देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्ध खोप अभियान : पहिलो दिन नौ हजार ८४ जनाले लगाए

देशान्तर

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत पहिलो दिन बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिएका छन् ।

बुधबार खोप प्राप्त गर्नेमा प्रदेश १ का एक हजार दुई सय ५५, प्रदेश २ का सात सय २६, बागमतीका दुई हजार ६ सय ९४, गण्डकीका एक हजार आठ सय ४३, लुम्बिनीका सात सय ३३, कर्णालीका सात सय ५१ र सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जना रहेका छन् ।

प्रवक्ता डा. गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए । मन्त्रालयले अभियानको पहिलो दिनमै खोप लगाउने व्यक्ति तथा सेवा प्रदायकहरूको स्वस्फूर्त र उल्लेख्य सहभागिता भएको जनाएको छ ।

अभियानको शुभारम्भपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा खोप कार्यक्रमको स्थलगत निरिक्षण तथा अनुमगन गरेका थिए । उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल र प्रसूति गृह अस्पतालमा रहेका खोप केन्द्रमा प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित उच्चपदस्थ अधिकारीहरूले अनुगमन गरेका थिए ।

मन्त्रालयले छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण र खोप केन्द्रहरूको व्यवस्थापन गरी अभियानलाई सफल पार्न सहयोग गर्ने सबैलाई मन्त्रालयले धन्यवाद प्रकट गरेको छ । खोप अभियानमा सबैको सक्रिय सहभागिता र तोकिएको समयभित्र पहिलो चरणको कार्यक्रम सम्पन्न गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । आगामी १० दिनमा पहिलो चरणको खोप लगाएर सक्ने योजनामा मन्त्रालय रहेको छ ।