देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अञ्जान श्रेष्ठ : वस्तुगत उपाध्यक्षका बलिया प्रत्याशी

देशान्तर

काठमाडौं । लामो समयको प्रयासपछि यही मंसिर ११–१३ मा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा हुँदैछ । उक्त साधारणसभाले आगामी कार्यकालको लागि नेतृत्व चयन गर्नेछ । उक्त साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्षमा चयन हुनेछन् भने बरिष्ठ उपाध्यक्षसहितका पदहरूमा चुनावी प्रतिस्पर्धा हुँदैछ । अब चुनिने वरिष्ठ उपाध्यक्षले अर्को पटक स्वतः अध्यक्षको कमान सम्हाल्न पाउने विधानत व्यवस्था भएकोले उक्त पदमा तीव्र प्रतिस्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा उद्योगी चन्द्र ढकाल र किशोर प्रधान आआफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । दुवै प्यानलमा रहेका उम्मेदवारहरूबीच तीव्र प्रतिस्पर्धा देखिए पनि वस्तुगततर्फको उपाध्यक्षमा भने युवा उद्यमी अञ्जन श्रेष्ठको पल्ला भारी रहेको जानकारहरू बताउँछन् । किशोर प्रधानको प्यानलमा रहे पनि श्रेष्ठलाई चन्द्र ढकालका समर्थकहरूको पनि समर्थन रहने देखिएको छ ।

श्रेष्ठले निजी क्षेत्रलाई मुलुकको समृद्धि र आर्थिक वृद्धिसँग जोड्ने अभियानमा आफू लागिपर्ने बताएका छन् । मुलुकलाई विकासोन्मुख राष्ट्रमा उकाल्नको निम्ति निजी क्षेत्रको अहम् भूमिका हुने भन्दै त्यसैलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए । ‘मुलुकको आर्थिक वृद्धिलाई कसरी अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्राथमिकता हो । आर्थिक वृद्धि १० प्रतिशतसम्म पु¥याउने लक्ष्यमा हामीले भूमिका खेल्नेछौं । त्यसका लागि पूर्वाधार विकासका कुरा आउँछन् । नेपालमा पूर्वाधार विकासमा पहिलेभन्दा प्रगति भएको छ । तर यथेष्ट मात्रामा छैन । कालोपत्रे सडक कम छ । पहाडी सडक अझै पनि व्यवस्थित छैनन्, पूर्ण रूपले बनेका छैनन् । पूर्व–पश्चिम रेलमार्गको कल्पना गरिएको छ । यी सबै पूर्वाधार विकास गर्दा यातायात खर्च घट्छ । लागत घट्छ । त्यसले तयारी वस्तु र कृषि उपज बजारमा जाँदा सस्तो हुन पुग्छ । त्यसैले पूर्वाधारमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो’, उनले भने ।

उनले दोहोरो अंकको आर्थिक वृद्धिका लागि रोजगारी बढाउनु अहिलेको प्रमुख चुनौती भएको बताए । रोजगारी सिर्जना गर्न लगानीको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । भारत र चीनको तुलनामा नेपालमा श्रम उत्पादन कम भएको प्ररिप्रेक्ष्यमा श्रमिक उत्पादन बढाउन तालिमहरूलाई व्यवसायसँग जोड्नुपर्ने उनको मान्यता छ । ‘कस्ट अफ डुइङ बिजनेस’ मात्र नभई ‘इज अफ डुइङ बिजनेस’ को कुरा गर्नुपर्ने उनले बताए ।

रोजगारीका कुरामा निजी क्षेत्रको मात्र भूमिका नभएर सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने भन्दै श्रम बजारमा आउने जनशक्तिलाई तालिम, शिक्षा र तालिम दिने संस्थाहरूबारे अनुसन्धान गरेर मात्रै अघि बढ्नुपर्ने उनले बताए । नेपालमा तथ्यांक र अनुसन्धानको कमी रहेको औंल्याउँदै श्रेष्ठले श्रम बजारमा आउने भनिएका ४–५ लाख जनशक्तिमध्ये कति जना विदेश गइरहेका छन् ? विदेश जानेले के काम गरिरहेका छन् ? तिनीहरूलाई कस्तो तालिम दिए राम्रो होला  ? यहाँ भएका उद्योग व्यवसायहरूले कस्तो किसिमका जनशक्ति खोजिरहेका छन् भन्ने विषयमा सरकार, तालिम दिने निकाय, शिक्षण संस्थाहरूले सोच्नुपर्ने खाँचो रहेको जनाए । विदेशबाट फर्किएर आउने जनशक्तिलाई स्वदेशमा खपत गर्ने योजना बताउँदै अघि बढ्नुपर्ने उनको मत छ । ‘वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई फारम भराएर सरकारले रेकर्ड राख्नुपर्छ । यसले गर्दा कुन सीप लिएको व्यक्ति यहाँ आइरहेको छ र उसलाई कहाँ काम दिन सकिन्छ भन्ने निश्चित गर्न सकिन्छ’, उनले भने । अब डिजिटल इकोनमीको विकास र डिजिटल गतिविधिबारे सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा शुद्धीकरण र सुदृढीकरणलाई आफूले प्राथमिकता दिएको उनले बताए । ‘सबल र सुदृढ निजी क्षेत्र बनाउन मैले असल अभ्यास र संगठनात्मक कुरा गरेको छु । व्यक्तिवादी अभ्यासहरूलाई निराकरण गर्नुपर्छ । असल अभ्यास गरेर संगठनलाई सुदृढ गर्ने । २१औं शताब्दीका लागि खुला बजारमा एकै बजार भएको अवस्थामा नयाँ ढंगबाट बढ्नुपर्ने अवस्था छ’, उनले भने ।

श्रेष्ठलाई उत्पादनमूलक उद्योगमा भन्दै ट्रेडिङ बिजनेसमा मात्रै ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ । तर उनको पारिवारिक विरासत हेर्दा उत्पादनमूलक उद्योगमै संलग्न रहेको देखिन्छ । श्रेष्ठका पिता गणेशबहादुर श्रेष्ठले सरकारी जागिर छोडेर चकलेट बनाउने उद्योग स्थापना गरेका हुन् । २०३० सालमै लक्ष्मी ग्रुपको स्थापना गरेर व्यावसायिक घरानामा रूपान्तरण भएको इतिहास रहेको छ । लक्ष्मी ग्रुपले २०३२ सालमा सेमी अटोमेटिक मेसिन ल्याएर पोखरा औद्योगिक क्षेत्रमा उद्योगलाई बढावा दिँदै आएको छ । विगत १७ वर्षदेखि यो उद्योग सञ्चालनमा छ । यसका अलावा अटो मोबाइल व्यवसायमार्फत लक्ष्मी ग्रुपले करिब ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ । लक्ष्मी ग्रुपअन्तर्गत करिब तीन हजारले रोजगारी पाउँदै आएका छन् । लक्ष्मी ग्रुपले डेरी उद्योगमा समेत लगानी गरेको छ । यसका साथै निकट भविष्यमै सिमेन्टमा लगानी गर्ने तयारी रहेको र नेपालमै अटोमोबाइल उत्पादन गर्ने लक्ष्यका साथ आफू अघि बढेको श्रेष्ठले बताए ।