देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानडामा अत्यधिक गर्मीका कारण कम्तिमा २३० जनाको मृत्यु

देशान्तर

काठमाडौँ – लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको सामान्य जनजीवन प्रभावित भएको छ । उच्च गर्मीका कारण क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तमा शुक्रबार यता कम्तिमा २३० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ ।

मंगलबार ब्रिटिश कोलम्बियामा अहिलेसम्मकाइ उच्च ४९.५ डिग्री तापक्रम मापन गरिएको थियो । यस अघि ४५ डिग्रीभन्दा माथि कहिल्लै नगएको तापक्रम यस पटक उच्च तहमा पुगेको देखिएको छ । अमेरिकी मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्यधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ ।

वासिङ्टन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको हो । ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर चुनौति दिने’ खालको गर्मी हुन सक्ने चेतावनी दिएको छ ।

केही शहरहरूले स्थानीय बासिन्दाहरूका लागि वातानुकुलित क्षेत्रमा बस्न पाउने सुविधासहितका शितल केन्द्रहरू खुला गरेका छन् । अमेरिकाको उत्तर पश्चिम र क्यानडामा केही सातादेखि निरन्तर तापक्रम बढ्दै गएको बताइएको छ । विज्ञहरुले जलवायु परिवर्तनका कारण यस्तो खालका अति गम्भीर मौसमी अवस्था थप बढ्न सक्ने बताएका छन् ।

 विज्ञहरुले जलवायु परिवर्तनका कारण बढ्दो क्रममा रहेका बाढी, आँधी तथा अत्यधिक गर्मी जस्ता घटनाहरुले धेरैको ज्यान लिन सक्ने चेतावनी दिँदै आएका छन् ।