देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेसम्म २१ लाखभन्दा बढीले लगाए खोपको पहिलो डोज

देशान्तर

काठमाडौं । सरकारले सबैलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रयास गरिरहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरमणी अधिकारीले १८ वर्षमाथिका सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रयत्न भइरहेको र उपलब्ध भएको खोप लगाउने क्रम पनि चलिरहेको बताए ।

यसका लागि सरकारले विभिन्न कुटनीतिक माध्यमहरुबाट खोप ल्याउने प्रयास गरिरहेको र खोप खरिदका लागि सहजीकरण गरिदिन पनि विभिन्न नियोगहरू लागिरहेको उनले बताए । हिजोमात्र चीनबाट १० लाख डोज खोप उपलब्ध गराउने जानकारी आएको र यसले पनि खोप अभियानमा सहयोग पुग्ने उनले बताए ।

चीन र भारतका साथै बेलायत, अमेरिका, नर्वे, रूसलगायत देशसँग खोपका बारेमा छलफलहरू भइरहेको उनले बताए । ‘खोप उत्पादन गरिरहेका विभिन्न देशहरुबाट खरिद नै गरेर भए पनि खोप दिने उपायहरू गरिदिनुपर्‍यो भनेर कुरा भइरहेको छ, अब केहि दिनमा खोप आउने वातावरण बन्नेछ‚’ उनले भने ।

हालसम्म नेपालले ३२ लाख ४८ हजार डोज खोप पाएकोमध्ये २१ लाख १३ हजारभन्दा बढी व्यक्तिले पहिलो मात्राको खोप लगाएको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । उनीहरूमध्ये ६ लाख १४ हजारभन्दा बढीले खोपको दोस्रो मात्रा लगाइसकेको र अन्य लगाउने क्रममा रहेको उनले बताए ।

नेपालमा भारतमा भन्दा पनि पहिले खोप अभियान शुरु गरिएको स्मरण गर्दै भने, ‘हामीलाई आवश्यक खोप आपूर्ति हुन नसकेकाले अहिलेसम्म सोचेअनुसारको खोप लगाउन नसकिरहेको अवस्था छ ।’

खोप जतिसक्दो छिटो दिन सकिन्छ‚ उति छिटो संक्रमण कम गर्न सकिन्छ भन्ने अवधारणाअनुसार छलफल र प्रयासहरू भइरहेको तर विश्वव्यापी रुपमै खोपको माग बढेको तर उत्पादन त्यसअनुसार नहुँदा चुनौती बढेको उनको भनाई छ ।