देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभाको बैठक आजदेखि

देशान्तर

राष्ट्रियसभाको अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो ।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक संघीय संसद्को एक मात्र सदन राष्ट्रिय सभाको अधिवेशन बोलाइएको हो । अपराह्न चार बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । संघीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।

सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो । सार्वजनिक सम्भावित कार्यसूचीमा अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ ।

यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराइनेछ । यस्तै बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।
अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी गरेका सातवटा अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी सदनको अधिवेशन नभएको अवधिमा निधन भएका बहालवाला तथा पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारीत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।