देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिड– १९ प्रभावित नेपालका सयौं घरपरिवारलाई एनएडीएफद्वारा राहत वितरण

देशान्तर

बुधबार सिड्नीमा राहत सामग्रीबारे प्रेस विफ्रिङ गर्दै एनएडीएफ सभापति सुरेन्द्र सापकोटा लगायतका पदाधिकारीहरु

सिड्नी (अष्ट्रेलिया) । नेपलीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ)ले नेपालका विभिन्न पाँच जिल्लामा कोभिड–१९ का कारण प्रभावित ८ सय ९ दलित तथा विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

कर्णाली प्रदेशको जिल्ला जाजरकोट, सूदूरपश्चिम प्रदेशको विकट जिल्ला कालिकोट, प्रदेश नं. २ का जिल्लाहरु पर्सा, रौतहट र सर्लाहीमा कोभिड– १९ का कारण रोजगारी गुमाएका र दैनिकीमा समस्या भोगिरहेका विपन्न समुदायका दलित घरपरिवारलाई चामल, दाल, तेल, साबुन, नून र मास्क लगायतका राहत सामग्री वितरण गरिएको एनएडीएफले जनाएको छ ।

फोरमले नेपालीहरूको मुख्य चाड तिहार र छठ अगाडि कार्तिक २३ र २४ तथा मंसिर २६ मा पर्सा जिल्लाको क्रमश अलौ, सुगौली र लछमीपुरमा २ सय ५८ दलीत तथा विपन्न घरपरिवारलाई प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नून र मास्क वितरण गरेको थियो ।

यसैगरी मंसिर ४ मा रौतहटको गरुडामा १ सय ६० दलित तथा विपन्न घरपरिवारलाई खाद्यान्न राहत विरण गरिएको थियो भने सर्लाही जिल्लाको चन्द्रनगरमा पुस ५ गते १ सय १५ विपन्न तथा दलित घरपरिवारलाई चामल, दाल, तेल, साबुन र मास्क सहितका राहत सामग्री वितरण गरिएको बरिष्ठ पत्रकार चन्द्रकिशोरले जानकारी दिए ।

तराईको दलित लक्षित राहत कार्यक्रमको संयोजन गरेका पत्रकार चन्द्रकिशोरका अनुसार तराईका जिल्लाहरूमा विपन्न समुदायका गरिब दलीत परिवारको लगत संकलत गरी खाद्यान्न राहत वितरण गरिएको हो । “राहत पाएका दलित विपन्न परिवारहरू र सिंगो वस्ती निकै हर्षित भएका छन्”– पत्रकार चन्द्रकिशोरले भने । प्रदेश नं. २ का तीन जिल्लामा गरिएको राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई–मधेस विभागका प्रमुख अजय चौरसियाको विशेष सहयोग र सहभागिता रहेको थियो ।

नेपलीज अष्ट्रेलिया डेमोक्रेटिक फोरमले कार्तिक २८ मा जाजरकोटको भेरी नगरपालिका अन्तर्गत खलंगाको गैरी खालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्माको स्याउली बजारमा ३३ घरपरिवारसहित १ सय ३ विपन्न परिवारलाई प्रति परिवार ३० किलो चामल र दुई किलो दाललगायतका खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । जाजरकोटको राहत वितरणमा स्थानीय पत्रकार जनक केसीले सहयोग र समन्वय गरेका थिए । पत्रकार केसीका अनुसार भेरी नगरपालिकाका १३ वटै वडाहरूका विपन्न परिवारको लगत संकलन गरी राहत बाँडिएको थियो ।

यसैगरी एनएडीएफले कालिकोट जिल्लाको राचुलीका १३ घरपरिवारलाई मंसिर २२ मा र मान्माका १ सय ५० घरपरिवारलाई मंसिर २३ का दिन प्रतिपरिवार ३० किलो चामल, दाल लगायतका खाद्यान्न राहत सामग्री वितरण गरिएको छ । कालीकोटको राचुलीमा मंसिर १३ गतेको आगलागीबाट पीडित १३ घर परिवारलाई प्रति परिवार २÷२ थान स्लीपिङ व्याग, टेन्ट र नगद सहयोग गरिएको एनएडीएफले जनाएको छ । कालीकोट जिल्लामा नेपाल तरुण दलका महामन्त्री तथा युवा नेता भुपेन्द्र जंग शाहीले राहत वितरण कार्यक्रमको समन्वय तथा सकृय सहयोग गरेको एनएडीएफले जनाएको छ ।

कोभिड– १९ का कारण बेरोजगार भई दैनिक गुजारा गर्न समस्या भोगिरहेका विपन्न दलित परिवारलाई लक्षित गरी दुई महिना अगाडि खाद्यान्न राहत वितरण कार्यक्रम सुरु गरिएको नेपलीज अष्ट्रेलियन डेमोक्रेटिक फोरमका सभापति सुरेन्द्र सापकोटाले जानकारी दिए । गाउँका अति नै विपन्न तथा दलित परिवारहरुलाई लक्षित गरी उनीहरुकै गाउँ वस्तीमा पुगेर खाद्यान्न राहत वितरण गर्ने हाम्रो प्रयास स्थानीय साथीहरुको समन्वय, सहयोग र मेहनतका कारण सफल रहेको बताउँदै सापकोटाले भने– “समस्या धेरैतिर धेरै किसिमको छ, सबैतिर पुग्न सम्भव पनि छैन तर यो कठीन घडीमा साथीहरूको सहयोग र हाम्रो सानो प्रयाशबाट सयौं भोका पेटहरूमा दालभात पुर्‍याउन सकिएकोमा हामी सन्तुष्ट छौं ।”