछ भने हाम्रो देशलाई सही दिशामा डो¥याउने सक्षम नेतृत्व हामीले अहिलेसम्म पाएकैछैनौं । नेतृत्वको होडवाजी हरेक राजनीतिक पार्टीभित्र एकनासले चलिनै रहेका छन् । तर जनताको चाहना र आकांक्षा जहांको त्यही जस्ताको त्यस्तै वेवारिशे अवस्थामा देखिन्छन् । मैले विश्लेषण गर्न खोजेको विषय नेपालकै जेठो पार्टी नेपाली कांग्रेसको आसन्न १४ औं महाअधिवेसन र नेतृत्व चयन हो ।
काग्रेस पार्टीका देशैभरिका करिब दश लाख सदस्यले छान्नु पर्ने आफ्नो सभापति । एक कठीन मोडमा छ । पार्टी अनि हाम्रो देश नेपालको राजनैतिक विकृति । जस्को परीणामले संघीय गणतान्त्रिक नेपालकै भविष्यको रेखा निर्धारण गर्नमा गम्भीर असर पार्ने देखिन्छ ।

वर्तमान पार्टी सभापति शेरवहादुर देउवा ४ पटक प्रधानमन्त्री भएर टेष्टेड एण्ड फेल व्यक्तित्व । फेरि पनि सभापति वन्ने खेलमा हुनुहुन्छ । राजनीतिक विकृति जन्माउने प्रणेता हुनुहुन्छ । सत्ताको खेलमा माहिर मानिनु हुन्छ । पजेरो संस्कृतिका जन्मदाता, आफ्नो वहुमत पु¥याउन संसद सदस्यहरूलाई प्रभाव पार्न विदेश सयर गराउनेदेखि अन्य खेलकुद गराउन पोख्त हुनुहुदो रहेछ । तर आफुले नेतृत्व गरेको पार्टी संसदीय चुनावमा लज्जास्पद हार हुँदा पनि अरू दुई पार्टी मिलेर पो होत, हामीले हारेको होईन हाम्रो भोट कम भएको छैन भन्ने निरर्थक तर्क गरेर बस्नमै उहाँलाई फुर्सद भएन ।

प्रमुख प्रतिपक्षी दलको नेताको भुमिकामा पनि असफल ठहरिनु भएका, झोलामा टाउको लिएर आउनोस, पचास लाख लिएर जानोस भनि विद्रोही माओवादी नेताहरू प्रचण्ड र डा. वावुराम भट्टराईलाई आतंककारी घोषणा गरेको र हाल तिनै व्यक्तिहरूसँग सांठगांठ गरी फेरि प्रधानमन्त्री वन्ने असफल चाहना राखेका र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सँग केही संवैधानिक नियु्क्ति पाउन मात्र वार्गेनिङ मात्र गरिरहेका देउवाको विरूद्धमा भदौमा तय भएको कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दिनका लागि राणाशासनको अन्त्य गर्न र नेपालको प्रजातन्त्र स्थापनामा अभुत्पुर्व योगदान गरेका लोकप्रिय र सफल नेतागणको वंशाणुगत लिगेसी पनि भएका नेपाली कांग्रेस पार्टीलाई ग्रास रूट देखिकै योगदान पुर्‍याई स्थापित हुनुभएका गणेशमान पुत्र प्रकाशमान सिंह, निधि पुत्र विमलेन्द्र निधि र वीपी पुत्र डा.शशांक कोइरालावीच सामूहिक मोर्चा वनाएर शेरवहादुर देउवालाई परास्त गर्ने रणनीति निर्माणका लागि पछिल्लो सयम घनिभूतरुपमा छलफल भने भएको देखिन्छ ।

१७ पटक सम्म संसदमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्दा पनि प्रधानमन्त्री हुन असफल भएका नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य रहेका डा. शेखर कोइराला पनि आपसी छलफलमै रहेका छन् ।
कोइराला परीवारको एकता प्रयास पनि चलिरहेको अबस्थामा गिरिजाबाबुकी पुत्री सुजाताले पनि आफूले सभापतिको रुपमा उम्मेद्वारी दिन बताउनु भएको छ ।

अर्को तर्फ १३ औं महाधिवेशनमा पहिलो दौडबाट सभापतिको रिंग आउट भएका कृष्ण प्रसाद सिटौलाले त्यतिबेला शेरबहादुरलाई समर्थन गर्नुभएको थियो । पहिला सघाए पनि अहिले शेरबहादुरसँग उहाँको सम्बन्ध राम्रो भने देखिन्न । जसले गर्दा सिटौलाले पनि आफूलाई सभापतिको उम्मेद्वारको रुपमा स्थापित गर्न खोज्दै हुनुहुन्छ । युवा नेताहरु गनकुमार थापा, विश्वप्रकास शर्मा, प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरूङलगायत सवै जना आ–आफ्नो स्थान कहाँ र कसरी सुरक्षित गर्न सकिन्छ भनेर समिकरण वनाउन व्यस्त देखिन्छन् ।

युवा सक्रियता र नेपाली न्यु जेनेरेसनको भरोसा वन्न सफल गगनलाई आफ्नो प्यानलमा ल्याएर महामन्त्री वनाउन सके आफू सभापति वन्न सकिन्थ्यो भन्ने आन्तरिक र गोप्य कसरत गरेको पनि वुझिन्छ । जे होस नेपाली जनता वर्तमान विकृत राष्ट्रीय राजनीतिबाट वाक्क, दिक्क भइसकेका छन् । यो निराश जनमानसलाई आशा जगाउने खालको नेतृत्व नेपाली कांग्रेस पार्टीले चयन गर्न जरूरी छ ।

यस दृष्टिकोणले हेर्दा ऐतिहासिक विरासतमा हु्र्किएका राजनैतिक शिखर पुरूषहरू वीपी, गणेशमान र महेन्द्रनारायण निधि पुत्रहरूको सामुहिक नेतृत्वमा युवाहरूको ढुकढुकी वनेका गगन कुमार थापा महामन्त्री वनेको समिकरण वन्न सकेमा नेपाली कांग्रेस पार्टीले पुनर्जिवनपाउने र नेपाली जनतामा केही झिनो आशाको रक्त सञ्चार होला की ?? अन्यथा यो देशलाई सहि गन्तव्यमा डोर्‍याउन सक्ने सक्षम नेतृत्वको खोजीमा अझै कति समय कुनुपर्ने हो त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।  [email protected]