देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख सापकोटाले भने संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भयो

देशान्तर

 

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन्।

संसद् दिवस २०७८ का अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, यस वर्ष संसद् दिवस मनाउँदै गर्दा हामीले चौतर्फी संकट बेहोरिरहेका छौं। कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद्, प्रतिनिधिसभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ।

गहिरिँदो राजनीतिक संकटबीच मौसमजन्य विपत्तिको पनि सामना गरिरहेनु परेको उनले बताए। संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधिसभामाथिको पटक-पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको उनको भनाइ छ।

मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्‍याउनु आजको आवश्यकता होु सभामुख सापकोटाले भनेका छन्, संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधानअनुरूप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्नेछ।

कोभिड–१९ को महामारीका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिए पनि यस दिवसको महत्व र औचित्यप्रति संघीय संसद सधै सचेत भएको उल्लेख गरेका छन्।

संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्व-सांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको बताएका छन्।

दिवसका अवसरमा सभामुख सापकोटाले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस क्रममा बेपत्ता, घाइते तथा अंगभंग भएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

विसं २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ।