देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उखु किसानले पाउने भए भुक्तानी : २१ करोड ३४ लाख रकम निकासा

देशान्तर

सर्लाही – सर्लाहीका उखु किसानले पाउनु पर्ने सरकारी अनुदान वापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । “उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २.५ प्रतिशत बजेट कम निकासा हुन बाँकी छ”, कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताए । गत आर्थिक वर्षमा किसानहरुले पाउनु पर्ने रकम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष पठाएको हो । 

जिल्लाको सर्वेअनुसार उखु किसानका लागि रु २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो । आव २०७७/७८ को बजेट वक्तव्यमा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि रु ९५ करोड छुट्टयाएको थियो । हाल सो रकम दामासाहीका हिसाबले जिल्लागत रुपमा निकासा गर्दा २.५ प्रतिशतले कमी रकम सर्लाही आएको हो । केही दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कोलेनिका प्रमुख थपलियाले बताए ।

बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने र बाँकी किसानलाई बाँकी रकम निकासा भएपछि भुक्तानी गर्न सकिने गरी काम अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको समितिका सदस्य­सचिव समेत रहनु भएका कोलेनिका प्रमुख थपलियाले बताए । केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ५३६.५६ तोक्ने क्रममा उद्योगीले रु ४७१.२८ तथा सरकारले प्रतिक्विन्टल रु ६५.२८ अनुदानस्वरुप किसानलाई उपलब्ध गराएको छ ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । तीनवटा चिनी उद्योग रहेको सर्लाहीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको हरिवन­११ स्थित इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका उखु प्रबन्धक योगनारायण रजकले बताए ।