देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाजुराको क्युडीमा ९४ परिवार पहिरोले विस्थापित

देशान्तर

बाजुरा – असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् ।

जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार गाउँभन्दा तलपट्टिको खोलामा गत वर्ष पनि पहिरो गएको र अहिले पनि गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने सडक निर्माण भएपछि सडक भासिएर पहिरो गएकाले बस्ती नै विस्थापित भएको हो ।

सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । सडकमाथि गाउँ भएकाले पूरै जमीन भासिएका कारण स्थानीयवासीले आफ्नो घर नै छाडेर खुला ठाउँमा त्रिपालमा रात बिताउने गरेको भण्डारीले जानकारी दिए ।

पहिरोले विस्थापित भएका उनीहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन् । विस्थापित भएको खबर आएपनि अविरल वर्षाका कारण क्युडी जान नसकिएको र केही दिनपछि गएर स्थलगत अनुगमन गर्दा बस्ती नै सार्नुपर्ने अवस्था भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए । बस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा आग्रह गर्ने अध्यक्ष मल्लले बताएका छन् ।